३९ हजार स्याउका बेर्ना लगाइने

समाधान संवाददाता २०७६ फागुन २३ गते १२:३७

एसके थकाली
जोमसोम

चालु आर्थिक वर्ष २०७६÷०७७ मा मुस्ताङका ५ पालिकामा करिब ३९ हजार स्याउका बेर्ना लगाइने भएको छ । नयाँ लगाइने स्याउ बेर्नामध्ये ७५ प्रतिशत वितरण भइसकेको छ भने २५ प्रतिशत वितरण गर्न बाँकी छ ।

स्याउको उचित बजारीकरण तथा स्याउको माग बर्सेनि बढेकाले जिल्लाका किसानको आकर्षण स्याउतर्फ बढेका हो । मुस्ताङ सडक सञ्जाल जोडिएपछि जिल्लामा उत्पादित स्याउ पोखरा र काठमाडौं लगायत सहरमा सहजै बिक्री भएकोे छ । स्याउ खेतीबाट मनग्ये आम्दानीसमेत हुने गरेको छ ।

Advertisement

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन कार्यालयले चालु वर्ष मुस्ताङमा ४५ सय स्याउका बेर्ना वितरण गरिसकेको जनाएको छ । उपल्लो मुस्ताङका किसानले उच्च घनत्वको स्याउ बेर्ना माग गरेकाले यसवर्ष १० हजार बेर्ना खरिद गरी वितरणको तयारी गरेको वरिष्ठ कृषि अधिकृत माधव लम्सालले जानकारी दिए । उनका अनुसार स्याउ जोन कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बेर्ना उपलब्ध गराएको हो ।

गण्डकी प्रदेशको डिभिजन वन कार्यालयले पनि विभिन्न जातका स्याउका बेर्ना निशुल्क वितरण गरेको छ । कार्यालयले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहित जिल्लास्थित विभिन्न कार्यालय र व्यक्तिलाई ७ हजार २ सय ९० स्याउ बेर्ना वितरण गरेको कार्यालय प्रमुख रुक्मागत सुवेदीले जानकारी दिए । कार्यालयले थासाङलाई २ सय, घरपझोङलाई २ हजार ८ सय ७०, वारागुङ मुक्तिक्षेत्रलाई ३ हजार ५० बेर्ना वितरण गरेको हो । विभिन्न कार्यालय र व्यक्तिलाई १ हजार १ सय ७० बेर्ना वितरण गरेको कार्यालय प्रमुख सुवेदीले बताए ।

Advertisement

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले ९० प्रतिशत अनुदानमा जिल्लाका किसानलाई ४ हजार ५ सय बेर्ना वितरण गरेको एक्याप प्रमुख तुलसी दाहालले जानकारी दिए । दाहालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डका २७ गाउँमा स्याउ बेर्ना वितरण भएको जनाएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले बिक्री गरेका कुल २३ हजार स्याउका बेर्नामध्ये ७ हजार स्याउका बेर्ना जिल्लाका किसानलाई बिक्री गरेको छ । फार्मले बढी बेर्ना सिन्धुपाल्चोक, रोल्पा, बाग्लुङ, संखुवासभा लगायत जिल्लामा पठाएको वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । शेर्पा नर्सरी फार्मले पनि चालु वर्ष करिब ५ हजार बेर्ना बिक्री गरेको जनाएको छ ।

स्याउ जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत माधव लम्सालका अनुसार १ हेक्टर जमीनमा ३ सय स्याउ बेर्ना रोप्न सकिने बताए । उनका अनुसार १ हेक्टर बराबर २० रोपनी जग्गा हुन्छ । जसअनुसार जिल्ला स्याउ जोन कार्यालयले वितरण गरेको औसत क्षेत्रफल ५० हेक्टर, डिभिजन वनको २५ हेक्टर, एक्यापको १५ हेक्टर, बागवानी कृषि फार्मको २५ हेक्टर र शेर्पा नर्सरी फार्मको १५ हेक्टर गरी चालु वर्ष १ सय ३० हेक्टर जमीनमा ३९ हजार स्याउका बेर्ना रोपिने भएको वरिष्ठ कृषि अधिकृत लम्सालले उल्लेख गरे ।

यसवर्ष १ सय ३० हेक्टर थपिँदा मुस्ताङमा १ हजार ४ सय ११ हेक्टर जमीनमा स्याउ खेती हुने भएको हो । गत वर्ष मुस्ताङमा १२ सय ८१ हेक्टरमा स्याउ खेती गरिएको स्याउ जोन कार्यालयको भनाइ छ । आर्थिक वर्ष ०७६÷०७७ मा ५ सय हेक्टर जमीनमा ६ हजार ५ सय टन स्याउ उत्पादन भएको थियो । अघिल्लो वर्ष ५ हजार ८ सय टन स्याउ उत्पादन भएको स्याउ जोनले जनाएको छ ।

यस वर्ष सरोकारवाला कार्यालयले रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, कस्मिरी स्याउ र उच्च घनत्वको स्याउका बेर्ना वितरण गर्ने जनाएका छन् । यहाँ उत्पादित स्याउ ७० प्रतिशत जिल्ला बाहिर बिक्री हुने गरेको छ भने २० प्रतिशत स्याउ जिल्लामै खपत हुन्छ । जसमध्ये १० प्रतिशत स्याउ प्रशोधन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया