मुक्तिनाथ गुरुयोजनाकाे १८ महिनामा जम्मा २० प्रतिशत काम पूरा

समाधान संवाददाता २०७६ फागुन २९ गते १३:०७

एसके थकाली
मुस्ताङ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले अघि बढाएको मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ विकास गुरुयोजनाको काम सुस्त भएको छ । गुरुयोजनाको पहिलो फ्रेजको जिम्मा लिएको सीएम कन्ट्रक्सन र स्थानीय संरक्षण समितिबीचको असमझदारीले गुरुयोजनाको काम सुस्त भएको हो ।

मुक्तिनाथ विकास गुरुयोजनाको काम २०७५ सालदेखि सुरु भएको हो । बहुवर्षीय गुरुयोजना अन्तर्गत यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) २०७४ साल अघि सार्वजनिक गरिएको थियो । मुक्तिनाथ बृहत्तर विकासका लागि झन्डै २ दर्जन पूर्वाधार विकासका एजेन्डा गुरुयोजनाभित्र समेटिएको थियो । गुरुयोजनाको काम गर्न सिएम कन्ट्रक्सनले ठेक्का प्राप्त गरी स्थानीय संरक्षण समितिलाई जिम्मा लगाएको थियो ।

Advertisement

पर्यटन विभागले आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड र आर्थिक वर्ष ०७६÷०७७ मा डेढ करोड गरी साढे २ करोड बजेट गुरुयोजनाका लागि विनियोजन भएको पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवले जानकारी दिए । उनका अनुसार विभागले गुरुयोजना अन्तर्गतको विनियोजित बजेटले मुक्तिनाथको पुरानो जीर्ण आनी निवास भत्काएर करिब ५० मिटर पर नयाँ २ वटा आनी निवास निर्माण गर्ने, मन्दिर परिसरको उत्तरतर्फ पानी घट्ट भएको स्थान र उत्तरतर्फको भिआइपी कक्ष, मोडमा समान दायाँबायाँ १४ फिट दूरी बिस्तार गरी मन्दिर परिसर फराकिलो पार्ने, मन्दिरको भित्री परिसर र बाहिरी परिसरमा सुविधा सम्पन्न शौचालय निर्माण गर्ने, मन्दिर परिसरमा छपनी बिछ्याउने र कागबेनीको श्राद्धस्थल नजिक तटबन्ध निर्माण गर्ने लगायत काम तोकिएको थियो । तर, गुरुयोजनाको पहिलो फेजको सम्झौता अवधि आगामी असोजमा सकिने भए पनि काम भने सुस्त छ ।

गुरुयोजनाको जिम्मा पाएको सिमएम कन्ट्रक्सनले १८ महिना बितिसक्दा जम्मा २० प्रतिशतमात्र काम पूरा गरेको विभागका इन्जिनियर यादवले बताए । उनका अनुसार विभागको साढे २ करोडमध्ये करिब मुक्तिनाथमा १ आनी क्वाटर भवनको काम अघि बढेको हो भने कागबेनीधाममा नदी नियन्त्रणका लागि पिसिसी वाल उठे पनि बाँकी काम अधुरो रहेको उनले उल्लेख गरे । पर्यटन विभागले मुक्तिनाथ बृहत्तर विकास गुरुयोजना मापदण्ड अन्तर्गत सुरक्षा गृह, म्युजियम, प्रहरी पोस्ट, हेल्थ पोस्ट, प्रशासनिक कार्यकक्ष, आश्रमस्थल, भ्यु टावर, चेन्जिङ रुम, ध्यान केन्द्र, सौर्य ऊर्जा, ट्वाइलेट, बाथरुम, आनी आवास भवन, हिन्दु पुजारी निवास, लामा निवास , ठूलो कदको बुद्ध र विष्णुको मूर्ति स्थापना, हेली प्याड, योगी पाटी, पुस्तकालय, रक गार्डेन, चमेना गृह, समथिङ पसल, विश्राम कक्ष, पिकनिक सेट, मुक्तिनाथ मन्दिर स्तरोन्नति, नसिङ गुम्बा निर्माण, कम्पान्ड वाल, सिँढी बाटो तथा अपांगमैत्री बाटो, घोडा हिँड्ने बाटो, माइक्रो हाइड्रो, मन्दिर परिसर वरिपरि घोडा परिक्रमा गर्ने बाटो र मुक्तिनाथ बसपार्क स्तरोन्नति लगायतका काम छन् । यस्तै कागबेनीधाममा कालीगण्डकी तटबन्ध, कागबेनी श्राद्धस्थल वरपर कालोपत्रे गर्ने, सौर्य ऊर्जा तथा सूचनामूलक होडिङ बोर्ड राख्ने, विश्रामस्थल, फोहोर संकलन केन्द्र, धर्मशाला तथा श्राद्धस्थलको स्तरवृद्धि गर्दै चारैतर्फ वृक्षरोपण गर्ने लगायत योजना गुरुयोजनामा समेटिएको इन्जिनियर यादवले जानकारी दिए ।

