कोरोनासँग लड्न आयुर्वेद औषधि

समाधान संवाददाता २०७७ जेठ २२ गते १८:५०

समाधान संवाददाता

गण्डकी प्रदेशका बागलुङ, पर्वत र म्याग्दीमा भेटिएका कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका प्रमुख डा मधुरजी ढकाल र अस्पातलका मेसुलाई कुशुम कृष्ण आयुर्वेद पोखराका सञ्चालक कृष्ण राउतले औषधि हस्तान्तरण गरे ।

अश्व गन्धा चूर्ण, आमलकी चूर्ण, यष्टीमधु चूर्ण, गुडुची चूर्ण, त्रिकटु चूर्ण, तुलसी चिया र च्यावनप्रास संक्रमितलाई उपलब्ध गराउने गरी निशुल्क हस्तान्तरण गरेको राउतले जानकारी दिए ।

Advertisement

म्याग्दीका क्वारेन्टिन रहेकालाई अश्व गन्धा चूर्ण, तुलसी चिया सेवन गराउन सुरु गरेको र अवस्था हेरेर गुर्जो लगायत जडिबुटीको स्वरस संक्रमितहरुलाई समेत सेवन गराउने तयारी गरेको जिल्ला आयुर्वेद स्वास्थ्य प्रमुख डा ढकालले बताए । अस्पतालका मेसुसँगको सहकार्यमा उपलब्ध आयुर्वेद औषधिको उपयोग गरिने उनको भनाइ छ ।

बागलुङको धौलागिरी अस्पतालमासमेत मन्त्री पुनको उपस्थितीमा प्रशासनका अधिकारी, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीका उपाध्यक्ष रमाकान्त सापकोटा, अस्पतालका मेसु, र धौलागिरी आयुर्वेद औषधालयका निमित्त प्रमुख हरि पौडेललाई उक्त औषधि हस्तान्तरण गरिएको हो ।

Advertisement

रोगसँग लड्न मानव शरीरमा आवश्यक इम्युनिटी उत्पादन गर्ने आयुर्वेद औषधि कोरोनाकाे लडाइमा झनै उपयाेगी भइरहेको औषधालयका पौडेलले बताए । संक्रमितको रोगसँग लड्ने क्षमता बढाउन अस्पतालका चिकित्सकसँग सहकार्य गरी आयुर्वेद औषधि प्रयोग गरिने उनले सुनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण भएका जडिबुटीहरुको प्रयोग गर्न सुझाव दिएको छ ।

विभागले गुडुचीको धुलो ५ ग्राम आधा लिटर पानीमा पकाएर, असुराको पात र बेसार १ लिटर पानीमा पकाएर, सुठो, मरिच, पिप्ला २ ग्राम र ५ वटा तुलसी पात १ लिटर पानीमा पकाएर, तेजपात र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर नियमित प्रयोग गर्न सुझाव छ ।

विभागले जारी गरेको प्रोटोकल अनुसारका औषधि निशुल्क वितरण गरिरहेको कुशुम कृष्ण आयुर्वेदका राउतले बताए ।

पर्वत जिल्ला अस्पतालमा पनि मन्त्री पुनको उपस्थितीमा अस्पताका मेसु र अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा किरण कमल बस्ताकोटीलाई औषधि हस्तान्तरण गरियो । जिल्ला अस्पतालसँगको समन्वयमा आइसोलेसनमा रहेका संक्रमितको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद औषधि र उपाय अवलम्बन गरिएको डा बस्ताकोटीले जानकारी दिए ।

प्राचीनकालमा समेत महामारी रोग फैलिने गरेको र त्यसबखत आयुर्वेद औषधिको प्रयोगबाट नै रोग प्रतिरोध क्षमता वृद्धि गर्न पूर्खाहरु सफल भएको बताउँदै कोरोना विरुद्ध आयुर्वेद औषधिको प्रयोग महत्वपूर्ण हुने राउत बताउँछन् ।

‘मनोवल उच्च राख्दै प्राकृतिक जुडिबुटीको उच्चतम प्रयोग गरेर महामारीलाई परास्त गरेको कुरा आयुर्वेद तथा वेदशास्त्रमा उल्लेख गरेको पाइन्छ,’ उनी भन्छन्, ‘हामीले पनि सोही कुरा अनुशरण गरेर अगाडि बढ्यौ भने कोरोना हाम्रो लागि केही होइन ।’ प्रदेशका जिल्लाहरुमा भेटिएका संक्रमितहरुको उपचारमा आयुर्वेद औषधि उपलब्ध गराएर निरन्तर सहयोगमा जुट्ने उनको प्रतिबद्धता छ ।

आयुर्वेद स्वास्थ्य दर्पण, नेचर केयर होम प्रालि आयुर्वेद अस्पताल, पपुलर आयुर्वेद सेन्टर, नेचर केयर होम प्रालिको संयोकत्व गर्दै संलग्न कृष्ण राउतको सक्रियतामा तनहुँ र स्याङ्जामा समेत औषधि वितरण गरिसकिएको छ । नवलपुर केहीदिन भित्रै पुग्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया