व्यक्तिगत लगानीमा सडक निर्माण

समाधान संवाददाता २०७६ फागुन १४ गते १२:४३

राकेश शर्मा
म्याग्दी

जिल्लाको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले वडा नं. १ बेगखोलाकोे चेन्डाँडा, सीमफाँट, भौसरा र चुतर्नीमा सडक निमार्ण गरेका छन् । गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगत लगानीमा सडक निर्माण गरेका हुन् । स्थानीयको अनुरोधमा गाउँपालिकाका अध्यक्ष भण्डारीले व्यक्तिगत लगानीमा विस्तार गरेको सडक १ कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । गाउँको चेन्डाँडाबाट विस्तार गरिएको मोटरबाटो सिद्धनाथ, तल्लो लिला हुँदै चुतर्नी जोडिएको स्थानीय खिम फगामीले बताए ।

अध्यक्ष भण्डारीले ५ लाख ९ हजारको लागतमा करिव साढे २ किलोमिटर सडक विस्तार गरेका हुन् । अध्यक्ष भण्डारीले भविश्यमा मर्मतको प्रतिबद्धतासमेत जनाएका छन् । उनले भने, ‘घर–घरमा सडक पुग्ने छ’ उनले थपे, ‘सडक विस्तारसँगै बेगखोला रिङरोडमा परिणत भएको छ ।

Advertisement

बेगखोलाका विभिन्न बस्तीबाट छिमेकी भगवती, बेगखोला हुँदै बेनी र पोखरेबगरतर्फ जाने सहज भएको छ भने १ बस्तीबाट अर्को बस्तीमा आवतजावतमा सहज भएको स्थानीयको भनाइ छ । साविकको बेगखोला गाविसको वडा नं ३ सीमफाटमा ६० घरधुरी, भौसरा र चुतर्नीका ४० घरधुरी लाभान्वित भएका छन् । सडक विस्तारको क्रममा महादेव मावि नजिकबाट निकासामा समस्या भएपछि गाउँखोलाको नजिक महादेव मावि जाने मोटरबाटो पसारे हुँदै भौसरा र चुतर्नी ओखलेमा टुगिंएको छ ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष भण्डारीको प्रतिबद्धता अनुसार चेन्डाँडाबाट खोलिएको बाटोले बस्तीका बासिन्दालाई सहज भएको छ । सिमदेखि भौसरासम्मको सडक विस्तार गर्ने प्रतिबद्धता पूरा गरेसँगै मर्मतसम्भारमासमेत स्थानीयलाई सघाउने अध्यक्ष भण्डारीले बताए । ‘मैले प्रतिबद्धता जनाएअनुसार काम गरेको छु, ‘जनताको आवश्यकता अनुसारका पूर्वाधारमा सघाउँछु’ उनले भने, ‘जनतालाई गाउँपालिकाबाट आवश्यकतासँगै व्यक्तिगत रुपमासमेत बोलेका प्रतिबद्धताहरु पूरा गर्नेछु ।’ उक्त सडक उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले लक्ष्य अनुसारका योजनालाई समयमै सम्पन्न गर्न अनुरोध गरे । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीले रघुगंगा गाउँपालिका ६ पाखापानीमा ४ लाखको लगानीमा पाखापानीको फूलडाँडा–औल गाउँ जोड्ने करिव २ किलोमिटरको सडक विस्तार गरेका थिए । सडकले ६० घरधुरी लाभाविन्त भएका छन् । भण्डारीले गाउँपालिकाकाको विकासमा आफ्नो व्यक्तिगत करिब ६० लाख भन्दा बढी लगानी गरेका छन् ।

Advertisement

अध्यक्ष भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा र सुविधाको बचत गर्दै गाउँपालिका अध्यक्ष अक्षयकोष स्थापनासमेत गरेका छन् । गाउँपालिकाभित्रका विपन्न परिवारलाई स्वास्थ्य बिमा गराउन यस्तो कदम चालेका हुन् । भण्डारीले करिब १५ घरपरिवारको स्वास्थ्य बिमा गराएको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया