स्वाब परीक्षण सुस्त भएपछि मुख्यमन्त्रीले गरे ल्याब अनुगमन

समाधान संवाददाता
पोखरा
जिल्ला जिल्लामा संकलित स्वाबका नमुनाको थुप्रो लागेको गुनासो आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार आकश्मिक रुपमा प्रयोगशालाको अनुगमन गरेका छन् ।
कोरोना संक्रमणको दर बढ्दै गएको, भारतबाट फर्केर पालिकाका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण रिपोर्ट समयमै नआएका कारण खर्च बढेको जस्ता गुनासा आएपछि उनी अनुगमनका लागि गएका हुन् ।
सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर जनशक्ति पूर्ति गरेर क्षमता अनुसारका काम गर्न निर्देशन दिँदै मुख्य मन्त्रीले काठमाडौंबाट थप दक्ष जनशक्ति ल्याउने बारेमा समेत तयारी भइरहेको जानकारी गराए ।

उनले प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा, प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त प्रमुख सपना सुवेदी लगायतसँग मुख्यमन्त्रीले जानकारी लिएका हुन् । अहिले प्रदेशको प्रयोगशालमा २ हजार ६ सय भन्दा बढी नमुना संकलित छन् ।
प्रदेश सरकारले आइतबारबाट नयाँ पिसिआर मेसिन सञ्चालनमा ल्याए पनि आवश्यक जनशक्ति नहुँदा क्षमता अनुसारको परीक्षण हुन नसकेको प्रयोगशालाकी निमित्त निर्देशक सुवेदीले जानकारी गराइन् ।

२ वटा मेसिन चलाउन १ सिफ्टमा कम्तीमा पनि १८ जना कर्मचारी चाहिन्छन् । तर अहिले त्यो अनुसार कर्मचारी छैनन् । सामाजिक विकास मन्त्रालयले जिल्लाहरुबाट ल्याबका कर्मचारी काजमा बोलाएको छ । बोलाएका ती कर्मचारी आएर तालिम गरेर काममा खटिन पनि ४÷५ दिन लाग्छ ।
२ सिफ्टका लागि ३६ जना चाहिने भए पनि ती कर्मचारी आए भने २३ जना पुग्छन् । त्यति हुँदा पनि जनशक्ति नपुग्ने सुवेदीले मुख्य मन्त्रीलाई जानकारी गराइन् । जनशक्ति पूर्ति भएपछि मात्र क्षमता अनुसार २ मेसिनले दैनिक ५ सय वटासम्म नमुना परीक्षण गर्न सक्छन् ।
तपाईको प्रतिक्रिया