Advertisement

पर्यटनले विभागले बनाएको मोडालिटी योजनामा निर्माण कम्पनीबीचको समन्वय अभावले काममा बाधा पुगेको स्थानीय संरक्षण समितिका सहसचिव लाक्पा टसी गुरुङले जानकारी दिए । ‘मुक्तिनाथ पूर्वाधार विकासका सबै काम स्थानीय संरक्षण समितिले गर्ने र त्यसको निगरानी पनि गर्नेगर्छ । समितिले गुरुयोजना अन्तर्गतका अन्य निकायले बढाएका कामलाई सम्पन्न गरेका छौं । विभागको काम ढिलाइ हुनुमा सिएम कन्ट्रक्सन जवाफदेही छ । काम गर्ने वातावरण बनेमा समितिले तोकिएकै समयमा पूरा गर्छ,’ उनले भने । उनका अनुसार समितिले पुरातत्वले बजेट विनियोजन गरेको मुक्तिनाथ मन्दिर, नरसिंह गुम्बा र ३२ फिट उचाइको बुद्ध मन्दिर बनाएको बताए । उनले पुरातत्वकै बजेटले आगामी आर्थिक वर्ष ज्वालामाई गुम्बा निर्माणको काम अघि बढ्ने र सोको डिपिआर भइसकेको उल्लेख गरे । यसअघि नरसिंह गुम्बा निर्माणमा पुरातत्व विभागले डेढ करोड र मुक्तिनाथ विकास समितिले ७५ लाख विनियोजन गरेका थिए भने बुद्ध मूर्ति निर्माण गर्न एनआरएनका सोनाम लामाले करिब ३ करोड र प्रवासी नेपालीले आर्थिक सहयोग गरेको स्थानीय संरक्षण समितिले जनाएको छ ।

गुरुयोजना अन्तर्गत मुक्तिनाथ विकास समितिको बजेटले मुक्तिनाथ क्षेत्रको करिब ५ सय १० रोपनी क्षेत्रफलको चारैतिर पिसिसी वाल लगाउने तयारी भएको मुक्तिनाथ क्षेत्र विकास समितिका संयोजक प्रजिअ वेदप्रसाद अर्यालले जानकारी दिए । उनले मुक्तिनाथमा तत्काल भक्तजनलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न समितिले योजना बनाएको जनाए । मुक्तिनाथ गुरुयोजना अन्तर्गत कालीगण्डकी करिडोर बेनी÷जोमसोम÷कोरला सडक आयोजनाले पनि तीर्थालुको सहजताका लागि मुक्तिनाथको पहिलो गेटदेखि दोस्रो गेटसम्म रेलिङसहितको सिँढी बाटो निर्माण गर्न १ करोड उपलब्ध गराएको छ । सिँढीबाटो निर्माण गर्ने जिम्मा खिंगा कन्ट्रक्सनले पाएको छ । तर यो काम पनि नबढेको प्रजिअ अर्यालले बताए । यस्तै, मुक्तिनाथ मन्दिर जाने अपांमैत्री बाटोका लागि नेपाल पर्यटन बोर्डले १० लाख सम्बन्धित पालिकालाई उपलब्ध गराउने भएको छ । बोर्डले उपलब्ध गराएको उक्त बजेट कम भएकाले मुक्तिनाथ विकास समितिले अपुग रकम उपलब्ध गराउन सक्ने प्रजिअ अर्यालले खुलाए ।

तपाईको प्रतिक्रिया