३ गाउँपालिकाले गरे एसइई विद्यार्थीलाई सहयोग

समाधान संवाददाता २०७६ चैत ७ गते १२:४३

म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाबाट हिउँ पन्छाउँदै एसइई दिन आएका विद्यार्थी । तस्बिरः समाधान

राकेश शर्मा
म्याग्दी

एसइई परीक्षामा सहभागी हुन गाउँ गाउँबाट केन्द्रसम्म पुगेका विद्यार्थीलाई ३ गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएका छन् । एसइई स्थगित भएपछि घर फर्कन लागेका विद्यार्थीको खाना र खाजा खर्च गाउँपालिकाले व्यहोर्ने भएका हुन् । धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले परीक्षा केन्द्रमा डेरा खोजेर बसेका विद्यार्थीलाई राहत होस् भन्ने उद्देश्यले सहयोग गरेका हुन् ।

Advertisement

रघुगंगा गाउँपालिकाले दूरीका हिसाबले प्रति विद्यार्थी १ हजार र १ हजार ५ सयका दरले सहयोग गर्ने अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रितंगु मावि कुइनेमंगले, अमर मावि पाखापानी, अमर मावि चिमखोला र महेन्द्र मावि झिंकाका विद्यार्थीले १ हजार ५ सय पाउने छन् । रघुगंगा मावि पिप्ले, ज्ञानोदय मावि मौवाफाँट, जनता मावि दग्नाम र महादेव मावि बेगका विद्यार्थीलाई १ हजार प्रदान गरिने भण्डारीले बताए । उनीहरुका लागि मुक्तिधाम मावि भगवती केन्द्र तोकिएको छ ।

धवलागिरि गाउँपालिकाले विद्यार्थीको खाजा र खाना खर्चका लागि ९ वटा विद्यालयलाई १० हजारका दरले उपलब्ध गराइएको गापा अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । घरबाटै परीक्षामा सामेल हुने ताकम माविबाहेकका विद्यालयका विद्यार्थीले उक्त सुविधा पाएका छन् । विकट गुर्जाको जनकल्याण माविका विद्यार्थी जंगल र भीरको बाटोमा हिउँ छिचोलेर पुरै दिन हिँडेर हेम मावि शिवाङ परीक्षा केन्द्र पुगेका थिए । उनीहरुलाई १ दिन विश्राम गर्न र बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च पालिकाले व्यहोर्ने पुनको भनाइ छ ।

Advertisement

अन्नपूर्ण गाउँपालिकाले प्रति विद्यार्थी १ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । मुक्तिमार्ग मावि घार परीक्षा केन्द्रमा १ सय १८ र बेनीको परीक्षा केन्द्रका ५० विद्यार्थी छन् । सम्बन्धित विद्यालयमार्फत खाना खर्चबापत प्रति विद्यार्थी १ हजार रुपैयाँका दरले सहयोग गरिने गाउँपालिका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

म्याग्दीबाट यस वर्ष एसइईमा २ हजार १ सय ९७ जनाले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । तीमध्ये १ हजार १ सय १० छात्रा र १ हजार ८७ छात्र सहभागी हुने इकाइ प्रमुख दलबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया