राहत लिन लाइन बस्ने ‘गरिब पोखरेली’ खाना बाँड्दा कहाँ हराए ?

समाधान संवाददाता २०७७ वैशाख १२ गते १७:३३

अनुप पौडेल, पोखरा

लकडाउनले कोही पनि भोकै बस्न नपरोस् भन्ने हेतुले पोखरा महानगरपालिकाले राहत दिने घोषणा गर्‍यो । लकडाउनको हप्ता दिन नपुग्दै अतिविपन्न र ज्यालादारी गर्ने परिवारलाई राहत दिने भनेपछि महानगरले राम्रै चर्चा बटुल्यो ।

राहत दिने भनिरहँदा फारम भर्न अनेकथरी कागजात चाहिने भनेपछि आलोचना सुरु भयो । चर्को आलोचना पछि परिचय खुल्ने कागजात भए पुग्ने भनेर भनियो । ३३ वटै वडा कार्यालय राहत लक्षित वर्गको खोजीमा लागे ।

Advertisement

राहत आवश्यक नभएका कति पोखरली लाज पचाएरै फारम भर्न लाइनमा बसे । हुनेखाने पनि लाइनमा बसेको देख्दा जनप्रतिनिधि चकित परे । अधिकांश वडामा सोचेभन्दा बढीले फारम भरे ।

फारम भरेकामध्ये वास्तविक पीडितको पहिचान थालियो । जेनतेन वडा कार्यालयले सबै विवरण महानगरलाई बुझाए । यही बीचमा महानगरले स्थापना गरेको कोरोना रोकथाम कोषमा ४ करोड ७ लाख बढी रकम जम्मा भएको छ । कोषमा रकम जम्मा गर्ने क्रम चलिरहँदा बिहिबारसम्म महानगरभित्रका साढे ३० हजार जनालाई राहत वितरण गरिएको छ ।

Advertisement

महानगरले ३ जनासम्मको र ३ जनाभन्दा बढी सदस्य भएको गरेर २० हजार ६ सय ५२ परिवारलाई राहत बाँडेको नगरप्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार त्यसमा ३ जनासम्म सदस्य भएको परिवार ९ हजार ८ सय १९ र ३ भन्दा बढी सदस्य भएका परिवारको संख्या १० हजार ८ सय ३३ छ । बाँकी ९ हजार ८ सय परिवारलाई महानगरसँग समन्वय गरेर विभिन्न संघसंस्थाले राहत बाँडेका हुन् । अहिले महानगरसँग समन्वय गरेर पोखराका ४ संघसंस्थाले खाना खुवाइरहेका छन् ।

यसबाट अहिले दैनिक २ हजार जनालाई तयारी खाना हातहातमै पुर्‍याइएको छ । पौरखी स्वयंसेवी समूह, लेखनाथ उद्योग वाणिज्य संघ, याक तिबेतियन रेस्टुरेन्ट र नदीपुर युनाइटेड क्लबले महानगरसँग समन्वय गरेर अतिविपन्न र दैनिक ज्यालादारी गर्ने परिवारलाई खाना उपलब्ध गराएका छन् ।

यी समूहलाई वडा कार्यालयले खानाका लागि सम्पर्कमा आएकाको विवरण बुझाउँछन् । महानगरले गर्नुपर्ने काम अन्य संघसंस्थाले गरिरहँदा खाना खुवाउँदाको आर्थिक भार कसले व्यहोर्ने भन्ने थाहा छैन ।

खाना खुवाइरहेका संस्था महानगरले सहयोग गर्छ भन्ने आशमा छन् । पोखरामा भोकालाई खाना खुवाउने अभियानको थालनी गरेको पौरखी स्वयंसेवी समूहका अभियन्ता प्रजापति अधिकारी महानगरले आश्वासन दिएपनि अहिलेसम्म आर्थिक सहयोग नगरेको बताउँछन् ।

‘महानगरले अनुमति दिनुभएको छ र अरु सहयोग गर्न परे गर्छौं भन्नुभएको छ,’ उनी भन्छन्, ‘तर अहिलेसम्म आर्थिक सहयोग आएको छैन । आश्वासन दिनुभएको छ ।’

वितरणका लागि तयार पारिएको खाना ।

पोखरा शान्तिनगर बैंक्युटका सञ्चालक रहेका उनले कर्मचारीलाई न्यूनतम ज्यालामा काममा खटाएका छन् ।अहिले बिहान÷बेलुका गरेर दैनिक १३ सय जनालाई खाना खुवाइरहेको उनले बताए ।खाना खुवाउँदा लागेको खर्च अभियान सकिएपछि सार्वजनिक गर्ने समूहले जनाएको छ ।

महानगरले भने संकटमा सहयोगीको भूमिका खेलेका सबै संस्थालाई सहयोग गर्ने बताएको छ । ‘उहाँहरुले अनुमति लिएर आ–आफ्नै तरिकाले पकाएर खुवाइरहनु भएको छ,’ महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘उहाँहरुले सहयोगबाट जति सक्नुहुन्छ त्यति गर्नुहुन्छ नसके महानगरले हेर्छ ।’

महानगरले ३० हजारभन्दा बढीलाई राहत वितरण गरिसक्दा १ हप्तामा बिहान÷बेलुका गरेर झन्डै १० हजारले तयारी खाना पाएका छन् । दिनमा २ हजार प्याकेट खाना वितरण भइरहेकोमेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना बताउँछन् ।

महानगरले वितरण गरेको राहत लिन पुग्दाजस्तो भिड प्याकेट खानामा देखिँदैन ।वडा कार्यालयसँग समन्वय गरेर प्याकेट खाना खाइरहेका सबै राहतमा छुटेकाहरु रहेको प्रवक्ता नेपालीको भनाइ छ । ‘जो खानाका लागि आउनुभएको छ उहाँहरु राहत पाउने होइनन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया