सामूहिक भोज खाएर शिविरमा इद

समाधान संवाददाता २०७७ जेठ १२ गते २१:४४

समाधान संवाददाता
पोखरा, १२ जेठ

बाराबाट पोखरा आएर अलपत्र परेकाहरुले पोखरामा इद–उल–फित्र मनाएका छन् । कोरोना भाइरसको त्रास फैलिरहेका बेला पोखरा आइपुगेका बाराको एक जोडीले पोखरा–९ नयाँबजारको मानव उद्धार शिविरमै चाड मनाएका हुन् ।

पोखरा आएपछि कतै बास नपाएको श्रीमान/श्रीमतीलाई पोखरामै बस्दै आएका मुस्लिम समुदायका व्यक्तिहरुले सामूहिक रुपमा चाड मनाउने वातावरण बनाएको पोखरा–९ का वडा सचिव लोकदर्शन कोइरालाले जानकारी दिए । ‘उहाँहरु ११ दिन पहिले बाराबाट पोखरा आउनुभएको रहेछ । कतै बास नपाएपछि हामीले बनाएको उद्धार शिविरमा राखेका छौं,’ उनले भने, ‘आज मुस्लिम समुदायको महान चाड हामीसँगै मनाउनुभयो ।’

Advertisement

बारा घर भइ पोखरा बस्दै आएका दुवै जनालाई घरबेटीले कोठामा बस्न नदिएपछि उनीहरु अलपत्र परेका थिए । शिविरमा रहेको दुवैको कोरोना परीक्षण गरिएको वडासचिव कोइरालाले जानकारी दिए ।

उनले भने, ‘हाम्रो सम्पर्कमा आएपछि उहाँहरुको आरडिटी परीक्षण ग¥र्यौं । त्यसको रिपोर्ट नेगेटिभ आयो । १४ दिन बसेपछि उहाँहरु जानुहुन्छ ।’ शिविरमा बसेका बालबालिकाले प्रदेश संग्रहालय घुम्ने इच्छा देखाएपछि उनीहरुलाई संग्रहालयको अवलोकनसमेत गराइएको वडासचिव कोइरालाले बताए ।

Advertisement

नवप्रभात माध्यमिक विद्यालयलाई स्थानीयको पहलमा मानव उद्धार शिविरका रुपमा स्थापना गरिएको छ । अलपत्र परेकाहरुलाई त्यहाँ ल्याएर राख्ने क्रम लकडाउन भएयता जारी रहेको नवप्रभातको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।

सडकबाट उद्धार गरिएका बालबालिकालाई खानेबस्ने र खेल्ने सुविधा गरिएको छ । अहिले शिविरमा ९ जनाले आश्रय लिइरहेको अध्यक्ष मर्सानीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया