पोखरा महानगरले वडा वडामा निशुल्क खाना खुवाउने, मेयर भन्छन्– महानगरमा बस्ने कोही भोकै बस्नु पर्नेछैन

समाधान संवाददाता २०७७ वैशाख ५ गते १४:२१

समाधान संवाददाता

लक डाउनका कारण विपन्न र मजदुर वर्ग भोक भोकै बस्नु परेको समाचार आइरहेको बेलामा पोखरामा यसको स्थायी समाधान निकाल्न थालिएको छ ।

अहिलेसम्म राहात समाग्री बाड्दै आएको पोखरा महानगर पालिकाले अबदेखि महानगरका ३३ वटै वडामा निशुल्क खाना खुवाउने व्यवस्था गर्दैछ ।

Advertisement

यसको नेतृत्व सम्बन्धित वडा अध्यक्षले गर्नेछन् । पाउनु पर्नेले राहात नपाएको र हुने खानेले राहात सामाग्री लगेको भन्ने गुनासो आएपछि महानगर आफैले खाना खुवाउने व्यवस्था गर्न थालेको पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।

‘सामान्य दाल, भात र सम्भव भएसम्म एउटा तरकारीको व्यवस्था गर्छौ ।’ मेयर जिसीले भने–पोखरा महानगर भित्र बस्ने कोही मान्छे पनि भोकै बस्नु नपरोस भन्ने हाम्रो चाहाना हो, साँझ र विहान पेट भर्ने व्यवस्था महानगरले गर्छ । यस्तो संकटको बेलामा मिठो नमिठो भन्ने कुरा हुँदैन ।’

Advertisement

मेयर जिसीले सहयोग र दान गर्न चाहाने व्यक्ती वा सस्थालाई सम्बन्धित वडामा खाद्यान्न सामाग्री हस्तान्तरण गर्न पनि आग्रह गरेका छन् । ‘यो संकटको सामना हामी सबै मिलेर गर्ने हो ।’ उनले महानगरबासीलाई आब्हान गरेका छन्–हुनेले दान गर्नु होला, नहुने लाज नमानी आफ्नो घर नजिकैको खाना खाने व्यवस्था गरिएको ठाउमा गएर खानु होला ।

खाना पकाउने प्रत्येक केन्द्रमा आवश्यक खाद्य सामाग्री महानगर पालिका आफैले व्यवस्था गर्दैछ । एउटा वडामा आवश्यकता अनुसार एक वा सो भन्दा धेरै ठाउमा खाना खाने केन्द्र बनाइने मेयर जिसीले बताए ।

अहिले महानगर पालिकाले घर घर मै खाद्य सामाग्री पठाउने कार्य पनि गरिरहेको छ । खाद्यान्न सामाग्री नभएका घरमा पुगेर उनीहरुको वास्तविक अवस्था पत्ता लगाएपछि राहात सामाग्री उपलब्ध गराउन महानगरका कर्मचारी खटिएका छन ।

तपाईको प्रतिक्रिया