कृपया भनिदिनुस् प्रधानमन्त्री ज्यू, तपाईंलाई कुन धुन मन पर्छ, म बजाउँछु

समाधान संवाददाता २०७७ वैशाख ११ गते ६:१०

विष्णु गौतम

कम्युनिस्ट व्यवस्था र शासकको बारेमा बोल्ने अधिकार त मलाई नहोला र बोल्ने हैसियत पनि राख्दिन । किन भने मसँग कम्युनिस्ट सिद्धान्तको ज्ञान छ । कम्युनिस्ट पण्डितहरुलाई यो मेरो विचार एक कप चिया वा एक पेग रक्सीको लागि सितन बन्न पनि सक्ला ।

त्यसो त महान कम्युनिस्टको सिद्धान्तमा लेखिरहेका प्रोफेसर र लेखकहरुलाई एक खिली चुरोटका लागि गफ बन्न पनि सक्ला । तर लकडाउनमा दैनिक कोचिइरहँदा मनमा चाहिँदा नचाहिँदा कुुरा सोचिरहँदो रहेछ । त्यसैले एउटै कोठामा बस्दाको साथी भनेकै सामाजिक सञ्जाल र टेलिभिजन हो ।

Advertisement
विष्णु गौतम

हिजोमात्रै भाइरल भएको एउटै शब्दले यो मनोभाव लेख्न प्ररित गरेको हो । गल्ती भए माफी पाउँ, किन भने मेरै भोटका आधारमा तपाँई प्रधानमन्त्री बन्नु भएको हो । र एउटा कुराको ग्यारेन्टी पनि गर्न चाहन्छु कि म सबै कम्युनिस्ट तपाईंजस्ता भएछन् र औला काटिएछ भने पनि म अन्यत्र भोट राख्दिन ।

कर्कस धुन, यही धुन हो जसले रक्सीले टिल्ल मातेपछि आँफू हुन नसकेको महान संगीतकार बनाउन सानो दूधे बालक अस्ट्रेलियन नागरिक लुडविग वैन बिथावेनलाई उनका बाबुले जर्बजस्त संसारकै महान संगीतकार बन्न प्रेरिरत गरे । प्रत्येक दिन साँझ नपर्दै बालक बिथावेन निकै पीडामा हुुन्थे कि कतिवेला बाबु आउँछन् र बिना सुुर र तालमा बाजा बजाउन लगाउँछन् ।

Advertisement

उनकै शव्दमा भन्ने हो भने, ‘यी मेरा लागि संसारकै सबै भन्दा कर्कस र पीडादायी धुनहरु हुन् ।’ यो कुरा जब उनी महान संगीतकारका रुपमा संसारमा प्रशिद्धी कमाए त्यसपछि उनले आफ्नो बायोपिकमा सार्वजनिक गरे । वर्तमान राष्ट्रवादी प्रधानमन्त्रीले केही जनबोलीहरुलाई कर्कस धुनका रुपमा परिभाषित गरेका छन् ।


जनताका पीडाका आवाजलाई कर्कस धुनमा परिवर्तन गर्ने सामथ्र्य संसारका कम्युनिस्ट त के उत्तर कोरियाका नेता तथा सरकार प्रमुख किम जोङ उलसँग पनि छैन ।

हिजो मात्र नेपाल कम्युनिष्ट पार्टीको ७१ औं जन्म जयन्ती मनाइएको छ । एक कम्युनिस्ट भोटरका लागि यो उमंगको कुरा पनि हो । तर यहि दिवसको पूर्वसन्ध्यामा कम्युनिस्ट प्रधानमन्त्रीलेले जनबोलीलाई कर्कस धुनको संज्ञा दिनुलाई आफैले दिएको भोट र कम्युनिस्ट हुने प्रावधानका बारेमा एक पटक सोच्न वाध्य पा¥यो ।

लकडाउनका कारण बाहिर निस्कन नपाउनुको पीडालाई केही क्षण भए पनि मल्हम लगाउन उत्कृष्ट जोक पाएकोमा आफैलाई धन्य मानेको छु । जनताका पीडाका आवाजलाई कर्कस धुनमा परिवर्तन गर्ने सामथ्र्य संसारका कम्युनिस्ट त के उत्तर कोरियाका नेता तथा सरकार प्रमुख किम जोङ उलसँग पनि छैन ।

संसारभर फैलिएको कोभिड महामारीबाट बच्न घोषणा गरिएको लकडाउनले महिनादिन छोइसक्दा खान पाएनौं भन्दा अनि रोकथामका लागि ल्याइएका सामानमा कमिसन नखाऊ जनताको ज्यान भन्दा ठूलो होइन तिमीहरुले खाने कमिसन भनेर आवाज उठाउदा तपाईंलााई कर्कस लाग्यो ?

६८ औं हिउँद पार गरिसक्दा पनि तपाईंलाई लागेको छैन र एक हिउँदले जाडो जादैन भनेर । कहाँ बिर्सेको छु र तपाईंको राष्ट्रवादको शंखघोष । त्यसैको भ्रममा त अहिले दुुई तिहाई आएको । दुई वर्ष पछि त फेरि पनि चुनाव हुन्छ त्यति बेला बोल्ने कुुरा के होला है ?

हरायो वाइडबडी खरिद काण्ड पनि । साथीभाइ मिलेर गरेको यात्रामा वाटो काट्नका लागि गरिएको रमाइलो चुट्किला झैं तपाईले नै सबैको सफाइ दिनुभयो । सबैजना चोखिए, अन्यथा लाग्दैन भने ग्रामीण उखान जस्तै आँफै बोक्सी आफै झाँक्री ।

केही समय अगाडि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तपाईंका प्रियपात्र बालकोट दरबारका सुसारे गोकुल बाँस्कोटाको ७० करोड रुपैयाँ कमिसनको काण्ड कहा पुुग्यो कुन्नि ?

कि पदबाट हट्दैमा त्यो ७० करोड पचिन्छ ? नत्र भने नियत नै खराब राखेर काम गर्नेलाई आफ्नो प्रियपात्र बनाउनुले तपाईंको भ्रष्टाचार विरोधी अभियान अर्को संसारकै उत्कृष्ठ जोक्स होइन र ? अनि तपाईंका मन्त्रीले राष्ट्रसेवक कर्मचारीलाई मु…. भनेर सम्बोधन गर्दा कुनै कार्वाही भएन तर यही लेखेकोमा मलाई कार्वाही हुन पनि सक्छ किन भने तपाईं त यो देशको न्यायाधीश पनि त हो नि हैन र ?

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरण सेलाउन नपाउँदै वालुवाटारको आफै बसेको जग्गा तपाईंकै अर्का प्रिय पात्रले हत्याएको कुरा पनि । नेपाली उखान छ नि ‘मेरो कम्मरको खुकुरी कुन हुुस्सुुले चो¥यो भने झैं।

प्रधानमन्त्री सुत्ने पलङमुनिको जग्गा अर्कैको नाममा हुँदा पनि कानमा तेल हालेर बस्ने । अन्यथा नलागोस् प्रधानमन्त्री ज्यू यो देशमा तपाईंभन्दा हुस्सु अर्को कोही होला र ? यो विषयमा पनि जनता बोले तपाईंलाई कर्कस नै लाग्यो । बरु भन्दिनुुस् न तपाईलाई प्रिय लाग्ने सुमधुर धुन कुन हो म पनि बजाइदिउँला, कम्तीमा तपाईं पोखरा आउँदा पनि नाच्नु होला नि ?

अनि के प्रधानमन्त्री ज्यू त्यो ३३ किलो सुनकाण्डको मुख्य दोषी को हो भन्ने अहिलेसम्म पत्ता लागेन है । सुन काण्डका क्रममा मारिएका ३ जनाको परिवारको रोदन पनि तपाईंलाई कर्कस नै लागेको होला नि है । त्यसो त निर्मला हत्याकाण्ड र वर्तमान राष्ट्रपतिका श्रीमान् जसको जगमा तपाईं भित्ताहरुमै किन नहोस् नयाँ युगको घोषणा गर्नुभयो, उनको हत्यारा कहिले पत्ता लाग्ला है ।

खासमा भन्ने हो भने म नेकपामा भोट हाल्ने भएकै मदन भण्डारी र मनमोहनको सिद्धान्त र जीवनयापन शैलीबाट प्रभावित भएर नै हो । अहिले मैले यो कुुरा गरे भने त झन् ठुूलो कर्कस आवाज निस्कन्छ होला । एक पटक कान जँचाउने हो कि प्रधानमन्त्री ज्यू जनताको आवाज कर्कस किन लागेको होला भनेर ।

एक मतदाताका हिसाबले र आम नागरिकका हिसाबले मलाई राम्रैसँग थाहा छ तपाईं भ्रष्टाचारमा लिप्तहरुलाई कारर्वाही गर्नु हुन्छ तर पनि कानुन नै संशोधन गरी यती होल्डिङलाई सरकारी जग्गा कौडीको भाउमा भाडामा दिनुभयो ।

कानुनै संशोधन गरी यती समूहलाई राज्य कोषमा ५ अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको जग्गा लिजमा दिएको काण्डले मेरै दल नेकपाभित्रै खैलाबैला मच्चियो तर तपाँई टसको मस हुनुभएन । जनताले आवाज उठाए तपाईंले उत्कृष्ठ जोक्स हाल्नुभयो । हामी त्यहि जोक्सलाई आत्मसात गरेर बस्यौं ।

प्रधानमन्त्री ज्यूू तपाईंले कहिल्यै सोच्नु भएको छ, एक अर्ब रुपैयाँमा एकको पछाडि कतिवटा शून्य हुन्छन ? सायद तपाईंले सोच्नु हुदैन किन भने तपाईंले त आफ्नो सवै सम्पत्ति आफ्नो शेषपछि राष्ट्रका नाममा दिनुभएको छ । त्यसैले तपाईंको लागि तपाईं प्रधानमन्त्री हुँदा पाउने तलब र तपाईंको श्रीमतीको ३३ वर्षको जागिरे कमाइनै पर्याप्त हुन्छ ।

तपाईंको कमजोरीलाई तपाईंका वरिपरि रहने चण्ड र मुण्डहरुको झुण्डले राम्ररी बुुझेका छन् त्यसैले तपाईंलाई मनपर्ने धुन बजाइदिए तपाईं त्यसैमा नाच्दै मख्ख पर्नु भयो ।

तपाईको प्रतिक्रिया