राहत वितरणमा राजनीतिक पूर्वाग्रह भएको कास्की कांग्रेसकाे ठहर

समाधान संवाददाता २०७७ वैशाख १० गते १९:०५
 सांसदलाई राहत वितरणमा रोक लगाउनु निन्दनीय 

पोखरा

नेपाली काँग्रेस कास्कीको विशेष बैठक बुधबार बसेको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापति, जिल्लाका प्रदेशसभा सदस्यसहितको उपस्थितिमा बसेको विशेष बैठकले कोरोना संक्रमणपछिको अवस्था विश्लेषण गर्दै विभिन्न ४ वटा निर्णय गरेको छ ।

कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलका अनुसार बैठकमा एकद्वार प्रणालीका नाममा राज्यद्वारा गरिएको राहतको विभेदकारी वितरणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

Advertisement

लक्षित वर्गसम्म यथोचित रुपमा पुग्न नसकेको राहत वितरणको प्रभावकारी अनुगमन आवश्यक देखिएको जनाएको छ । राहत वितरणमा समेत राजनीतिक पूर्वाग्रह देखाएर पक्षपातपूर्ण व्यवहार गरिएको घटनाहरुले परिस्थितिलाई झन जटिल र गम्भीर बनाउँदै लगेको हुँदा राजनैतिक दल र नागरिक समाजको समसहभागितामा राहत वितरण कार्यलाई अघि बढाउन सम्वन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

बैठकले जननिर्वाचित प्रदेशसभा सदस्य विन्दुकुमार थापाले जनताप्रतिको उत्तरदायित्व वहन गर्दै पोखराका वडाहरुमा राज्यको राहतबाट बञ्चित विपन्न नागरिकलाई राहत वितरण गर्दा स्थानीय जनप्रतिनिधि र प्रशासनले गरेको अवरोधप्रति खेद प्रकट गरेको छ।

Advertisement

जननिर्वाचित प्रतिनिधि व्यक्ति मात्र नभएर संस्था पनि भएकाले राहत वितरण गर्दा उल्टै कारवाहीको माग गर्नु घोर आपत्तीजनक र निन्दनीय भएको बैठकपछि प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

बैठकले कोरोना रोकथाम र नियन्त्रणसँगै अन्य र दीर्घ विरामीहरुको उपचारमा समेत ध्यान दिन आवश्यक रहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।

जटिल अवस्थामा अग्रपक्तिमा रहेर अहोरात्र सेवामा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च रहने गरी प्रोत्साहनका प्याकेज ल्याउन बैठकले माग गरेको प्रवत्ता सिग्देलले बताए ।

बैठकले नेपाली काँग्रेस कास्की मातहतका सबै तहका पार्टी संरचनाहरुलाई नागरिकको दैनिक जीवनका समस्याहरुसँग एकाकार भई समस्या समाधानका लागि क्रियाशील रहन पनि अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया