अलपत्र यात्रुका सारथि इन्द्रसिंह

समाधान संवाददाता २०७६ फागुन २२ गते १४:२२

सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि यात्रुलाई बोकेर गन्तव्यतर्फ लैजाँदै इन्द्र शेरचन । तस्बिरः एसके थकाली

एसके थकाली
जोमसोम

कालीगण्डकी करिडोरले निर्माण गर्दै गरेको बेनी–जोमसोम–कोरला सडकखण्डमा आउने सवारी तथा यात्रु समस्याको सारथि बनेका छन् इन्द्रसिंह शेरचन । सडक विस्तारका क्रममा उनले प्राकृतिक प्रकोप तथा अन्य समस्या परेका बेला हरेक यात्रु तथा सवारी चालकलाई सघाउने गरेका छन् ।

Advertisement

उक्त ७६ किमी निर्माणाधीन सडक स्तरोन्नतिमा शेरचन सुपरभाइजर हुन् । मुस्ताङको थासाङ गाउँपालिकाका शेरचन अहिले म्याग्दीको दानामा होटल चलाएर बस्छन् । पर्यटक गाइडका अनुभवी शेरचनले करिडोर सडकको रेखदेखको जिम्मेवारीसमेत सम्हालेका छन् ।

२०७४ सालदेखि नै उनी सुपरभाइजर छन्, उनले सडक नियालेको ३ वर्ष पूरा भयो । सडक निर्माणका क्रममा आईपर्ने जुनसुकै विपदका परिस्थितिमा उदारभावले यात्रुलाई सघाउन तम्सन्छन् । यात्रु उद्धार, दोहोरो सवारी आउजाउ र अप्ठेरो परेका बेला ज्यानै फालेर उद्धारमा खट्ने इन्द्र दाइ सवारी चालकमाझ प्रिय छन् ।

Advertisement

गत मंगलबार बेनी–जोमसोम सडकखण्ड अन्तर्गत थासाङ ४ घैकु खोला नजिक सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बन्यो । २ तर्फी सडक बन्द भएपछि मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई समस्या परेको हो । सडकमाथिको भीर जंगल र खाल्डाखुल्डी बाटो पार गर्न पर्यटकलाई हम्मेहम्मे पर्‍यो । जुन बाटो छिचोल्न ४५ मिनेट समय लाग्थ्यो । जोखिमयुक्त बाटोमा इन्द्र दाइले मुस्ताङ जाने पर्यटकलाई काँधमा बोकेरै गन्तव्यतर्फ अघि बढाए । उनले यात्रुमात्र नभई सामानसमेत बोकिदिए । यस्तै सहयोग धेरै पटक गरेको बताउँछन् उनी । उनले भने, ‘ समस्या आईपर्दा सहयोग गर्नु मानवीय धर्म हो । यस्तो सामाजिक कार्य गर्दा यात्रुबाट आर्थिक आशा र अपेक्षा राख्दिनँ । निस्वार्थ भावले सेवा गर्ने हो ।’

सडक निर्माणको क्रममा यात्रुलाई आईपर्ने हरेक समस्यामा आफ्नै परिवारलाई जस्तै सहयोग गर्ने बानी परेको उनले सुनाए । गत वर्ष म्याग्दीको महभीरमा सडक अवरुद्ध हुँदा उनले धेरै पर्यटकलाई बोकेर उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया