व्यासका प्रत्येक वडामा मेलमिलाप केन्द्र

समाधान संवाददाता
दमौली
तनहुँको व्यास नगरपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी गरेको छ । स्थानीयस्तरमा हुने विवादका घटना वडाबाटै समाधान गर्ने उद्देश्यले नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गर्न लागेको हो ।
उक्त केन्द्र स्थापनाका लागि नगरपालिकाले मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि २०७६ पारित गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘स्थानीयस्तरमा हुने ससाना झगडा, विवाद लगायतका घटना नगरपालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्न मेलमिलाप केन्द्र स्थापना गर्न लागेका हौं,’ उनले भने, ‘मेलमिलापबाटै समाधान गर्दा दुवै पक्षले जितेको महसुस हुन्छ ।’
स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुख मीरा जोशीको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । उक्त समितिमा २ जनप्रतिनिधि सदस्य छन् । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुंगो लगाउनुपर्ने कानुनी प्रावधान छ ।
वडास्तरमा मेलमिलाप गराउने दक्ष जनशक्ति नभएकाले नगरपालिकाले प्रत्येक वडाबाट २÷२ जना सहभागी गराई तालिम सञ्चालन गरेको छ । शुक्रबारदेखि सुरु भएको तालिम फागुन ३० गतेसम्म चल्नेछ । ‘मेलमिलाप गराउने मेलमिलापकर्ता विश्वसनीय र परिपक्व हुनुपर्ने भएकाले उहाँहरुलाई दक्ष बनाउन लागेका छौं,’ न्यौपानेले भने, ‘दुवै पक्षले जित्ने विकल्प मेलमिलापबाट मात्र सम्भव छ ।’
पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश एवं मेलमिलाप विज्ञ केशरीराज पण्डितले अदालतमा गइसकेको विवाद पनि मेलमिलापबाट टुंग्याउन प्रयास गरिने प्रचलन रहेकाले स्थानीय तहमा पनि मेलमिलापको महत्व रहेको तर्क गरे । विवाद टुंगो लगाउने उत्तम विकल्प मेलमिलाप रहेको बताउँदै पण्डितले भने, ‘मेलमिलापबाट दुवै पक्षले जितेको महसुस गर्न सक्छन् ।’
न्यायिक समितिमा पर्ने उजुरीमा न्यायिक समितिले गरेको फैसला उपर चित्त नबुझे जिल्ला अदालतमा पुनरावेदन गर्न पाइने कानुनी अधिकार रहेकोसमेत पण्डितले जानकारी दिए । उनका अनुसार न्यायिक समितिमा पर्ने उजुरीका विषयमा पनि सबैभन्दा पहिले मेलमिलापको अवसर दिनुपर्छ । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक जोशीले स्थानीयस्तरमा हुने विवादका घटना वडाबाटै मेलमिलाप गराउन सकिए नगरपालिकामा मुद्दाको चाप घट्ने बताइन् ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया