पश्चिम नेपालमा डिसिएको ६५ लाखको सहयोग

समाधान संवाददाता २०७७ वैशाख ४ गते १८:३७

 काठमाडौं

डेनमार्कको गैह्रसरकारी संस्था डिसिए नेपालले स्थानीय संस्थाहरुको सहकार्यमा विभिन्न जिल्लामा लगभग ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामग्रीको वितरण गरेको छ ।

हालसम्म कञ्चनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्ला गरी १५६६ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामग्री वितरण गरिसकेको छ । विभिन्न पालिकाहरुको समन्वयमा क्वारेन्टाइनका लागि १४० बेड बनाउन पुग्ने सामग्री, ५७ पिपिई सेट, १२ थर्मल गन, २७१ लिटर ‘स्यानिटाइजर’, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १७६३ स्यानेटरी प्याड, १०६२० सावुन तथा १०० सेट बाल्टिन र जग वितरण गरिसकेको छ ।

Advertisement

यी सबै सामग्री आवश्यकता अनुसार विभिन्न समुदाय, क्वारेन्टाइन सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा पुर्‍याइसकेको पालिकाहरुले जनाएका छन् । “हामीले सरकारले तोकेको एकद्वार प्रणालीमार्फत नै सबै सामग्री पालिकाहरुलाई हस्तान्तरण गरेका हौं,’ डिसिए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण म्यानेजर, दिनेश गुरुङले बताए  । ‘पहिलो चरणमा पालीकाहरुको अनुरोध र माग अनुसार नै सहयोग गरेका छौं,’ उनले भने, ‘थप सहयोग पनि सोही अनुसार गर्ने छौं ।’

डिसिएले थप सहयोगका लागि पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ । “सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने काम गरिरहेको छ । तर यो महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन, त्यसैले हामीले अपिल गरे अनुसारनै उहाँहरुले सहयोग गरिरहनुभएको छ,” दैलेख जिल्लाको आठबिस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले बताए । 

Advertisement

राहत तथा स्वास्थ्य सामग्रीका साथै डिसिएले यिनै जिल्लाहरुमा स्थानीय रेडियो सँग सहकार्य गर्दै साझेदारी नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रशारण गर्दै आएको छ । “यतिबेला घर भित्र बसेका मानिसमा कोरोनाको त्रास छ भने यस सम्बन्धि धेरै जिज्ञासाहरु छन् । त्यस्तै केही त ‘डिप्रेसन’मा गएको अवश्था पनि छ,” गुरुङले थपे “सही सूचनाले विपदको बेला श्रोताहरुको घाउमा औषधीको काम गर्छ भनेरै हामीले यी कार्यक्रमहरु सुरु गरेका छौं ।”

तपाईको प्रतिक्रिया