नापी कार्यालयको टोकन आफ्नै मोबाइलबाट

समाधान संवाददाता २०७६ फागुन २५ गते १२:२९

मोबाइल एप सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल । तस्बिरः ईश्वर देवकोटा÷समाधान

ईश्वर देवकोटा
पोखरा

मुलुकमै पहिलो पटक जग्गा प्रशासनसम्बन्धी कामका लागि नापी कार्यालय कास्कीले मोबाइल एप्लिेकसनबाट सेवाग्राहीलाई मिति र समय किटानसहितको दैनिक इ–टोकन लिन मिल्ने सेवा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शनिबार पोखरामा आयोजित नापी विभागको कार्यक्रममा ‘नापी पोखरा एसओकेपी’ मोबाइल एप्लिकेसन शुभारम्भ गरिन् ।

Advertisement

नापी तथा मालपोतको सेवालाई लिएर उठ्ने प्रश्नको जवाफ जग्गा प्रशासनमा प्रविधिको प्रयोगमार्फत कार्यान्वयन हुने सुशासनले दिने मन्त्री अर्यालले बताइन् । पारदर्शिता र सुशासन कार्यान्वयन गर्न मन्त्रालय अग्रसर रहेको उनको भनाइ छ । ‘सेवा प्रवाहमा प्रविधिको प्रयोग बिना उठेका प्रश्नको जवाफ दिन सक्दैनौं,’ उनले भनिन्, ‘नमुना मालपोतको रुपमा कलंकी र नापीको काम कास्कीबाट सुरु गरेका हौं ।’

परिवर्तन गर्ने ठाउँमा बसेर अरुतिर फर्केर भएन भन्ने परिपाटीको अन्त्य हुने उनको दाबी छ । मन्त्री अर्यालले भनिन्, ‘हामी गर्ने ठाउँमा बस्ने अनि भएन भनेर अरुतिर फर्केर हुँदैन । परिवर्तन गर्ने ठाउँमा हामी छौं । छिटो छरितो प्रविधिको प्रयोगबाट सेवा दिनुपर्छ ।’

Advertisement

कर्मचारीलाई कानुनसम्मत काममात्र गर्न मन्त्री अर्यालले निर्देशन दिइन् । नियमअनुसार नहुने काममा कसैको दबाब, प्रभाव र व्यक्तिगत स्वार्थमा लाग्न नहुने उनले बताइन् । ‘आफू नचुक्नुस्, जबरजस्ती दाग लगाइदिएर केही पर्दैन । आफूलाई व्यवस्थित गर्नुस्,’ कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भनिन्, ‘अनुचित काममा नफस्नुस् । जनताको सुविधा हुने काममा ढिलासुस्ती नगर्नुस् ।’ कानुनले नदिएका काम मन्त्रीले पनि दबाब दिएको भनेर अहिलेसम्म कुनै पनि कर्मचारीले आंैला ठड्याउने काम आफूले पनि नगरेको उनको प्रष्टोक्ति थियो ।

नाप नक्साका क्षेत्रमा प्रविधिको प्रयोगबाट साँच्चिकै क्रान्ति ल्याउने गरी काम हुने मन्त्री अर्यालको दाबी छ । विगत र वर्तमानमा देखिएका परिवर्तन फरक छुट्याउन मिल्ने गरी काम हुने उनको विश्वास छ । मालपोत र नापी कार्यालयलाई तत्काल मर्ज गर्न नसके पनि एउटै भवनबाट सहज रुपमा सेवा लिन मिल्ने गराउन योजना बनाइने उनले सुनाइन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले मन्त्रीले विभागलाई दिएको ७ वटा महत्वपूर्ण निर्देशनलाई कार्यान्वयन गर्ने क्रममै प्रविधिको प्रयोग विस्तार भइरहेको बताए ।

यसरी लिन सकिन्छ सेवा
‘नापी पोखरा एसओकेपी’ नामक एप्लिकेसन प्ले स्टोरमा गई इन्स्टल गर्न सकिन्छ । हाललाई एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध उक्त एप आगामी दिनमा आइओस भर्सनमा उपलब्ध गराइने नापी कार्यालय कास्कीका प्रमुख नापी अधिकृत इन्जिनियर खिमलाल गौतमले जानकारी दिए । वेब लग इन हाल उपलब्ध छैन । वेबबाट पनि सेवा लिन मिल्ने बनाइने नापी प्रमुख गौतमले बताए ।

कित्ताकाट, हाल साविक भिडाउने, नक्सा प्रिन्ट, नक्सा ट्रेस, फिल्डबुक, प्लट रजिस्टर उतारसहित फिल्ड रेखांकन, क्षेत्रफल ट्रायल चेक र कित्ता एकीकरणसम्बन्धी सेवा लिन ७ दिन अगाडि टोकन लिन सकिन्छ । सोही दिन टोकन लिन भने १ बजेभित्र अनुरोध पठाइसक्नुपर्ने हुन्छ । १ दिनमा २ देखि १० वटासम्म टोकन लिन सकिनेछ । सेवाग्राहीले सेवा लिनुपर्ने कामका लागि देखाइएका विकल्पमध्ये छनोट गर्दा व्यक्तिगत विवरणसहित जिल्ला, पालिका, वडा, सिट नम्बर, कित्ता नम्बर र मिति, समय पनि उल्लेख गर्नुपर्ने हुन्छ । नापी प्रमुख गौतमका अनुसार सेवाग्राहीले एपबाट पठाएको अनुरोधलाई जाँच गरी स्वीकृत दिन कार्यालयका कर्मचारीले मिति र समय तय गर्ने छन् । सोको जानकारी एपबाट नै सेवाग्राहीले पाउनेछन् ।

बिचौलियामार्फत नापी कार्यालयको सेवा लिनुपर्ने बाध्यतालाई पूर्ण रुपमा हटाउन एपमा १५ वटा निवेदनका ढाँचा पनि उपलब्ध छन् । ती निवेदन ढाँचालाई डाउनलोड गरी सेवाग्राहीले स्वयं भर्न मिल्ने सहज व्यवस्था रहेको नापी प्रमुख गौतमले सुनाए । लिनुपर्ने सेवाका बारेमा आवश्यक काजगातसम्बन्धी पनि एपमा ‘सेवासम्बन्धी’ बटममा विस्तृत जानकारी राखिएको छ । एपसम्बन्धी जानकारी र कार्यालयको गुनासो तथा उजुरी, सुझाव एपबाटै दिन सकिन्छ । एपमा राजस्व तिर्न मिल्ने विकल्प राखिए पनि तत्काल सेवा उपलब्ध छैन ।

बिचौलियाबिना जनताले काम गर्न सक्छन् भन्ने उदाहरण कास्कीबाट देखाउन पहिलो प्रयास गरिएको नापी प्रमुख गौतमले बताए । एपबाट सेवा प्रदान गर्ने क्रममा देखिन सक्ने प्राविधिक त्रुटिलाई समाधान गरिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया