शव व्यवस्थापन गर्न २२ जनाको दस्ता तयार

समाधान संवाददाता
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कास्कीले कोरोना भाइरसका कारण कुनै व्यक्तिको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न २२ जनाको दस्ता तयार गरेको छ । सुरक्षाका ३ वटै निकायको संलग्नतामा उक्त टोली तयार राखिएको हो ।
केन्द्रले पोखरामा जेठ ९ देखि ११ गतेसम्म ३ दिन टोलीलाई आवश्यक तालिमसमेत प्रदान गरेको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीका ५/५, कास्कीका ५ वटै तहका १/१ जना प्रतिनिधि र रेडक्रस सोसाइटीका २ जना प्रतिनिधि टोलीमा समावेश छन् ।
विपद्का लागि शव व्यवस्थापनको तयारी स्वरुप जिल्लामा टोली तयारी अवस्थामा रहिरहेको भएपनि कोरोना विशेषकै लागि आवश्यक तालिम दिएको शव व्यवस्थापन समितिका संयोजक एवं कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
‘कोरोनाबाट यदि कसैको मृत्यु भइहालेमा शव व्यवस्थापन मुख्य चुनौतीको रुपमा देखिएको छ,’ उनले भने, ‘विपद्मा सबै किसिमको तयारी आवश्यक पर्ने भएकाले हामीले अप्रिय घटना नघटेको भएपनि टिम तयार गरेका छौं ।’
अन्य विपद्कोभन्दा फरक किसिमको तयारी कोरोनाका लागि गर्नुपरेको उनले सुनाए । शव व्यवस्थापन गर्ने टोली पहिले आफैं सुरक्षित हुनुपर्ने चुनौतीका कारण सर्तकताका लागि अपनाउनुपर्ने सावधानी तालिममा प्रदान गरिएको एसपी कार्कीले बताए ।
कोरोनाका कारण नेपालमा हालसम्म ३ जनाको ज्यान गइसकेको छ । यि ३ जनाकै शव व्यवस्थापनका लागि स्पष्टता नहुँदा अन्योल सिर्जना भइरहेको थियो ।
मृत्यु भएका व्यक्तिलाई तत्कालै व्यवस्थापन गर्नुपर्ने र संक्रमणलाई नियन्त्रणमा राख्नका लागि उचित प्रबन्ध गरिएको कास्कीका सिडिओ ज्ञानप्रसाद ढकालले सुनाए । सुरक्षा निकाय, प्रशासन, स्थानीय तह, नागरिक समाज लगायतको सहयोगमा नै जिल्लामा संक्रमित नदेखिएको उनको भनाई थियो । ‘जटिल अवस्थाका लागि झनै तयारी चाहिन्छ,’ उनले भने, ‘यो समयमा मात्र होइन अन्य समयमा पनि शव व्यवस्थापनको टोली उपयोग हुन्छ ।’
सैद्धान्तिक र व्यवहारिक ज्ञानले प्रशिक्षार्थीले सम्भावित जोखिमलाई सहज तवरले समाधान गर्ने उनले विश्वास व्यक्त गरे ।
फाइल फोटो ।
तपाईको प्रतिक्रिया