बाटुलेचाैर घटनामा विवादित सांसद थापाले भने : विभेद गरेको भए राजनीतिबाटै सन्यास लिन्छु

समाधान संवाददाता २०७७ जेठ २५ गते १५:५१

समाधान संवाददाता
पोखरा, २५ जेठ

जातीय विभेद र छुवाछुतका घटनाका बारेमा विवादास्पद विज्ञप्ति निकालेर चर्चामा आएका गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले दलितका नाममा आफूले कुनै विभेद गरेको भए सांसद मात्र होइन राजनीतिबाटै सन्यास लिन तयार रहेको बताएका छन् ।

जातीय विभेदलाई उक्साएकोले थापामाथि कारवाहीका लागि प्रदेश सभामै आवाज उठेपछि आइतबार विशेष समय लिएर उनले राजनीतिक करिअर सिध्याउने षढ्यन्त्रका साथ आफूविरुद्ध नियोजित रुपमा षढ्यन्त्र रचिएको बताएका हुन् ।

Advertisement

बाेल्ले क्रममा सुरुमै उनले अरु सा‌ंसदकाे नाम लिएपछि ‘माननीयकाे नाम निलनुहाेला’ भन्दै सभामुखले रुलिङ गर्नुपरेकाे थियाे ।

जेठ १४ गतेको बैठकमा प्रदेश सभा सदस्य डोबाटे विश्वकर्मा, हरिशरण आचार्य र जुनादेवी नेपालीले जातीय विभेद गर्नेमाथि कारवाहीको माग गरेका थिए । सांसद थापाविरुद्ध पार्टीको प्रदेश कमिटी र संसदीय दलमा समेत उजुरी परेको छ ।

Advertisement

उनले भने, ‘कृष्ण थापा राजनीतिमा लागेपछि त्यो समुदायलाई तँ र तिमी भनेको छैन । तपाईं भनेर सम्बोधन गरेको छु, विभेद गरेको छु भने सभासद मात्र हैन राजनीतिबाट सन्यास लिन तयार छु ।’

व्यक्तिगत रुपमा सोधे हुने विषय त्यो पनि अदालतमा विचाराधीन मुद्दाका बारेमा संसदमा आजाव उठ्नु नै गैरसंवैधानिक रहेको जिकीर उनले गरे । उनले भने, जुन विषयमा सम्मानित अदालतले आदेश दिइसकेको छ, अहिले पनि विचाराधीन छ, अदालतमा विचाराधीन विषय सदनमा उठाउन नपाउने संविधानले भनेको छ ।’

सम्बन्धित निर्वाचन क्षेत्रका सांसदले चासो नदिएको विषयमा तनहुँ, गोर्खा र पर्वतका सांसदले विचार उठाएकोमा उनले आश्चर्य समेत व्यक्त गरे ।
घटनासँग जोडिएका मोहन सुनार आफ्नो बाल्यकालदेखिको साथी भएको भन्दै मोहनका छोरीलाई जागिर लगाइदिएको र छोरालाई पनि सहयोग गरेको बताए।

उनले भने, ‘जहाँ घटना भएको हो, त्यो चण्डिका टोलमा म पनि बस्छु । मोहनजीलाई राजनीतिक, आर्थिक सामाजिक सहयोग गर्दै आएको छु ।’

आफू तत्कालीन पोखरा उपमहानगरको मेयर हुँदा गन्धर्व परिवारलाई घर घडेरी दिएको, विश्वकर्मा परिवालाई सहयोग गरेको समेत उनले सदनमा बताए । ‘बाटुलेचौर ४० वर्ष पहिला नै मुक्तिनाथ र बलरामको भूमि हो । को अछुत हो भनेर किताव लेखिएको त्यहिँबाट हो,’ उनले भने ।

कुनै पनि राज्य र समाजले बनाएका भवन सबैको सम्पति रहेको पक्षमा आफू रहेको भन्दै सुरुको बैठकमा आफूले सबैले प्रयोग गर्न पाउनुपर्छ हिँडेको भनाइ उनले राखे ।

उनले संदनमा आफू प्रदशसभाको निर्वाचनमा ‘म्यान अफ दिन इलेक्सन’ भएको दाबी समेत गरे । ‘जनताले सर्वाधिक मत दिएर जितेको हो मैले । धेरै मतान्तरले जित्ने अवसर पाएको हुँदा यस्ता आरोपको सामना गर्न तयार छु,’ उनले भने ।

बाटुलेचौरमा १३ दिन अगाडि बलबहादुर नेपालीको निधन भएको र उनको परिवारलाई ३५ हजार सहयोग गरेको भन्दै उनले सुनियोजित रुपमा राजनीतिक हत्या गर्ने षढयन्त्रबाट आफू विचलित नहुने समेत दोहोर्‍याए ।

पोखरा महानगरपालिका– १६, बाटुलेचौरमा गत चैत २६ गते मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापालगायतले सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलोज र धाकधम्की दिई जाति विभेद गरेको आरोप थियो ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय) ऐन २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

दलित अगुवाको दबाबमा ५ दिनपछि थापाद्वय र राम बिसी पक्राउ परेका थिए । उनीहरु ३ जना नै जनही १ लाख ७० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सांसद थापाले ३ जना पक्राउपछि विज्ञप्ति निकालेका थिए । पहिलो विज्ञप्ति विवादित भएपछि उनले दोस्रो पटक विज्ञप्ति निकालेका थिए ।

उनले निकालेका दुवै विज्ञप्ति

तपाईको प्रतिक्रिया