‘अख्तियारले पदमा बसेकोको आदेश मान्ने होइनः प्रदेश प्रमुख

समाधान संवाददाता
पोखरा
गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले संविधान, नियम कानुन अनुसार हिम्मतका साथ काम गर्न अख्तियारलाई सुझाव दिएका छन् । उनले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको आदेश नमान्नसमेत सुझाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं वार्षिकोत्सवको अवसरमा आयोग कार्यालय पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा शेरचनले राम्रो काम गर्दा गर्दै पनि अख्तियारको काम अधुरो भएको जनताको गुनासो रहेको उल्लेख गरे ।
‘अख्तियारका आयुक्त र कर्मचारीले निष्कलंक र निष्पक्ष भावनाले काम गर्ने हो । पदमा बसेको व्यक्तिको आदेश मान्ने होइन,’ प्रदेश प्रमुख शेरचनले भने, ‘मैले कानुन विपरीत काम गर्नुस् भने पनि नगर्नुस् । मेरा छोराछोरीले गलत गरे नछोड्नुस् ।’ आफू उपप्रधान तथा स्वास्थ्यमन्त्री हुँदा १ व्यक्ति पोकोभरि पैसा लिएर घर आएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले पैसा राजस्वमा पठाएर ती व्यक्तिलाई बर्खास्त गरेको सुनाए ।
स्वयं प्रदेश प्रमुखको कामको समेत निगरानी गर्न आग्रह गर्दै उनले आफ्नो कार्यकालमा प्रदेशका मन्त्री, कर्मचारी भ्रष्टाचारमा संलग्न भएको देख्न नचाहेको उल्लेख गरे । भ्रष्टाचारका कारण देश झन् गरिबीतर्फ धकेलिएको दाबी गर्दै उनले मौलाएको भ्रष्टाचारले सबै नेपालीलाई असर गरेको तर्क गरे । व्यक्तिगत सम्पत्तिको मोह कायम रहेसम्म भ्रष्टाचार नियन्त्रण गर्न नसकिने चर्चा गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिए भ्रष्टाचार स्वत न्यूनीकरण हुने दाबी गरे । प्रदेश प्रमुख शेरचनले कुनै व्यक्ति सार्वजनिक ओहोदामा प्रवेश गर्दा र निँस्कदाको अवस्थामा सम्पत्ति छानबिन गर्नुपर्ने विचार राखे ।
गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले अख्तियारले प्रदेश तथा स्थानीय सरकारलाई पठाएको ६१ बुँदे निर्देशनलाई सकारात्मक रुपमा लिँदै गण्डकी प्रदेश समन्वय परिषद बैठकले निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकार प्रति केन्द्रित ११ बुँदे सुझाव अक्षरंश समेटेर कार्यविधि निर्माण गर्न लागेको जानकारी दिए । भ्रष्टाचारका कारण राज्यले जनतालाई उपलब्ध गराउने सेवा, सुविधा सहज ढंगले पुग्न नसकेको उल्लेख गर्दै उनले यसले समाजमा असमानता, विकृति र विसंगति पैदा गरेको सुनाए ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले महालेखा परीक्षकको प्रतिवेदन अनुसार सरकारले काम नगरेको आरोप लगाए । उनले अख्तियारको कार्यक्षेत्र बढाएर सेना, निजी क्षेत्र र गैरसरकारी संस्थालाई समेत समेट्नुपर्ने सुझाव दिए । भ्रष्टाचार गर्ने तौर, तरिका र स्वरुप फेरिएकाले अख्तियारको पुरातन सोचलाई प्रविधिमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका निमित्त प्रमुख शम्भु मिश्र, उपसचिव मेघनाथ रिजाल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अख्तियारका लेखापाल देवेन्द्र पाण्डे लगायतले बोलेका थिए ।
समारोहमा पोखरा थियटरका कलाकारले भ्रष्टाचारविरुद्धमा सचेतनामूलक नाटक प्रदर्शन गरेका थिए । कार्यक्रममा अख्तियारले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा द्वितीय भएकी एसओएस हर्मनमाइनरकी कक्षा १२ की छात्रा स्वस्ति बास्तोलाले आफ्नो प्रस्तुति राखिन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया