मुस्ताङमा लाेडसेडिङ घटाउने सहमति

समाधान संवाददाता २०७७ वैशाख २८ गते २०:०६

एसके थकाली, जोमसोम

लामो समयदेखि मुस्ताङीले भोग्दै आइरहेको चरम लोडसेडिङ समय घटाउन सरोकारवालाबीच सहमति जुटेको छ ।

जिल्ला समन्वय समिति मुस्ताङमा भएको सरोकारवाला निकाय सम्मिलित वार्तामा लोड सेडिङ घटाउन थापाखोला हाइड्रो पावर र तातोपानी विद्युत वितरण केन्द्रले सहमति जनाएका हुन् ।

Advertisement

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीको रोहबरमा बसेको उक्त बैठकमा म्याग्दीको तातोपानी विद्युत वितरण केन्द्र र मुस्ताङको थासाङ–१ टुकुचेस्थित थापाखोला हाइड्रो पावरका प्रतिनिधिले उपस्थिति जनाएका थिए ।

बैठकमा स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र विद्युतसँग सम्वन्धित सरोकारवालाबीच बिजुली आपूर्ति समस्या समाधान गर्ने गर्ने बारेमा सहमति बनेको जिल्ला समन्वय अधिकारी पुष्प कटुवालले जानकारी दिए ।

Advertisement

सहमतिमा म्याग्दीको तातोपानीदेखि मुस्ताङ जिल्लाको प्रशारण लाइनमा विद्युत आपूर्ति सहज गर्ने सम्वन्धमा राष्ट्रिय ग्रिडबाट २ घन्टा भन्दा बढी विद्युत आपूर्ति नभएको खण्डमा स्थानीय थापाखोला हाइड्रो पावरले जिल्लामा विद्युत आपूर्ति नियमित गर्ने सहमति भएको छ।

बैठकमा यसअघि विद्युत आपूर्ति सहज पार्ने विषयमा भए गरेका कार्यको समीक्षा भएको जिसस अधिकारी कटुवालले बताए । बैठकमा नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रतिनिधि शिव पुरी र थापाखोला हाइड्रो पावरका प्रतिनिधि सुदिप भण्डारीले मुस्ताङमा लोड सेडिङ घटाउन सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

जिल्लामा चरम लोड सेडिङको भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको टोली थापाखोला हाइड्रो पुगेका थिए । मुस्ताङमा राष्ट्रिय प्रशारण लाईन थासाङ–२ कोवाङ सम्म छ । कोवाङदेखि मुस्ताङको उत्तरी भेकमा स्थानीय निजी संस्थाले विद्युत वितरणको जिम्मा लिएको हो ।

स्थानीय चोखोपानी साना जलबिद्युतको उत्पादन न्युन भएको र थापाखोला हाइड्रो पावरको उत्पादन प्राधिकरणलाई बिक्री भइसकेको छ । पर्वतको मिलनचोकबाट प्रशारण भरहेको केन्द्रिय लाईनको सफ्ट्वेरमा प्राविधिक समस्या आरहने भएकाले मुस्ताङमा विद्युत आपूर्ति नियमित हुन नसकेको थापाखोला हाईड्रोका प्रतिनिधि सुदिप भण्डारीले बताए ।

देशैभर कोरोना कहरले उद्योग, कलकारखाना, होटल लगायत सबै बन्द भई विद्युत खपत न्यून भएको अवस्थामा पनि मुस्ताङमा लोड सेटिङ हुनु दुरभाग्यपूर्ण भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

मुस्ताङमा पिक समयमा पनि ८ सय केबिए विद्युत भए पुग्नेमा लक डाउनमा स्थानीयले दैनिक १६ घण्टा बढी लोड सेडिङ खेप्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया