स्कुल अफ डेमोक्रेसी गण्डकी अध्यक्षमा पराजुली

समाधान संवाददाता २०७७ जेठ १७ गते १८:५६

समाधान सं‌वाददाता

नेपालमा क्रियाशील राजनीतिक दल, सरकार र सार्वजनिक संस्थामा लोकतान्त्रीकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसीले प्रदेश र जिल्ला तहमा संरचना विस्तार गर्न थालेको छ ।

लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रक्रियाका बारेमा सिक्ने र सिकाउने उपयुक्त फोरमको रुपमा स्कुल अफ डेमोक्रेसीलाई विकास गर्ने लक्ष्य राखिएको छ । एक दशक अगाडि स्थापना भएपनि आफ्नो संरचनालाई प्रदेश र जिल्ला तहसम्म लगेर लोकतान्त्रिक प्रक्रियामा योगदान पुर्‍याउने लक्ष्य संस्थाको छ ।

Advertisement

तत्कालका लागि सवै प्रदेश र अधिकांश जिल्ला तहमा अध्यक्षको चयन गरी संस्थाका गतिविधि अगाडि बढाइएको भए पनि कोरोनाको प्रकोप न्यून हुँदै गएपछि प्रदेश र जिल्ला तहमा समिति नै गठन गर्ने तयारीमा आफूहरु रहेको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

संस्थाको पूर्व अध्यक्ष नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिन विश्वकर्मा हुन् ।

Advertisement

प्रदेश समिति गठन गर्ने क्रममा गण्डकी प्रदेश समितिको अध्यक्षको जिम्मेवारी गंगाधर पराजुलीलाई दिइएको छ । पराजुलीले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापति भएर काम गरिसकेका छन् ।

नेपाल सरकार अन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीबाट उनी केही महिना अगाडि मात्र पदमुक्त भएका हुन् ।

स्कुल अफ डेमोक्रेसीले विभिन्न जिल्लाहरुमा शाखा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्ला अध्यक्षको जिम्मेवारी सन्तोष गुरुङलाई दिएको छ । नेविसंघ र नेपाल तरुण दल हुँदै नेपाली का‌ंग्रेसको राजनीतिमा क्रियाशील गुरुङ पार्टीको महासमिति सदस्य हुन् ।

हाल धार्चे गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष रहेका उनी २०५४ सालमा तत्कालीन लाप्राक गाविसको अध्यक्ष थिए ।

यसैगरी संस्थाको तनहुँ जिल्ला समितिको अध्यक्षमा डम्वर अधिकारीलाई चयन गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष समेत रहेका अधिकारी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् ।

संस्थाको कास्की जिल्ला समितिको अध्यक्षमा वीरबहादुर बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी रहि सकेका बुढाथोकी हाल निजी विद्यालयका संचालकहरुको संस्था प्याव्सनका केन्द्रिय उपाध्यक्ष पनि हुन् ।

स्याङ्जा जिल्ला समितिको अध्यक्ष रहेका अनुप श्रेष्ठ पेशाले सिभिल इन्जिीनीयर हुन् । उनले प्राविधिक विद्यार्थी परिषदको अध्यक्ष र नेविसंघको महाधिवेशन प्रतिनिधि रहेर काम गरिसकेको छन ।

लमजुङ जिल्ला समितिको अध्यक्ष रहेका शंकर घिमिरे नेविसंघको राजनितीमा लामो समय सक्रिय थिए । तिन कार्यकाल नेविसंघको जिल्ला अध्यक्ष रहेर काम गरेको घिमिरे हाल स्थानिय जनमन्दिर मा.वि. व्यवस्थापन समितिको अध्यक्ष एवं अन्य संघसंस्थामा सक्रिय छन ।

पर्वत जिल्लाको अध्यक्षको जिम्मेवारी पाएका वसन्त कुमार कर्माचार्य नेपाल जेसिसको पूर्व उपाध्यक्ष हुन्। नेपाली कांग्रेस कुश्मा नगर समितिको सल्लाहकार समेत रहेका कर्माचार्य काली गण्डकी एकेडेमीको संस्थापक समेत रहेका छन

! यसैगरि बाग्लुङ्ग जिल्ला समितिको अध्यक्ष रहेका सागर छन्त्याल नेपाली काँग्रेस बाग्लुङ्गको जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधी समेत हुन । उनी विभिन्न संघ संस्थामा संलग्न छन । म्याग्दी जिल्लामा अध्यक्षको जिम्मेवारी मन कुमारी वि.क. लाई दिइएको छ । उनी पनि नेपाली काँग्रेस म्याग्दीको जिल्ला सदस्य र नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि हुन् । गण्डकी प्रदेशका अन्य तिन जिल्लामा अध्यक्ष चयन गर्न बाँकी रहेको र केही समय भित्रमा नै समितिलाई पुर्णता दिइने जानकारी स्कूल अफ डेमोक्रेसीका अध्यक्ष महरले जानकारी दिएका छन् ।

लोकतान्त्रिक मूल्य र मान्यतालाई सबैजसो राजनितीक पार्टीले अवलम्बन गरेमा लोकतान्त्रिक प्रणाली सुदृढ़ हुने भएकोले संस्थाले आफ्ना गतिविधिहरु यसै सन्दर्भमा केन्द्रित गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया