कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग

समाधान संवाददाता २०७७ जेठ ९ गते १३:२६

लेखनाथ, ८ जेठ

Advertisement

२०५४ सालको स्थानीय चुनावका क्रममा साविक कालिका गाविसमा मारिएका कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी पोखरा २६ ले बिहीबार राखेको २३ औं स्मृति दिवसका अवसरमा स्थानीय र पीडित परिवारको तर्फबाट भुजेललाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेको हो ।

पोखरा महानगरपालिका वडा नं २६ राखिडाँडा निवासी कृष्ण भुजेल चुनावमा बुथ संरक्षणको सिलसिलामा कांग्रेस कार्यकर्ताबाट हत्या गरिएको थियो । २०५४ साल जेठ ४ गते भएको घटना पश्चात भुजेलको जेठ ८ गते उपचारकोे क्रममा काठमाडौंमा निधन भएको थियो । उक्त निर्वाचनबाट गाविस अध्यक्षमा मानबहादुर जिसी र उपाध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी पोखरा २६ का अध्यक्ष रामहरि ढुंगानाको अध्यक्षतामा भएको स्मृति दिवस कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले सहिदको त्याग र बलिदानबाट स्थापित लोकतन्त्रलाई संस्थागत गर्न सहिदप्रति उच्चसम्मान गर्नु पर्नेमा जोड दिँदै कृष्ण भुजेलका नाममा यस क्षेत्रका विकास निर्माणले तिव्रता उपाउनु पर्ने सुझाव राखेका थिए ।

नेकपा पोखरा २६ का सचिवालय सदस्य रामचन्द्र तिमिल्सेनाले सञ्चालन गरेको कार्यक्रममा सहिद कृष्ण भुजेलको योगदानका बारेमा चर्चा गर्दै भुजेललाई सरकारको तर्फबाट सहिद घोषणा गर्न माग गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया