चिनियाँ नै फर्कन चाहन्नन् चीन

समाधान संवाददाता २०७६ चैत ११ गते ६:३०


ड्यामसाइडस्थित अध्यागमन कार्यालयमा आइतबार दिउँसो भिसा थप्न पुगेका चिनियाँसहितका पर्यटक । तस्बिर : अनुप/समाधान

अनुप पौडेल, पोखरा

ड्यामसाइडस्थित अध्यागमन कार्यालयमा आइतबार यस्ता पर्यटकको भिड थियो, जो आफ्नो देश फर्कनभन्दा यतै बस्न चाहन्छन् । त्यसमा चिनियाँ पनि थिए । ‘नेपाल सुरक्षित छ । यहाँ अधिकांशले मास्क नलगाएको देख्छु,’ नाम नबताउने सर्तमा १ चिनियाँले भने,‘मेरो भिसा बाँकी नै छ, साथीको भिसा सकियो त्यही थप्न आएको हुँ ।’

Advertisement

पोल्यान्डका पावेल र आगा नेपाल आएको १ महिना पुग्नै लाग्यो । १७ (फेब्रुअरी २९) मा नेपाल आएका उनीहरु दुवै आइतबार दिउँसो ड्यामसाइडस्थित अध्यागमन कार्यालयमा भेटिए । हप्ता दिनपछि सकिन लागेको १ महिने भिसाको अवधि थप्न उनीहरु अध्यागमन पुगेका हुन् ।


पावेल र आगा

भेटको सुरुआतमै दुवैले पोल्यान्डमा कोरोना भाइरसको अवस्थाबारे सुनाए । ‘हाम्रो सरकारले सीमा नाका २९ मार्चसम्मका लागि बन्द गरेको छ,’ पावेलले भने । पावेल र आगा दुवैका परिवारका सदस्य पोल्यान्डमा छन् । दुवैलाई स्वदेश फर्कन मन छ तर फर्किने वातावरण छैन । ‘नेपाल अहिलेसम्म कोरोनाबाट सुरक्षित छ भन्ने थाहा छ । त्यसैले हामी यहीँ छौं । स्वदेश फर्कन मन छ तर हामी फर्कने वातावरण छैन,’ पावेलले आगातर्फ हेर्दै भने ।

Advertisement

आगा र पावेल पोखरा आएको १० दिन बितिसक्यो ।दुवै ८ दिन लगाएर एभरेस्ट बेस क्याम्प पुगे । त्यसपछि सिधै पोखरा आएका हुन् । पोखरामा घुम्नलायक सबै ठाउँ घुमेको र अहिले फेवातालको किनार डुलेर अनि माछापुच्छ«े हेरेर दिन बिताउने गरेको आगाले सुनाइन् । यता यस्तो शान्त वातावरण छँदा उता उनीहरुको देश पोल्यान्डमा अहिलेसम्म झन्डै ७ सय नागरिक संक्रमित छन् र ७ जनाको मृत्यु भइसकेको छ ।

आइतबार अध्यागमन कार्यालयमा भेटिइन् बेलायतकी जोसी । २ बच्चा र श्रीमान्सहित ३ हप्ता पहिले नेपाल आएकी उनी पनि यो देश सुरक्षित रहेकाले स्वदेश फर्किने विषयमा अहिले केही नसोचेको बताउँछिन् । १ महिनाका लागि नेपाल आएकी उनले थप १५ दिन नेपाल बस्ने गरी भिसा लिएकी छन् । ४० वर्षकी जोसी भन्छिन्, ‘हामी सिधै बेलायत फर्कन सक्दैनौं । सबै परिवार यतै भएकाले १५दिन थपेका छौं ।’बेलायतमा थुप्रै संक्रमित भइसकेका छन् ।

कोरोना संक्रमण देखिएपछि नेपाल बसाइ लम्ब्याउने पर्यटक बढेको अध्यागमन कार्यालय पोखराले जनाएको छ ।‘कोरोना भाइरसका कारण भिसा थप्ने पर्यटक बढेका हुन् । पछिल्ला दिनमा हामीले सोचेभन्दा बढी चाप देखियो,’ कार्यालयका निमित्त प्रमुख चेतराज आचार्यले भने ।

आइतबारमात्र ९९ जनाले भिसा थपेको उनले जानकारी दिए । त्यसमा १२ चिनियाँ नागरिक छन् । ‘विश्वभर कोरोनाको महामारी छ । अधिकांश देशले सीमा बन्द गरेर सतर्कता अपनाएका छन् । त्यसले गर्दा कति पर्यटक फर्कन पाएनन्,’ उनले भने, ‘भोलि देशको परिस्थिति जेसुकै हुन सक्छ भनेर पर्यटक यहीँ बसे त्यसैले भिसा थप्ने क्रम बढ्यो ।’ भिसा थप्नेमा बेलायत र अस्ट्रेलियामा बस्दै आएका नेपाली पनि छन् ।

भिसा अवधि थप्ने काम सोमबारबाट बन्द भएको अध्यागमन कार्यालयका कर्मचारी पवित्र गिरीले जानकारी दिए । ‘२१ चैत (३ अप्रिल) सम्मलाईभिसा थप्ने काम बन्द भएको छ । ४ अप्रिल शनिबार परेकाले सिधै २३ चैत (५ अप्रिल) मा भिसा थप्ने काम सुरु हुन्छ,’ उनले भने । म्याद सकिएर भिसा अवधि नथपेका पर्यटकलाई जरिवाना नहुने उनले बताए ।

विदेशी पर्यटक नेपाल आउँदा ३ प्रकारको भिसा लिएर आउन पाउँछन् । १५ दिनका लागि ३० अमेरिकी डलर, ३० दिनका लागि ५० अमेरिकी डलर र ९० दिनका लागि १२० अमेरिकी डलर तिर्नुपर्ने निमित्त प्रमुख आचार्यले जानकारी दिए । पर्यटकले १ वर्षमा १५० दिनसम्म नेपाल बस्ने अनुमति लिन पाउँछन् ।‘भिसा अवधि सकिए पछि नेपाल बस्न चाहाने पर्यटकले दिनको ३ डलर बुझाउनुपर्छ । तर १÷२ दिनका लागि भिसा थप्न पाइँदैन,’ उनले भने, ‘करणवश कोही पर्यटकले भिसा थप्न चाहे न्यूनतम १५ दिनको थप्नपर्छ । १५ दिनको ४५ अमेरिकी डलर बुझाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया