मुस्ताङमा अब उच्च गतिको इन्टरनेट

समाधान संवाददाता २०७७ वैशाख १५ गते २०:४८

एसके थकाली, जोमसोम

Advertisement

मुस्ताङको सदरमुकाम जामसोममा उच्च गतिको फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याइने भएको छ । नेपाल टेलिकम बागलुङ कार्यालयको समन्वयमा टेलिकम जोमसोम शाखाले घरघरमा उक्त सेवा पुर्‍याउन लागेको हो ।

विश्वव्यापी माहामारीको रुपमा उत्पन्न नोबाेल कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लक डाउन अवस्थामा समेत टेलिकम जोमसोम शाखाले फाइबर विस्तार गर्न लागेको शाखा प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

Advertisement

महत्वपूर्ण धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले यहाँको उच्च गतिको इन्टरनेट आवश्यकतालाई परिपूर्ति गर्न फाइबर विस्तारको प्राविधिक कार्य भइरहेको शाखा प्रमुख श्रेष्ठले बताए ।

फाइबर विस्तारपछि उपभोक्ताले उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न पाउने टेलिकम बागलुङ कार्यालय प्रमुख एवं वरिष्ठ ‍इन्जिनियर केशव शर्माले जानकारी दिए । विस्तारित एउटै फाइबर नेटमा भ्वाइस टेलिफोन, इन्टरनेट, टेलिभिजन र इन्टर एक्टिभ लगायत सेवा उपलब्ध हुने वरिष्ठ इन्जिनियर शर्माले बताए ।

यसअघिको तामाको तारबाट उपलब्ध सेवालाई विस्थापित गर्ने गरी टेलिकमले सिसा जडित अफ्टिकल फाइबर ल्याउन खोजेको उनले बताए । साविकमा ५ एमबिपिएस स्पीड सेवा दिइँदै आईरहेकोमा फाईबर बिस्तारपछि उपभोक्ताले ८ एमबिपिएस देखि ५५ एमबिपिएस स्पीड सम्मको आवश्यकता अनुसारको प्याकेज स्पीडको सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

धौलागिरी अञ्चलको बाग्लुङ, पर्वत र म्याग्दीको सदरमुकाममा सञ्चालनमा आइसकेको फाइबर नेट विस्तार जेठको दोश्रो साता जोमसोममा सञ्चालन गर्ने टेलिकमको लक्ष्य रहेको वरिष्ठ इन्जिनियर शर्माले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा मुस्ताङको जोमसोम र ठिनीमा सञ्चालनमा ल्याइने छ भने दोश्रो चरणमा मार्फा र स्याङमा ल्याउने योजना रहेको उनले बताए । फाइबर विस्तारपछि ग्राहकले साविककै मूल्यमा तेब्बर गतिको इन्टरनेट उपयोग गर्न सक्ने टेलिकमको दाबी छ ।

टेलिकमले फाइबरको डिभाइस र तार समेत निशुल्क उपलब्ध गराउने जनाएको छ । टेलिकम बागलुङले मुस्ताङका ५ वटै पालिकामा फाइबर नेट विस्तार गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया