कस्को बाइक र प्रेमिका राम्रो भन्ने झगडामा अमितको हत्या

समाधान संवाददाता २०७७ असार १ गते १२:११

समाधान संवाददाता

पाेखरा

२१ वर्षे अमित रसाइली (सुनार)ले भर्खरै नयाँ मोटरसाइकल किनेका थिए । मोटरसाइकल किनेको खुसी उनमा असीमित थियो । त्यो खुसी उनले आफूमा मात्र सीमित राख्न चाहेनन् ।

नजिकका ४ साथीभाइलाई पार्टी दिने भए । मोटरसाइकल किनेको खुसी साट्न पोखरा २९ पट्नेरीका उनले पोखरा ३३ बाघमारा चौर पुगे ।

Advertisement

२० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, त्यति नै वर्षका शंकर सुनार, कृष्ण सुनार अमितको पार्टीका निम्तालु थिए । चौरमा बसेर अन्तरंग साट्न ५ जनाले घरेलु मदिरा, चाउचाउ र चुरोटको सहारा रोजे ।

राति ९ बजे चौरमा पुगेका उनीहरु मदिरा पिउन थाले । मदिराको मात चढ्दै गएपछि अमितका साथीहरुबीच कसको बाइक राम्रो कसको प्रेमिका राम्री भन्ने प्रसंगमा कुरा सुरु भयो ।

Advertisement

नयाँ बाइक किनेका अमित नै विवादको मुख्य तारो भए । आआफ्ना बाइक र प्रेमिका राम्रा भन्ने विषयले चर्किएर झगडाकै रुप लियो । अमितलाई साथीहरुले हेल्मेट र ढुंगाले प्रहार गर्न थाले । मदिराले होस गुमाएका साथीहरुको हिर्काइले उनको ज्यानै लियो ।

प्रहरीका अनुसार अमितलाई मारेपछि शव लुकाउन ठाउँ खोजिरहेका साथीहरुले सेतीमा बगाइदिए । तिनै साथीले नै जेठ ३२ गते आइतबार बिहान साढे ३ बजे प्रहरी कन्ट्रोल रुममा खबर गरे ।

उनीहरुले अमित हराएको सूचना प्रहरीलाई दिएका थिए । प्रहरी घटनास्थलमा पुगेर अमितको खोजी गर्दा आइतबार बिहान ७ बजे पोखरा ३२ रातोपैरास्थित सेती खोंचमा शव भेटियो ।

प्रहरीको नजरमा अमित हराएको सूचना दिने तिनै साथीहरु शंकाको घेरामा परे । शव भेट्नासाथ अनुसन्धानमा खटिएको कास्की प्रहरी अन्ततः ४ जना साथीले नै अमितको हत्या गरेको निष्कर्षमा पुगेको छ ।

प्रेस सम्मेलनमा सोमबार कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अमितको हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरे । सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार हत्यामा संलग्न भएको आधारमा पक्राउ गरी कारबाही बढाइएको एसपी कार्कीले जानकारी दिए ।

‘घटनाको वस्तुस्थिति हेर्दा ५ जना मिलेर सँगै मदिरा लगायत चाउचाउ चुरोट खाएको देखिन्छ,’ उनले भने, ‘प्रेमिका, मोटरसाइकल लगायत विषयमा विवाद बढ्दै गएपछि उनकै अन्य साथीहरुले हेल्मेट र ढुंगाले हानी सेतीमा बगाएको खुलेको छ ।’

मोटरसाइकल किनेको खुसीमा साथीहरुलाई दिएको पार्टीमा उनीहरुको विवाद हत्याको कारण बनेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने एसपी कार्कीले जानकारी दिए ।

लकडाउन अवधिमै आफ्नै साथीबाट हत्या भएको यो घटना पोखरामा तेस्रो हो । यसअघि पोखरा १४ र २७ मा समेत भएको घटनामा व्यक्तिगत रिसइबी र विवादकै कारण यस्तै प्रकृतिको घटना भएको थियो ।

तपाईको प्रतिक्रिया