दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले गर्‍याे प्रभावित र जिल्लाबासीलाई सेयर निष्काशन

समाधान संवाददाता २०७६ फागुन २९ गते १३:१६

समाधान संवाददाता
पोखरा

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ । आगामी चैत्र महिनाभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निस्कासन गरेको हो । आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले मंगलबारबाट सेयर निष्काशन गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए ।

सर्वसाधारण जिल्लाबासीका नाममा निष्काशन गरिएको सेयर आह्वानमा जिल्लाभित्रै १५ करोड संकलन गर्ने आयोजनाको लक्ष्य छ । जिल्लाभित्र पनि अति प्रभावित क्षेत्रका लागि ५ करोड, सामान्य प्रभावितका लागि अर्को ५ करोड र त्यसबाहेक जिल्लाबासीका लागि थप ५ करोड गरी १५ करोड रुपैयाँको सेयर आह्वान गरिएको सञ्चालक वस्तीले बताए । ‘सेयर हाल्न चैत्र १५ सम्मका लागि समयसीमा तोकिएको छ,’ वस्तीले भने, ‘जिल्लामा रहेका बैंकमध्ये अधिकांश बैंकबाट सेयर जम्मा गर्न सकिनेछ ।’ कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिए बमोजिम संस्थापक सेयर धनीलाई क वर्ग र सर्वसाधारण सेयर धनीलाई ख वर्गमा विभाजन गरेको छ ।

Advertisement

ख वर्गको सेयरमा आयोजना प्रभावित जिल्लाबासी, स्थानीय सर्वसाधारण, कर्मचारी र अन्य सर्वसाधारण रहेको कम्पनीले जनाएको छ । जसमध्ये ७५ प्रतिशत सेयर क वर्गका संस्थापक सेयर धनी तथा २५ प्रतिशत ख वर्गका सर्वसाधारण भनी विभाजन गरेको छ । जारी पुँजीमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका लागि छुट्याएको छ । उद्योग प्रभावित क्षेत्रमा निष्काशन गर्दा उक्त कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाको वडा नम्वर ६ र ७ रहेको छ । कम्पनीले स्थानीयलाई छुट्याएको ३३ दशमलव ३३ प्रतिशतमध्ये ५ लाख कित्ता अति प्रभावित, दोर्दी गाउँपालिकाका बाँकी वडा र बेंसीसहर नगरपालिका वडा नम्बर ११ का स्थानीयका निम्ति ५ लाख कित्ता र सोबाहेक जिल्लाबासीका लागि अर्को ५ लाख कित्ता सेयर निष्काशन गरी बाडफाँडको तयारी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले छुट्याएको क्षेत्रमध्ये अति प्रभावित क्षेत्रबाट माग बमोजिम दरखास्त प्राप्त नभएमा बेंसीसहर ११ र दोर्दी गाउँपालकिाको बाँकी वडाबासी र सो क्षेत्रबाट पनि माग बमोजिम दरखास्त प्राप्त नभएमा सम्पूर्ण जिल्लाबासीमा सेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।

Advertisement

धितोपत्र दर्ता तथा निष्काशन नियामावलीमा भएको व्यवस्था बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याएको जारी पुँजीमध्येको १० प्रतिशत साधारण सेयर निष्काशन तथा बिक्री गरी बाँडफाँड गरेपश्चातमात्र सर्वसाधरणका लागि छुट्याएको जारी पुँजीमध्येको १५ प्रतिशत साधारण सेयर सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले आइपिओ निष्काशनका लागि गत वैशाख १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ३७ लाख ५० हजार कित्ता आइपिओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

२०७१ असोजबाट निर्माण थालिएको उक्त आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको आयोजनाले जनाएको हो । लिवर्टी इनर्जी हाइड्रोपावरले प्रवद्र्धन गरेको लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीमा निर्माणाधीन उक्त आयोजना निर्माणको अन्तिम चरणमा पुगेको लिवर्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया