भर्जिन गाउँ कोल्मा बहाकोटमा अक्षरयात्री

समाधान संवाददाता २०७५ माघ २१ गते १४:१९

समाधान संवाददाता
पोखरा

म होबीर आले
मैले नै प्रहार गरेको हुँ
घोडामा सवार बडाहाकिमलाई
त्यो बेला बडाहाकिमको बाक्लो जुँगा मुन्तिर सुनिन्थ्यो
क्रुर शासनको डरलाग्दो गर्जन
डरमा थरथर काँप्थ्यो–म बाँचिआएको समय

कवि विकास रोकामगर कोल्मा बहाकोट पुगेपछि, होबीर आलेलाई सम्झिँदै गाउँको कविता लेखे । होबीर आले जसले राणा शासनका विरुद्ध त्यहाँका वडाहामिकलाई घोडाबाट लडाएका थिए । २००७ सालभन्दा अगाडि नै उनले नुवाकोटका बडाहाकिम कोल्मा बराहचौर पुग्दा होबीरले बिद्रोह गरेका थिए ।

Advertisement

होवीर आलेहरुको गाउँ रित्तिदै गएपछि अहिलेको कोल्मा पहिलेजस्तो छैन । गाउँ रित्तिएका छन्, खेतबारी बाँझा छन् । गाउँका अधिकांश हङकङ र बेलायततिर छन् । यतै भएका अधिकांश पोखरातिर छन् । अहिले सुनसान बन्दै गएको गाउँलाई गुल्जार बनाउन गाउँलेहरु कस्सिएका छन् । त्यही मेसोमा कोल्मा बहाकोट सम्पर्क मञ्चको निम्तो लिएर पोखरादेखि १ हुल अक्षरयात्री कोल्मा पुगे । पोखरादेखि गाउँ पुगेका अक्षरयात्रीलाई ७ सय कोल्माभित्र पर्ने राइपुर, पोखरीछाप र कोल्माकोटसम्म पुगे ।

अक्षरयात्रीले गाउँको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक पक्षलाई कवितामा उतारे । गाउँ फर्किएर क्रियाशील भइरहेकाहरुमा ऊर्जा थपे । गाउँमा जागरण ल्याउन कस्सिएका सम्पर्क मञ्चका अध्यक्ष भूतपूर्व भारतीय सेना जीतबहादुर गुरुङ, मिलिनियम ट्रेकका अध्यक्ष नवीन गुरुङ, एनआरएन युकेका युवा संयोजक लालबहादुरलाई प्रोत्साहन गर्दै कविहरुले कलम चलाए । कवि कपिल शर्माले जीतबहादुरहरुको समपर्णमा यसरी कविता लेखे ।

Advertisement

अचेल उसको जिन्दगीमा
सपना देख्ने फुर्सद छैन !
उस्लाई थाहा छ
अक्सर रातका सपनाहरु
बिहान भालेको डाक सँगै
टुट्ने गर्छन्

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नेतृत्वमा अक्षरयात्री यसपटक कोल्मा बहाकोट पुगेका थिए । २ संस्थाले चलाउँदै आएको अक्षरयात्राको यो शृंखला १ सय ६२ औं हो । ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात गर्दै प्रत्येक महिनाको तेस्रो शनिबार पोखरादेखि यो अभियान चल्दै आएको ।

कोल्मा बहाकोटमा माघ २६ गते हुन लागेको क्रस कन्ट्री डौड प्रतियोगिताको पूर्व सन्ध्यामा कोल्मा पुगेका अक्षरयात्रीले गाउँको हिजोको अवस्था, सम्भावना र ऐतिहासिक पक्षलाई सिर्जनामा उतारेका थिए ।

प्रचार भए था–पाउने थिए देश र विदेशमा
मिलेर गरौँ बढाई सबले आ–आफ्ना छिमेकमा

कवि शिव संकल्पले यी हरफमार्फत गाउँमा पर्यटक पुर्‍याउन आह्वान गर्दै कविता लेखे । अक्षरयात्रामा २० जना कवि पुगेका थिए । सात कोल्माबहाकोट पर्यटक जानै पर्ने एउटा भर्जिन गाउँको रुपमा अक्षरयात्रीले चित्रण गरे । कोल्मा बहाकोटले समेटेको तनहुँ शुक्लागण्डकी राइपुर, स्याङ्जाको पोखरीछाप, वराहचौरमा साहित्यकारलाई स्थानीयले स्वागत गरेका थिए । गाउँलेले संरक्षण गरी राखेको घाटु प्रदर्शन गरे । कोल्माको आलेडाँडा लगायतका ठाउँबाट देखिने हिमालले सबैलाई मोहित बनायो ।

साहित्यकार गनेस पौडेल भन्छन्, ‘पोखरामा हुर्किएको मान्छेलाई हिमाल देख्नु नौलो कुरा होइन तर कोल्माबाट जसरी एकैपटक यतिधेरै हिमाल र हिमालको फेदसम्मै हेर्ने हो भने स्याङ्जा कोल्माबहाकोट उपयुक्त ठाउँ रहेछ ।’ कोल्माबाट धौलागिरीदेखि, माछापुच्छ्रे, मनाश्लु, लमजुङ हिमालसम्म देख्न सकिने स्थानीय मीनबहादुर गुरुङले जानकारी दिए ।
अक्षरयात्रामा बोल्दै पुतलीबजार नगरपालिका मेयर सीमा क्षेत्रीले गाउँ रित्ता हुँदै जान थालेपछि पुरानै लयमा जान थुप्रै गतिविधि हुन थालेको बताए । ‘अक्षरयात्रा होस् या माघ २६ गते हुने क्रस कन्ट्री दौड प्रतियोगिता यसले गाउँको विकासमा ठूलो अर्थ राख्नेछ,’ मेयर क्षेत्रीले भनिन्, ‘यस्ता कार्यक्रमसँग नगरपालिका पनि सहकार्य र सहयोग गर्न चहान्छ ।’

स्याङ्जा बिरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद गुरुङले कला, साहित्यका माध्यमबाट गाउँको उजागर र प्रवद्र्धन गर्ने काम अक्षरयात्राले गरेको बताउँदै क्रसकन्ट्री दौड प्रतियोगितामा सहकार्य गर्ने बताए ।
गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदी, नवनीतका अध्यक्ष लक्ष्मण थापा र पुतली बजार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लीला गुरुङको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष जीतबहादुर, महासचिव मनबहादुर थापाले गाउँको विकास र प्रवद्र्धनका लागि अक्षरयात्रा र क्रसकन्ट्री दौड प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

तपाईको प्रतिक्रिया