मुस्ताङमा कोरोना हेल्थ डेस्क राखिने

समाधान संवाददाता २०७६ फागुन २८ गते १२:१७

कोरोनाबारे छलफल गर्न जोमसोममा भएको सरोकारवालाको बैठक ।

एसके थकाली
जोमसोम

चीनसँग सिमाना जोडिएको मुस्ताङमा कोरोना हेल्थ डेस्क स्थापना गरिने भएको छ । मंगलबार भएको सरोकारवालाको बैठकले हाल विश्वभर फैलिएको नोबेल कोरोना रोकथामका लागि जिल्लाका ४ स्थानमा डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको बैठकले हेल्थ डेस्क स्थापना लगायत ३ निर्णय गरेको हो । गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीको उपस्थितिमा भएको बैठकमा जिल्लाका ५ वटै पालिकाका प्रनितिधि सहभागी थिए । बैठकले कोरोना भाइरस रोकथाम गर्न म्याग्दी र मुस्ताङको सीमा क्षेत्र घासा चेकपोस्ट, जोमसोम विमानस्थल, प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र उपल्लो मुस्ताङको लोमान्थाङमा कोरोना हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

हेल्थ डेस्कलाई आवश्यक पर्ने जनशक्ति सुरक्षा निकाय, एक्याप, स्थानीय तह लगायतले उपलब्ध गराउने छन् । स्थानीय तहको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्री व्यवस्था गर्ने भएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला स्तरीय डिआरआरटी समिति गठन भएको छ । समितिले प्रत्येक महिना डिआरआरटी विवरण सार्वजनिक गर्ने छ । सदरमुकाम जोमसोममा रहेको अस्पताल र थासाङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा आइसुलेसन बेडको व्यवस्था गरिने भएको छ । जिल्लामा हुन सक्ने सम्भावित संक्रमण रोकथाम गर्न औषधी मौज्दात तथा खरिद गर्ने र औषधी अभाव हुन नदिन स्थानीय प्रशासनले अनुगमन गर्ने भएका छन् । कोरोनासम्बन्धी अभिमुखीकरण, स्थानीय तहका स्वास्थ्यकर्मी परिचालन र डिआरआरटी समितिको प्रगति तथा मूल्यांकन गर्न अनुगमन समिति गठन गरिने भएको छ ।

प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले दक्षिणतर्फ भारतसँग खुला सिमाना रहेकाले भारतीय पर्यटकलाई कडाइ गरिनेपर्ने उल्लेख गरे । उनले कोरोना भाइरस विश्वकै चिन्ताको बिषय बनेकाले हिउँद याममा जाडो छल्न बेशी झरेका मुस्ताङीको समेत जिल्ला फर्किदा स्वास्थ्य चेकजाँच गरिनुपर्ने सुझाए । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले कोरोना फैलिन नदिन उच्च स्वास्थ्य रणनीति अपनाइने बताए । उनले जिल्ला भित्रिने नाका तथा पर्यटकीय स्थलमा डेल्थ डेस्क चाडै सञ्चालन हुने प्रतिवद्धता गरे ।

जिसस उपप्रमुख राजेन्द्र शेरचनले विश्व स्थास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएकाले मुस्ताङमा यसको रोकथामका लागि सरोकारवालाले भूमिका खेल्नुपर्ने विचार राखे । उनले मुस्ताङ धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले यहाँ सावधानी अपनाउन सबै निकाय परिचालन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले कोरोना भाइरसबारे प्रस्तुति राखेका थिए ।

तपाईको प्रतिक्रिया