लक्ष्मी ग्रुपले दियो प्रदेश सरकारलाई ५० लाखको स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ जेठ ३२ गते १२:५९

समाधान संवाददाता
पोखरा


व्यावसायिक घराना लक्ष्मी ग्रुपले गण्डकी प्रदेश सरकारलाई आइतबार ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सरकारबाट स्थापित र सञ्चालित विशेष कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोडको आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार ग्रुपले आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सामग्री हस्तान्तरण गरेको हो ।

Advertisement

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले लक्ष्मी इन्टरकन्टिनेन्टलका तर्फबाट ती सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । ग्रुपले ६ सय थान पिपिई, त्यति नै संख्यामा पञ्जा र चस्मा, ३ हजार ६ सय थान एन ९५ मास्क प्रदान गरेको छ ।

लक्ष्मी ग्रुपबाट प्राप्त स्वास्थ्य सामग्री प्रदेश आपूर्ति केन्द्रका निर्देशक खीम खड्कालाई हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री गुरुङले तत्कालै ती सामग्री प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत आपूर्ति केन्द्रका निर्देशक खीम खड्कालाई हस्तान्तरण गरे । ती सामग्री आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा प्रयोग गरिने छ ।

Advertisement

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले पोखराबाटै उदाएको औद्योगिक घरानाबाट यति धेरै सहयोग प्राप्त हुन प्रदेश सरकारका लागि गौरवको विषय रहेको बताए । उनले भने, ‘दुखको बेलामा यतिका धेरै सहयोग गर्नु ऐतिहासिक कदम हो, प्रदेशमा औद्योगिक विकासका लागि सहयोग गर्न सरकार सदा तत्पर छ ।’


लक्ष्मी हाउसले गण्डकी क्षेत्रलाई केन्द्रित गरी व्यावसायिक गतिविधि बढाउन आग्रह गर्दै मुख्यमन्त्री गुरुङले हुन्डाईको एसेम्बलिङका लागि पनि यो प्रदेश उपयुक्त रहेको भनाइ राखे ।

पोखरा र गण्डकी प्रदेशमा पिपिईको चरम अभाव हुँदा लक्ष्मी ग्रुपले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो । पाटन अस्पताल र किस्ट अस्पतलालाई पनि ग्रुपले सहयोग गरेको छ ।


विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिँदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएको अवस्थामा नेपाल सरकारद्वारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्ने ग्रुपले यसअघि नै प्रतिबद्धता जनाएको थियो ।

ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिङका लागि फिभर क्लिनिक समेत स्थापना गरेको छ । उक्त कार्यमा हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारको रुपमा कार्य गरेको छ ।


लक्ष्मी ग्रुपले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको जनाएको छ । ग्रुपले २०७२ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखा को पुनर्निर्माण, विन्ध्यवासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न कार्यमा सक्रियता जनाउँदै आएको छ ।

हाल नेपालमा हाल आएको कठिन परिस्थितिलाई संम्यमताका साथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न लक्ष्मी ग्रुपले अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया