लकडाउनका बेला पत्रकारकाे क्षमता बढाउँदै महासंघ कास्की

समाधान संवाददाता २०७७ वैशाख २८ गते १९:३४

जमुना वर्षा शर्मा

बन्दाबन्दीको सदुपयोगसहित पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कास्कीले नियमित सञ्चार सम्बन्धित डिजिटल ओरेन्टेशनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

असहज परिस्थितिमा कसरी पत्रकारिता गर्ने भन्ने विषयमा विषयगत विज्ञको भर्चुअल उपस्थितिमा ८ आठौं शृ‌ंखला सम्पन्न भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले कोरोना त्रासमा कसरी समाचार संकलन गर्ने तथा कुनकुन विषयमा ध्यान दिने भन्ने विषयमा वैकल्पिक अवस्थाको खोजी गरेर पत्रकारलाई डिजिटल ओरेन्टेशन सञ्चालन गरिएको बताए ।

Advertisement

श्रेष्ठले भने, “हामीले वैशाख २२ गते (मे ३ ) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरबाट अनलाइन ओरेन्टेसन थालेका हौ‌ं, पहिलो दिन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्षले गोविन्द आचार्यबाट ‘कोरोना सङ्क्रमण र हाम्रो चुनौती’ विषयमा भर्चुअल ओरेन्टेशन भयो, त्यसयता आठौंं शृंखला सम्पन्न भइसकेका छन् ।”

श्रेष्ठले बन्दाबन्दीको समयभरि पत्रकारितासम्बन्धी सम्पूर्ण विषयको खोजी गर्दै विषय विज्ञबाट अन्तरक्रियात्मक रुपमा ओरेन्टेसन सञ्चालन गरिँदै आएको बताए । “लकडाउनभरि र पछि ः हाम्रो जिम्मेवारी र पत्रकारिता” मा पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, “फेक न्यूज र त्यसले पार्ने दुष्प्रभावबाट बच्ने उपाय” का बारेमा माइसंसार डटकमका सम्पादक उमेश श्रेष्ठ, “अनलाइन जर्नालिज्म र अबको जिम्मेवारी” मा सेतोपाटीका सम्पादक अमित ढकाल, “विपद्मा मिडियाको भूमिका र पत्रकार सुरक्षाको सवाल” मा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, “फोटो जर्नालिज्ममा न्यूज एंगल र आचारसंहिता” मा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आले तथा “टिभी जर्नालिज्म न्यूज एंगल र जोखिम व्यवस्थापनको उपाय” विषयमा नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष लक्ष्मण उप्रेती स्रोत व्यक्तिका रुपमा थिए । शृंखलाको आठाैं दिन आइतबार सञ्चारिका समूह नेपालका पूर्वअध्यक्ष बबिता बस्नेतले “लकडाउन, महिला मुद्दा र हाम्रो रिर्पोटिङ्ग” विषयमा सहजीकरण गरेकी थिइन् ।

Advertisement

अध्यक्ष श्रेष्ठले हरेक दिन ४० देखि ५० पत्रकार डिजिटल ओरेन्टेशनमा सहभागी हुने गरेको बताए । उनले बन्दाबन्दीको समयभरि हरेक दिन बिहान ११ बजे शुरु भई करीब डेढ घण्टासम्म डिजिटल अन्तरक्रियात्मक सहभागिता हुने जानकारी दिए । उनका अनुसार शृंखलाको नवौं दिन साेमबार मिडियामा कोरोना कहर विषयमा मिडिया अध्येता शेखर पराजुली स्रोत व्यक्तिका रुपमा रहने छन् ।

तपाईको प्रतिक्रिया