नून किन्न आपूर्ति मन्त्री पसलमा

समाधान संवाददाता २०७६ चैत २ गते १३:१७

कृष्ण दवाडी
कास्की

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने जानकारी दिएका छन् । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको सुनाए ।

अनुगमनका क्रममा पोखरा ४ चिप्लेढुंगामा रहेको यादव स्टोर्सले नूनको खुद्रा बिक्री मूल्य प्रतिकेजी २० रहेकामा २५ मा बेच्ने गरेको पाइएपछि मन्त्री भट्टले सो स्टोर्सलाई तत्कालै कारवाही गर्न निर्देशन दिएका थिए । भट्ट ग्राहक बनेर स्टोर्समा पुगेका थिए । खुद्रा मूल्यभन्दा बढी भनेपछि सो स्टोर्सलाई तत्काल आवश्यक कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालयका सचिव वैकुण्ठ अर्याल तथा आपूर्ति महाशाखाका सहसचिव प्रकाश दाहाललाई आवश्यक निर्देशन दिएको मन्त्री भट्टका निजी सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

Advertisement

‘हामी पोखरामा डिर्पाटमेन्टल स्टोर्स, पसल, औषधी पसल लगायतको अनुगमनमा छौं । हिजो केही पसलमा अनुगमन ग¥यौं । केहीमा खुद्रा मूल्यभन्दा बढी लिएकोसमेत पाइयो’, बस्नेतले भने, ‘बढी मूल्य लिनेलाई कारवाहीका लागि वाणिज्यको टोली पठाइसकिएको छ । उहाँहरूले किनेको पसलमै त्यति मूल्य तिरेको भन्नुभएको छ तर त्यहाँको नम्बर माग्दा दिनुभएको छैन ।’

पर्यटकीय सहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको वस्तुस्थितिका बारेमा जानकारी लिनका लागि मन्त्री भट्टसहित मन्त्रालयका उच्च अधिकृत संलग्न टोली यहाँ आएको हो । पछिल्लो समय देशमा कोरोना भाइरस संक्रमणको त्रासलाई देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेपछि सरकारी निकाय चनाखो बनेका छन् । जिल्ला प्रशासन, उपभोक्ता समिति लगायतका संघ, संस्थाले समेत जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

Advertisement

साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नूनको खुद्रा मूल्यभन्दा बढीमा् बिक्री गरिनु गैरकानुनी भएको जनाएका छन् । उनले अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फार्म तथा बिक्रेतालाई कारवाहीको दायरामा ल्याइने जानकारी उनले दिए । कर्पाेरेसनसँग अहिले कम्तीमा १० महिनाका लागि पुग्ने नून मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘देशभर मासिक १६ हजार मेट्रिक टन नून खपत हुन्छ । हामीसँग अहिले १ लाख ५५ हजार ३ सय मेट्रिक टन नून मौज्दात छ । अहिलेको अवस्थामा समेत आगामी १० महिनालाई पर्याप्त हुन्छ, आत्तिनु पर्दैन’, प्रबन्धक झाले भने ।

तपाईको प्रतिक्रिया