३ दिनसम्म होटेलमा राखेर बलात्कार, ३ जना विरुद्ध मुद्दा

समाधान संवाददाता २०७७ जेठ ३२ गते २१:०१

समाधान संवाददाता
पोखरा

दिदीबाट बिदा लिएर सोल्टिनीको घर गएकी १ युवतीले एकैपटक ३ दिनपछि फोन गरिन् । जेठ १२ गते बिहान साढे ९ बजे दिदीलाई फोन गरेर आफू लेकसाइडको होटलमा थुनिएको सुनाइन् ।

पोखरा १३ मियाँपाटनका ३२ वर्षीय रहमत मियाँले फकाइफुलाइ १५ वर्षे ती युवतीलाई पटकपटक जबरजस्ती करणी गरे । जेठ ९ गते दिदीलाई भनेर सोल्टिनीको घर जान हिँडेकी उनलाई मियाँले बाटोबाटै लेकसाइड पुर्याएका थिए ।

Advertisement

मियाँले युवतीलाई काठमाडौं घुम्न जाने योजना सुनाए । उनले मानिनन् । मियाँले आफ्नो हठ छाडेनन् र उनको हात समाएर स्कुटरमा बसाए ।

लेकसाइडस्थित टुलिप पोखरा इन प्रालिको २०१ नम्बर कोठामा उनलाई पुर्याए । युवती उम्कन जोर गरिन् तर मियाँ आफैले बाहिर निस्केर चाबी लगाइदिए ।

Advertisement

‘मैले चिच्याएर बन्दा ढोकामा भित्रबाट हाने म्यानेजर आएर के भयो नानी भनेर सोध्दा बाहिरबाट चाबी लगाएको ढोका खोल्न भने तर म्यानेजरले चाबी छैन भने,’ उनले सरकारी वकिलसँको बयानमा भनेकी छन् ।

२ दिनपछि मियाँ होटलमा आएर ती युवतीलाई खाना खुवाए । त्यतिबेला पनि युवतीले घर जान चाहेको बताइन् । तर मियाँले बेडमा पल्टाएर जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

त्यसको भोलिपल्ट मियाँ चुरोट किन्न निस्कँदा मौका छोपेर उनले दिदीलाई फोन गरेकी थिइन् । फोन गरेको मियाँले थाहा पाएपछि उनी बगरतिर निस्किए । उनी उम्किइन् र पृथ्वीचोक दिदीसामु पुगिन् ।

युवतीले आफूमाथि जबरजस्तीकरणी भएको बताएपछि मियाँसहित ३ जनालाई उनकी दिदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही दिन किटानी जाहेरी दिएकी थिइन् ।

त्यसबीचमा जेठ १० गते उनकी दिदीले खोजी गर्न वडा प्रहरी कार्यालय रामबजारमा बहिनीको खोजी गर्न हुलियासहित निवेदन दिएकी थिइन् ।

मियाँसँग ती युवतीको सम्पर्क बनाइदिएकी पोखरा १३ की २७ वर्षीया पूजा विक, होटल सञ्चालक पोखरा ६ लेकसाइड बस्ने ४२ वर्षीय विष्णुप्रसाद आचार्यविरुद्ध किटानी जाहेरी प¥यो । पूजा विक ती युवतीकी सोल्टिनी नाता पर्छिन् ।

पूजाले नै मियाँसँग उनको भेट घर आउने जाने गर्दा गराएकी थिइन् । युवतीले दिएको बयानमा पूजाले बिहे गर्न सल्लाह दिने गर्थिन् । तर पूजाले बयानमा चिनजान गराएको भएपनि बिहे गर्ने सल्लाह नदिएको बताएकी छन् ।

मियाँले भने श्रीमती माइतमा बसेकाले ती युवतीप्रति आकर्षित भएको बयानमा खुलाएका छन् । होटलमा लगि राखेको र जबरजस्ती करणी गरेको मियाँले स्वीकारेका छन् । पूजाकै कारण युवतीलाई चिनेको उनको बयानमा छ ।

मियाँ पुर्पक्षका लागि थुनामा, २ जनासँग धरौटी माग

जिल्ला अदालत कास्कीले जबरजस्ती करणीमा अभियुक्त रहमत मियाँलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाको इजलासले आइतबार मियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।

होटल सञ्चालक विष्णुप्रसाद आचार्य र पूजा विकसँग भने धरौटी माग गरी रिहा गर्ने आदेश भएको छ । आचार्य ४ लाख रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भए पनि पूजा विक ५० हजार धरौटी बुझाउन नसक्दा थुनामा पुगेकी छन् ।

मियाँलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तर्गतको दफा २१९ को उपदफा ३ को ग बमोजिम सजाय माग दाबी गरेको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए ।

‘त्यसबमोजिम १२ देखि १४ वर्षसम्म कैद माग दाबी हाम्रो थियो,’ उनले भने, ‘विष्णुप्रसाद आचार्य र पूजा विक मतियार तर्फ हुन् । उनीहरु दुबैलाई एउटै सजाय मागदाबी गरेका हौं ।’

मुख्य कसुरदार सरह नै २ जना मतियार ठहर भएकाले १२ देखि १४ वर्षसम्म कैद मागदाबी थियो ।

युवती नाबालक भएकाले पीडित राहत कोषमा बुझाउनु पर्ने क्षतिपूर्ति शुल्क निर्धारण गर्न सरकारी वकिलले अभियोग पत्रमार्फत माग गरेको छ ।

तपाईको प्रतिक्रिया