पोखरामा सरुवा रोग उपचार अस्पताल बन्नेः डिपिआर तयार, जग्गा खोजी

समाधान संवाददाता २०७६ फागुन २१ गते १२:२६

समाधान संवाददाता
पोखरा

कोरोना भाइरस नेपालमा फैलियो भने के होला ? यो अहिले सबैभन्दा चिन्ता र सन्त्रासको विषय हो । किनकि नेपालमा कोरोना फैलियो भने न त आइसोलेसनका लागि अस्पतालमा पर्याप्त बेड तयार हुन सक्छन् न त क्वारेन्टाइन स्थल नै । विकसित देशमा त कोरोनाको संक्रमणबाट धेरैको ज्यान गइसकेको छ भने नेपालमा संक्रमण फैलियो भने धेरै दुखद परिणाम आउन सक्ने धेरैको चिन्ता छ ।

नेपालमा सरुवा रोगको उपचार गर्न शुक्रराज ट्रपिकल सरुवा रोग उपचार केन्द्र मात्रै छ । सरुवा रोगको संक्रमण बढे यसले थेग्न सक्दैन । देश संघीयतामा गइसकेको अवस्थामा प्रत्येक प्रदेशमा यस्तै सरुवा रोग उपचार गर्न अस्पताल हुनुपर्ने भन्दै गण्डकी प्रदेशले नयाँ योजना अघि सारेको छ ।

Advertisement

कोराना भाइरससँग लड्ने पूर्व तयारीका साथ आइसोलेसनमा राखेर उपचार गर्न ६० बेड, हेल्थ डेक्स, चिकित्सक टोली तयार पारिरहेको गण्डकी प्रदेश सरकारले सरुवा रोग उपचार गर्ने नयाँ अस्पताल बनाउने प्रक्रिया अगाडि बढाएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोनाजस्ता सरुवा रोगको उपचार र रोकथामका लागि ३ सय बेडको अस्पताल बनाउने योजना बनाएको छ । मन्त्रालयले विस्तृत आयोजना प्रतिवेदन डिपिआरसमेत तयार पारेको छ । स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखा, नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोग्राम लगायतले डिपिआर तयार पारी मन्त्रालयलाई बुझाइसकेको र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफलसमेत भइसकेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

Advertisement

डिपिआर अनुसार नयाँ बन्ने सरुवा रोग अस्पताल २ सय बेडको क्वारेन्टाइन र १ सय बेडको आइसोलेसन वार्डसहित ३ सय बेडको हुनेछ । अस्पताल निर्माणका लागि १ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

बेलाबेलामा सरुवा रोगको संक्रमण फैलिइरहेको छ । यतिबेला कोरोना भाइरसले आतंक मच्चाइरहेको छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘यस्तै बेलामा दूरदर्शी योजना बनाउने र भोलि फैलिने यस्ता सरुवा रोगको संक्रमणबाट बच्ने र उपचारको प्रबन्ध मिलाउनुपर्छ भनेर सरकारले प्रस्ताव ल्याएको हो ।’

अस्पताल निर्माणका निम्ति प्रदेश सरकारको मन्त्रिपरिषदले निर्णय गरेर जग्गाको पहिचान र अन्य प्रक्रिया अगाडि बढाउने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारको नेतृत्वमा संघीय सरकारकोसमेत आर्थिक सहयोग हुन सक्यो भने १ वर्षभित्रै पनि द्रूत गतिमा अस्पताल निर्माण गर्न सकिने प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया