पोखरामा रगतको अभाव छैन

समाधान संवाददाता २०७७ जेठ ३ गते १५:५२

कास्की

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा रगतको अभाव हुन नदिन पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

अत्यावश्यक रगत अभावमा बिरामीलाई उपचारबाट वञ्चित हुन नदिने उद्देश्यले २७औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउण्डेशन पोखरा–५ ले आज आयोजना गरेको सो कार्यक्रममा ६६ युनिट संकलन भएको छ ।

Advertisement

लकडाउनका कारण रक्तदानका कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगत अभावको अवस्था आउन सक्ने र सुत्केरी महिला तथा डायलाइसिसका बिरामी प्रभावित हुन सक्ने अवस्थालाई ध्यान दिएर रक्तसञ्चार केन्द्रको प्राविधिक समन्वयमा सामाजिक दूरी कायम गरेर कार्यक्रम गरिएको फाउण्डेशनका सचिव वसन्तराज गौतमले बताउनुभयो ।

त्यसैगरी शुक्रबार पोखरा महानगरपालिका–१३ आर्वामा अवस्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत सङ्कलन भएको थियो । गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने भएकाले यहाँ दैनिक ७० युनिट रगतको माग रहने जनाइएको छ ।

Advertisement

बन्दाबन्दी शुरुआतमा केही दिन रगत अभाव रहे पनि त्यसपछिका दिनमा प्रशासनसँगको अनुमतिमा आवश्यक सुरक्षाका उपाय अवलबम्न गरी कार्यक्रम आयोजना गरिएकाले रगत अभाव नभएको रक्तसञ्चार केन्द्रमा प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । कोरोनाको त्रासले विभिन्न सङ्घसंस्थाको वार्षिक कार्यक्रम स्थगित गरे पनि हाल आवश्यकता हेरेर रक्तदान भइरहेकाले सहजरुपमा मागको पूर्ति हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

यहाँ रगत पर्याप्त रहेपछि अभाव भएका देशका अन्य ठाउँमा समेत पठाउने गरिएको बताइन्छ । यसअघि काठमाडौँमा अभाव भएपछि १३० युनिट पठाइएको थियो । रासस

तपाईको प्रतिक्रिया