तनहुँका संक्रमितको इम्युनिटी पावर बढाउन आयुर्वेद औषधि

समाधान संवाददाता २०७७ जेठ २० गते १९:३३

समाधान संवाददाता

तनहुँका १ कोरोना भाइरस संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि हस्तान्तरण गरिएको छ । शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीलाई पोखरास्थित कुशुम कृष्ण आयुर्वेदकका सञ्चालक कृष्ण राउतले ७ प्रकारका औषधि उपलब्ध गराएका हुन् ।

अश्व गन्धा चूर्ण, आमलकी चूर्ण, यष्टीमधु चूर्ण, गुडुची चूर्ण, तुलसी चिया, त्रिकटु चूर्ण र च्यावनप्रास हस्तान्तरण गरिएको हो । तनहुँका १ संक्रमित जिपी कोइराल श्वासप्रस्वास केन्द्र दुलेगौडामा उपचाररत छन् । उनी चिकित्सकको निगरानीमा रहेपनि रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद औषधि महत्वपूर्ण हुने हुँदा उपलब्ध गराइएको कृष्ण राउतले सुनाए ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण भएका जडिबुटीहरुको प्रयोग गर्न सुझाव दिएको छ । विभागले गुडुची चूर्ण ५ ग्राम आधा लिटर पानीमा पकाएर, असुराको पात र बेसार १ लिटर पानीमा पकाएर, सुठो, मरिच, पिप्ला २ ग्राम र ५ वटा तुलसी पात १ लिटर पानीमा पकाएर, तेजपात र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर नियमित प्रयोग गर्न सुझाव दिएको छ ।

शुक्लागण्डकीका ४ वटा क्वारेन्टिनमा रहेका ६८ जनालाई आयुर्वेद औषधिको मात्रा मिलाएर सेवन गर्न दिइने तयारीमा रहेको खैरेनीटार आयुर्वेद औषाधालयका प्रमुख गोपालप्रसाद श्रेष्ठले बताए । ‘आयुर्वेद इम्युनिटी बुस्टरको रुपमा प्रयोग गरिने औषधि हो,’ उनले भने, ‘एन्टी भाइरलको रुपमा यस्ता औषधि प्रयोग गरिन्छन् । भुइँ अमला, तुलसी, अश्व गन्धा लगायतका औषधि प्रयोग गर्न सकिन्छ ।’ क्वारेन्टिनमा रहेकालाई योग मार्फत तनाव व्यवस्थापन गर्न बुधबारदेखि कार्यक्रम तय गरिएको उनले बताए ।

Advertisement

कुनैपनि साइड इफेक्ट नगर्ने आयुर्वेद औषधिले संक्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने उपप्रमुख सविता रसाइलीले बताइन् । एलोप्याथिक उपचार पद्दती मात्र नभई आयुर्वेद उपचार पद्दती पनि महत्वपूर्ण बन्दै गइरहेको नगरपालिकाका प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई प्रतिव्यक्ति ४ सय रुपैयाँको दरले खाना र खाजा उपलब्ध गराइएको वडा ६ का अध्यक्ष कृष्णबहादुर पौडेलले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकीकी उपाध्यक्ष गंगा लामिछाने र कास्कीका अध्यक्ष पवन अधिकारीसमेतको सहभागिता थियो ।

आयुर्वेद स्वास्थ्य दर्पण, नेचर केयर होम प्रालि आयुर्वेद अस्पताल, पपुलर आयुर्वेद सेन्टर, नेचर केयर होम प्रालिको संयोकत्व गर्दै संलग्न कृष्ण राउतको सक्रियतामा स्याङ्जामा समेत औषधि वितरण गरिएको छ । स्याङ्जा जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमितलाई सेवन गर्न दिने गरी इम्युनिटी बढाउन सहयोग पुर्याउने औषधि उपलब्ध गराइएको राउतले जानकारी दिए । बागलुङ, म्याग्दी, पवर्त र नवलपुरमा समेत आयुर्वेद औषधि नि:शुल्क वितरण गर्ने कार्यक्रम तय भएको उनले बताए ।

तपाईको प्रतिक्रिया