अन्ततः अलपत्र परेका मजदुरलाई राहतसहित कार्यथलो फर्काउन सफल भए महेन्द्र

समाधान संवाददाता २०७७ वैशाख ५ गते २२:२७

समाधान संवाददाता

घर फर्किने क्रममा अलपत्र परेका ७ जना मजदुरलाई गण्डकी प्रदेश सरकारले राहतसहित फर्काएको छ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाका स्वकीय सचिव महेन्द्र उपाध्यायको विशेष पहलमा फर्काइएको हो ।

सातै जना पाइपलाइन विस्तारको काममा मादी गाउँपालिका–८ नाघिधारामा खटिएका मजदुर हुन् । उनीहरु मध्ये ५ जना दाङ र २ जना सल्यानका हुन् ।

Advertisement

हिँडरै घर जान कस्सिएका उनीहरुलाई १ महिनालाई पुग्ने खाद्यान्नसहित मादी फर्काइएको उपाध्यायले जानकारी दिए । उनकाअनुसार प्रदेश सरकारले ३५ केजी चामल, १४ किलो दाल, साढे २ लिटर तेल र ७ पोका नुनसहित जीपमा हालेर फर्काएको हो ।

कामको सिलसिलामा १ महिना पहिले कास्की आएका उनीहरु घर फर्कने क्रममा बिहिबार साँझ पोखरा-१७ विरौटामा अलपत्र परेका थिए । मादीबाट हिँडेर ११ घन्टामा विरौटा आइपुगेका थिए ।

Advertisement

डियुटमा खटिएका सुरक्षाकर्मीले अघि बढ्न नदिएपछि सडक छेउमा बसिरहेका मजदुरलाई उपाध्यायले उद्दार गरेका थिए । प्रदेश सांसद थापालेसमेत खानेबस्ने व्यवस्थामा कुनै कमी नराख्न भनेपछि उपाध्यायलाई हौसला थपियो ।

अलपत्र परेका मजदुर

बस्ने व्यवस्था गरिदिन आग्रह गर्दै उनले बिहबिार बेलुका नै पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई फोन गरे । मेयर जिसीले बाहिरबाट आएकालाई कुनै व्यवस्था गर्न नसकिने जवाफ फर्काए ।

उपाय नलागेपछि उनले ड्यामसाइड युवा क्लबका अध्यक्ष पदम ढकालसँग समन्वय गरेर ड्यामसाइडकाे होटल स्पोर्टसमा बस्ने र खाने व्यवस्था गरिदिए । महेन्द्र शुक्रबार बिहानैदेखि सके घर फर्काउने नभए उचित व्यवस्था गर्ने उद्देश्यसहित लागिपरे ।

शुत्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कास्कीका प्रजिअ ज्ञानप्रसाद ढकाललाई सम्पर्क गरे । प्रजिअ ढकालले पास दिन नसकिने सुनाए ।

मख्यमन्त्रीले भने उचित व्यवस्था गर्ने बताए । शुक्रबार दिउँसो मुख्यमन्त्री गुरुङले मादी फर्काउने व्यवस्था गरिदिए । अन्ततः आफ्नो भरोसामा बसेका मजदुरलाई घर फर्काउन नसके पनि राहतको व्यवस्था गर्न महेन्द्र सफल भए ।

‘मेरो नजरमा पो ७ जना पर्नुभयो । देशभर मजदुरी गरेर खाने हजारौं हुनुहुन्छ,’ महेन्द्रले समाधानसँग भने, ‘सबै स्थानीय तहले त्यस्ता वर्गको पहिचान गरेर उचित व्यवस्था गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया