विरोधपछि महानगरले सच्यायो तरकारी र फलफूल आयातमा रोक लगाउने निर्णय

समाधान संवाददाता २०७७ जेठ २० गते १२:०३
sdr

समाधान संवाददाता

पोखरा महानगरपालिकाले आयातित फलफूल तथा तरकारी आयातमा रोक लगाउने निर्णय फिर्ता लिएको छ । देशभित्रैबाट ल्याइएका तरकारी खाडलमा पुरेको भन्दै चर्को विरोध भएपछि महानगरले छुट्टै मापदण्ड तय गरेको हो । महनगरले सोमबार सूचना निकालेर तरकारी र फलफूल आयातमा रोक नलगाइ प्रवेशद्धारमा कडाइ गरिने जनाएको छ ।

महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको जेठ ११ गते बसेको बैठकले कास्की जिल्ला बाहिरबाट तरकारी र फलफूल ल्याउन रोक लगाउने निर्णय गरेको थियो । अब कास्की जिल्ला तथा महानगर भित्रिने प्रवेशद्धारमा आयातित तरकारी तथा फलफूलको चेकजाँच गरिने भएको छ ।

Advertisement

साथै प्रवेशद्धारमै फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । फलफूल तथा तरकारीको खरिद र विक्री मूल्यबारे नियमित अनुगमन गरिने महानगरले जनाएको छ । बाहिरबाट फलफूल तथा तरकारी ल्याउँदा चालक र सहयोगीबाहेक अरुलाई प्रवेश नदिइने भएको छ ।

पोखरा १५ का वडाध्यक्षसहितको टोलीले बाहिरी जिल्लाबाट आयात गरिएको भन्दै २ दिनअघि तरकारी र फलफूल खाडल खनेर पुरेका थिए । स्थानीय उत्पादनले माग नधान्नेबारे जानकार हुँदाहुँदै महानगरले तरकारी आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया