कास्कीकाे रुपामा बिउ वितरणसँगै स्वास्थ्य परीक्षण

समाधान संवाददाता २०७७ वैशाख १८ गते १४:४९

हरि बाँस्तोला, पाेखरा

‘तरकारी किनेर होइन टिपेर खानुपर्छ’ भन्ने लक्ष्यका साथ यहाँको रुपा गाउँपालिकाले प्रत्येक घरपरिवारलाई तरकारीको बीउ निःशुल्क वितरण गरेको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा सामाजिक दूरी कायम गर्दै तरकारी खेतीप्रति प्रेरित गर्ने उद्देश्यले सो गाउँपालिकाले तरकारीको बीउ निःशुल्क वितरण गरेको हो । गाउँपालिकामा रहेका कुल चार हजार ५०० घरपरिवारलाई विभिन्न जातका रु नौ लाख मूल्यबराबरका तरकारीका बीउ निःशुल्क वितरणसँगै प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक घरलाई कम्तीमा ४० वटा बिरुवा उत्पादन हुने गरी घिरौँला, काँक्रो, रामतोरिया, लौका, करेला, सिमी, बोडी, चिचिन्ना, रायोसागलगायत विभिन्न जातका तरकारीका बीउ वितरण गरिएको हो । “बारी बाँझो राख्ने, तरकारी किनेर खाने संस्कारको अन्त्य गरी बारीमै अग्र्यानिक तरकारी उत्पादन गरेर खानुपर्छ”,उहाँले भन्नुभयो, “त्यसबाट आफ्नै मेहनतले फलाएको ताजा तरकारी खानुका साथै आर्थिकसमेत बचत हुने गाउँपालिकाले पूर्ण विश्वास लिएको छ ।”

Advertisement

गाउँपालिकाले व्यावसायिक कृषिका लागि सातवटै वडामा पाँच।पाँचवटा तरकारीका टनेल निर्माणमा सहयोग गरेको बताउँदै अध्यक्ष ओझाले भन्नुभयो, “टनेलमा बेमौसमी तरकारी उत्पादन भई कृषकले उपभोग गर्नाका साथै बाँकी रहेको पोखरा बजारमा बिक्री गरेर आयआर्जन गर्न थालेका छन् ।” पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको ३५ वटा टनेलमा कुल रु ११ लाख लगानी भएको बताउँदै अध्यक्ष ओझाले पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन कार्यक्रमअन्तर्गत धान, केरा र मौरी पकेट क्षेत्र घोषणा गरी लगभग रु ३५ लाख लगानी भएको बताउनुभयो ।

तरकारी खेतीका लागि गाउँपालिकाले बीउसँगै प्राविधिक सहयोग, आवश्यक ज्ञानका लागि तालिमसमेत प्रदान गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तरकारी खेतीमा देखिने समस्या समाधानका लागि एक अनुगमन समितिसमेत गठन गरिएको छ ।” वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको अनुगमन समितिमा वडासदस्य र सम्बन्धित वडासचिवको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवं स्थानीय बासिन्दा कालीदास सुवेदीका अनुसार गाउँपालिकाले वितरण गरेको तरकारीको बीउ उम्रेका छन् यसले गाउँवासीलाई केही गर्नुपर्छ भन्ने धारणा विकसित गरेको छ ।

स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहितको टोली प्रत्येक घरमा पुगेर थर्मलगनले ज्वरो मापनसहित बीउ वितरण गरिएको बताउँदै उहाँले भन्नुभयो, “बीउ वितरणसहित स्वास्थ्य परीक्षणले महामारीका रुपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाममा समेत टेवा पुगेको छ ।” उहाँका अनुसार “तरकारीको बीउ वितरणसँगै गाउँमा तरकारी खेती गर्ने लहर नै चलेको छ ।”

यतिखेर विदेश तथा शहरबाट गाउँ फर्केका स्थानीय बासिन्दा तथा भाडामा बस्ने मानिससमेत उत्पादनसँग जोडिन थाल्नुभएको छ । सो गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण पैmलिन नदिन बाहिरबाट गाउँ प्रवेश गर्ने जोकोहीलाई पनि निषेध गरेको छ । गाउँ प्रवेश गर्ने मुख्य नाकामा सुरक्षाकर्मी र कोरोना स्वयंसेवकसहितको टोली चौबीसै घण्टा खटिएका छन् । रासस

तपाईको प्रतिक्रिया