मादी ४ मा आधारभूत स्वास्थ्य केन्द्र

समाधान संवाददाता २०७६ चैत ८ गते १६:३४

सुनील सापकोटा, पोखरा

मादी गाउँपालिका वडा नं. ४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ । स्वास्थ्य केन्द्र गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले उद्घाटन गरे । उनले गाउँपालिकाभित्र गुणस्तरीय सेवाका लागि गाउँपालिका तत्पर रहेको बताउँदै आवश्यक पहल गर्ने बताए । उक्त केन्द्रमा ३ जना कर्मचारी रहने छन् । २ जना स्वास्थ्यकर्मीका साथै १ जना कार्यालय सहयोगीको दरबन्दी रहने समाजसेवी बुद्धिसागर सापकोटाले जानकारी दिए ।

साविक थुमाको डाँडा गाविस टुक्रिएर मादीका ३ र ४ वडा बनेका छन् । स्वास्थ्य इकाइ स्थापना अघि स्वास्थ्य चौकीको सेवा लिन मादी ३ याङ्जाकोट पुग्न बिरामी डेढ घन्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । याङ्जाकोट पुगेका बिरामीको स्वास्थ्य चौकीमा उपचार असम्भव भएको भन्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर हुँदा उल्टो बाटो हिँड्नुपर्ने अवस्था थियो । मादी ४ का स्थानीयको यही पीडा कम गर्न तारकाङ स्वास्थ्य इकाइ स्थापना गरिएको मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले बताए ।

Advertisement

विभिन्न सहयोगी संस्था तथा चन्दादाताका भरमा तारकाङ स्वास्थ्य इकाइ सञ्चालन गरिएको थियो । पाहार ट्रस्ट नेपालबाट ६० लाख रुपैयाँ, अमेरिका नेपाल मेडिकल फाउन्डेसनबाट करिब ३१ लाख रुपैयाँ, स्थानीयबाट चन्दा संकलन १६ लाख रुपैयाँ गरी १ करोड ७ लाख रुपैयाँमा स्वास्थ्य इकाइ स्थापना भएको थियो ।

आव ०७५÷७६ मा गाउँपालिकाबाट ५ लाख सहयोग उपलब्ध भएको मादी ४ का अध्यक्ष सापकोटाले बताए । उनले भने, ‘अहिले आधारभूत स्वास्थ्य सेवा केन्द्रको काम स्वास्थ्य इकाइकै भवनबाट भए पनि सेवा केन्द्रका लागि सांसद् विकास कोषबाट ३८ लाख प्राप्त भएको छ, यसबाट १ शौचालय र ४ कोठे भवन बन्नेछ ।’ यही आवमा नै भवन बनिसक्ने वडाध्यक्ष सापकोटाको भनाइ छ ।

Advertisement

मादी ४ का अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुमाया पौडेल, गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण सापकोटा जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्य, समाजसेवी बुद्धिसागर सापकोटा लगायतले बोलेका थिए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य शिवप्रसाद सापकोटाले स्वागत गरेका थिए ।

केन्द्र उद्घाटनका अवसरमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । शिविरमा साढे २ सय जनाको स्वास्थ्य जाँच गराए । कोरोना भाइरस सचेतनाका साथै रक्तचाप, मधुमेह, पिसाबमा प्रोटिनको मात्रा लगायत जाँच गरिएको थियो ।

तपाईको प्रतिक्रिया