खुल्याे वाराहीचौरमा खुला व्यायामशाला

समाधान संवाददाता २०७६ फागुन ७ गते १३:०९

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका ५ बाराही चौरमा विभिन्न खेल स्पर्धा हुन्छन् । वाराही माविको स्वामित्वमा रहेको यो खेल मैदानमा मंगलबार खुला व्यायामशाला खुलेको छ । पोखरा महानगरले निर्माण गरेको व्यायामशाला उपमेयर मञ्जुदेवी गुरुङले सुरुआत गरिन् ।

स्वास्थ जीवनबिना समृद्धि र प्रगतिको कल्पना हुन नसक्ने भएकाले महानगरले यो आवधारणा ल्याएको उनले बताइन् । फेरिएको जीवनशैली र दैनिकीका कारण व्यायमशाला र स्वास्थ्य चेतना बढाउनु अत्यावश्यक भएकाले महानगरले यो कार्यक्रम सञ्चालन गरेको जनाइन् । उपप्रमुख गुरुङले प्रत्येक वडामा व्यायामशाला आवश्यक रहेको औंल्याइन् । उनले भनिन्, ‘अहिलेको विषादीयुक्त खानाले हामीलाई रोगी बनाइरहेको छ । खानपान र जीवनशैलीको परिवर्तनले व्यायामशालाको महत्व अझ बढेको छ ।’

Advertisement

पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले व्यायामशाला निर्माणले नियमित शारीरिक अभ्यास गर्न चाहने वडावासीलाई सहज हुने बताए । उनले वडालाई सन्तुलित रुपमा विकास गर्ने योजना अनुरुप काम भइरहेको उल्लेख गरे ।

बाराही माविका अध्यक्ष विष्णुप्रसाद बरालले नियमित व्यायामले शारीरिक तन्दुरुस्ती र स्वास्थ जीवनका लागि सहयोग गर्ने बताए । कार्यक्रममा शारीरिक व्यायामशाला सञ्चालन समिति संयोजक उज्ज्वल खत्री, व्यायाम प्रशिक्षक कमल भण्डारी लगायतले बोलेका थिए । व्यायामशाला बिहान र बेलुका खुला हुनेछ । वडा कार्यालय व्यवस्थापन गर्ने व्यायामशाला सञ्चालन गर्न ९ सदस्यीय व्यायामशाला सञ्चालन समिति गठन गरिएको छ ।

Advertisement

९ वटा व्यायाम गर्ने उपकरणसहितको व्यायामशाला खुलेको हो । व्यायामशाला रेखदेखका लागि १ कमचारी राखिएको छ । व्यायामशालामा प्रवेशका लागि दिनको १० रुपैयाँ, मासिक २ सय र वार्षिक तिरे २ हजार शुल्क लाग्नेछ । वृद्धलाई शुल्क नलाग्ने व्यायामशालामा विद्यार्थीलाई ५० प्रतिशत छुट हुनेछ ।

नगरवासीलाई स्वस्थ बनाउन आघिल्लो आर्थिक वर्षमा महानगरले खुला व्यायामशाला निर्माण थालेको हो । यो आर्थिक वर्ष यसका लागि महानगरले १ करोड विनियोजन गरेको छ । महानगरले सबै वडामा खुला व्यायामशाला सञ्चालन गर्ने नीति बनाएको छ । यस आर्थिक वर्षमा १६ स्थानमा व्यायामशाला खोल्ने लक्ष्य रहेकोमा ९ स्थानमा सञ्चालन भइसकेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया