विपद्मा भोका छैनन् न्यूजिल्यान्डका नेपाली विद्यार्थी

पोखरा
बन्दाबन्दीको असर सबैभन्दा बढी भर्खरै नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुमा देखिएको छ । जनवरी देखि अप्रिलसम्म नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु सबैभन्दा बढि समस्यामा परेका छन् । उनीहरुले अहिलेसम्म कुनै काम पाएका छैनन् । कलेज बन्द छ । र, नेपालबाट बोकेर गएको केही रकम सकिइसकेको छ ।
नेपाली विद्यार्थीहरुको यस्तै पीर मर्कालाई बुझ्दै न्यूजिल्यान्ड एनआरएनए र केही नेपाली संघसंस्थाहरुले सहयोग गरेका छन् । लकडाउनका कारण खान र बस्नका लागि समस्यामा रहेका नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्डका नेपाली संघसंस्थाहरुले खाद्यान्न र आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
न्यूजिल्याण्डमा रहेका पत्रकार भुपालकुमार गुरुङका अनुसार एनआएरएनए न्यूजिल्याण्डले पहिलो चरणमा त्यहाँका १ सय ९० जना विद्यार्थीहरुलाई आर्थिक सहयोग उपलब्ध गराईसकेको छ ।
लकडाउन लगत्तै विद्यार्थीलाई समस्या पर्ने देखेपछि न्यूजिल्याण्डको एनआएरएनएले अत्याधिक समस्यामा रहेका विद्यार्थीहरुको सूची उठाउन शुरु गरेको थियो । सँगसँगै नेपाली समुदायका मानिसहरुसँग संस्थाले आर्थिक सहयोग संकलन पनि गरेको थियो । र,पहिलो चरणमा संस्थाले ३१ हजार ६ सय ७ न्यूजिल्याण्ड डलर संकलन पनि गरिसकेको छ । त्यो मध्ये २५ हजार ६ सय ५० न्यूजिल्याण्ड डलर संस्थाले सहयोग गरिसकेको छ । पहिलो चरणमा २ सय ३३ जना विद्यार्थीहरुले एनआएरएनए न्यूजिल्याण्डले आह्वान गरेको सहयोग फर्ममा आफ्नो नाम दर्ता गराएका थिए । यद्यपि संस्थाले २ सय ६ जना विशेष समस्यामा रहेका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराउने भएको एनआएरएनए न्यूजिल्याण्डका अध्यक्ष लाल केसीले बताए ।
केही विद्यार्थीहरुको बैंक अकाउन्ट पनि नबनिसकेको अवस्थामा उनीहरुलाई रकम सहयोग गर्न नसकिएको केसीले जानकारी दिएका छन् । संस्थाले जनवरीदेखि अप्रिलसम्म अध्ययनका लागि न्यूजिल्याण्ड आईपुगेका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराएको थियो । संस्थाले त्यहाँको सरकारसँग पनि सहयोगको लागि अपील गरेकोमा चाँडै केही रकम निकाशा हुने र त्यसलाई पनि आवश्यकताअनुसार नेपाली समुदायमा वितरण गरिने जनाएको छ ।
त्यस्तै न्यूजिल्याण्डमै रहेको नेपालीहरुको संस्था ‘न्यूजिल्याण्ड नेपाल सोसाइटी इनकर्पोरेट’ले पनि समस्यामा रहेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष दिनेश खड्काले हालसम्म २ सय ६१ जना विद्यार्थीहरुलाई संस्थाले खाद्यान्न उपलब्ध गराईसकेको जानकारी दिए । संस्थाको नेतृत्वमा भएको खाद्यान्न वितरणमा त्यहाँकै चक्रप्रशंसा योग सेवा र सुप्रिम शिख सोसाइटीले पनि विशेष सहयोग गरेका थिए ।
त्यसैगरि ‘नेप्लिज एशोसियसन इन बे अफ प्लेन्टी’ ले पनि हालसम्म १ सय १५ जना नेपाली विद्यार्थीहरुलाई खाद्यान्न उपलब्ध गराएको छ । न्यूजिल्याण्डमा नेपाली विद्यार्थीहरुलाई खाद्यान्न सहयोग प्रदान गर्ने यही संस्था हो । संस्थाले न्यूजिल्याण्डका तौरंगा, टिपुके, रोटोरोवा लगाएतका शहरहरुमा रहेका विद्यार्थीहरुलाई खाद्यान्न उपलब्ध गराएको अध्यक्ष पवन पौडेलले जानकारी दिए । टोयोहोमाइ यूनिभर्सिटी र एस्पायर टु कलेजका विद्यार्थीहरु यसबाट सबैभन्दा बढि लाभान्वित भए ।
पत्रकार समेत रहेका भुपालकुमार गुरुङ यसै संस्थाका कार्यकारी सदस्य समेत हुन् । उनीसँगै संस्थाका उपाध्यक्ष टकबहादुर गुरुङको विशेष सक्रियतामा त्यहाँका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराईएको थियो ।
त्यस्तै न्यूजिल्याण्डकै अर्को संस्था नेपाल न्यूजिल्याण्ड फ्रेन्डशिप सोसाइटी अफ क्यान्टरबरीले ३५ जना नेपालीहरुलाई करिब डेढ महिनासम्म पुग्ने खाद्यान्न वितरण गरेको छ । संस्थाका अध्यक्ष भुवनेश्वर ढकालका अनुसार विद्यार्थीसँगै लकडाउनका कारण बेरोजगार बन्नु परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराईएको हो । र, संस्थाले अझै आफ्नो सहयोगी हातहरु अगाडि बढाईरहने उनले बताएका छन् । ‘यो शुरुवात मात्र हो । हामीले समस्यामा रहेका नेपाली समुदायका विद्यार्थीसँगै अन्य व्यक्तिहरुलाई पनि सहयोग उपलब्ध गराउनेछौँ ।’ ढकालले भने ।
लिंकन, पोलिटेक, क्यान्टबरी, एस्पायर टु लगाएतका कलेज तथा यूनिभर्सिटीका विद्यार्थीहरुलाई संस्थाले खाद्यान्न उपलब्ध गराएको थियो । त्यस्तै साउथल्याण्ड नेप्लिज सोसाइटीले विद्यार्थीहरुलाई खाद्यान्न सँगै घरभाडाका लागि आवश्यक केही नगद रकम पनि उपलब्ध गराएको छ। संस्थाका अध्यक्ष इन्द्र सुनारका अनुसार संस्थाले हालसम्म २ जनालाई खाद्यान्न सहित १ सय डलर बराबरको भौचर उपलब्ध गराइसकेको छ । र, आगामी दिनमा पनि संस्थाले सहयोग उपलब्ध गराउने उनले बताए । दुनेदिन नेप्लिज सोसाइटीले पनि यस्तै सहयोग विद्यार्थीहरुलाई दिएको छ । उसले ५० डलर बराबर नगद र केही खाद्यान्न विद्यार्थीहरुलाई दिएको छ । अध्यक्ष मान तामाङका अनुसार हालसम्म ५ जनालाई यसरी सहयोग उपलब्ध गराईएको छ ।
नेपाल न्यूजिल्याण्ड वाइकाटो सोसाइटीले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै ३ हजार डलर बराबरको सहयोग गरिसकेको छ । सोसाइटीले त्यहाँ अध्ययनका लागि पुगेका ३० जना विद्यार्थीलाई सहयोग उपलब्ध गराईसकेको कोषाध्यक्ष अनामिका ओलीले जानकारी दिईन् ।
न्यूजिल्याण्डमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुलाई त्यहाँको सरकारले पनि राहतका लागि केही नगद प्रदान गरेको थियो । प्रति संस्था न्यूजिल्याण्ड सरकारले ५ हजार डलर उपलब्ध गराएको थियो । नेपाली संघसंस्थाहरुले सरकारले दिएको सोही रकम र आफ्नो तवरबाट पनि केही रकम संकलन गरि समस्यामा रहेका नेपालीहरुलाई सहयोग उपलब्ध गराएका हुन् ।
विपद्को बेलामा नेपालीहरुबाटै सहयोग पाएपछि भर्खरै त्यहाँ पुगेका विद्यार्थीहरुले धन्यबाद ज्ञापन गरेका छन् । विपद्मा एक नेपालीले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने ज्ञान आफूहरुले पाएको उनीहरुले बताए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया