बजेटमा प्रतिपक्षकाे प्रतिक्रिया : हिलाेमा पाेखेकाे पिठाेजस्ताे

समाधान संवाददाता २०७७ असार २ गते ६:००

बजेट महामारी केन्द्रित भएन
कृष्णचन्द्र नेपाली पोखरेल
नेता प्रमुख प्रतिपक्षी दल, कांग्रेस

बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रमको छलफलका क्रममा र मुख्यमन्त्रीसँगको भेटमा हामीले बजेट महामारी केन्द्रित हुनुपर्छ भनेका थियौं । तर बजेटका विभिन्न शीर्षकमा कोरोनालाई जोडे पनि महामारी केन्द्रित भएन भन्ने हाम्रो ठम्याइ हो । अहिले जनताले तत्कालको राहत खोजेका छन् । कृषि, शिक्षा, स्वास्थ्यमा तत्कालै गर्न सकिने धेरै कार्यक्रम ल्याउन सकिन्थ्यो ।

Advertisement

प्रदेशका प्रत्येक घर परिवारका कम्तीमा १ जनाको पिसिआर गरिनेछ भन्न सक्थ्यो सरकारले । जिल्ला अस्पतालमा आइसियु बेड बनाउने भनिएको छ । तर काम भएको छैन ।

आइसोलेसन बेडहरु पर्याप्त छैनन् । क्वारेन्टाइनको अवस्था भद्रगोल छ ।

Advertisement

सरकारले प्रचारमुखी भन्दा पनि परिणाममुखी कार्यक्रम ल्याउनुपर्छ । किसानहरु लकडाउनबाट ग्रसित भएका बेला उनीहरुले तत्कालै पाउने गरी मल, बिउ उपलब्ध गराउन सक्थ्यो । त्यतातिर वास्ता नगरी असफल भएका कार्यक्रममा बजेट बढाइएको छ । विगतमा जसरी अनुदानको दुरुपयोग भयो यो बजेटले पनि त्यो संकेत देखाएको छ । योजना सार्वजनिक गर्ने तर काम नगर्ने बानी परेको छ यो सरकारलाई पोखरा भीमाद डेढगाउँ सडकमा प्रदेशले केही गर्न सकेको छैन । पोखरा वृहत चक्रपथको नारा आएको पनि धेरै भयो ।

अबन्डा बजेट ल्याउने अनि कार्यविधि बनाएर खेल्ने ठाउँ दिएको छ बजेटले ।

हिलोमा छरेको पिठोजस्तो
ओमकला गौतम, सचेतक
नेपाली कांग्रेस

बजेटका सिद्धान्त र प्राथमिकता अनि नीति तथा कार्यक्रम सुन्दा केही हुन्छ कि जस्तो लागेको थियो । तर बजेटले कुनै उत्साह थपेन । अहिलेको महामारीलाई नियन्त्रण गर्न क्षेत्रगत बजेट आउला भन्ने भन्ने लागेको थियो । तर बजेट निराशा बोकेर आयो । यो बजेटलाई मैले हिलोमा छरेको पिठोको संज्ञा दिन्छु । जुन न उठाएर खान मिल्छ, न त त्यसको अरु कुनै उपयोगिता नै हुन्छ ।

पोहोरभन्दा बढाएर बजेट आएको देखिएको छ । तर महिला, बालबालिका, युवालाई लक्षित गरेर कुनै कार्यक्रम छैनन् । कार्यक्रमलाई निरन्तरता दिने भनिएको छ तर पोहोर केही कार्यक्रम भएको भए पो अहिले निरन्तरता पाउने हो । त्यसैले यसमा कुनै नयाँपन छैन । म फेरि भन्छु यो बजेटले न त पीडितलाई राहत दिनसक्छ, न त अहिलेको महामारी रोकथाम गर्नसक्छ ।

अहिलेको अवस्थामा यतिधेरै छरेर बजेट ल्याउनु पर्ने नै थिएन । हामीले सुरुका वर्षदेखि उठाउँदै आएको अबन्डा बजेट ल्याउनु हुँदैन भनेर । यही विषयलाई लिएर संसद अवरोधसम्म गर्नु पर्ने अवस्था आयो । तर अहिले पनि त्यसले निरन्तरता पायो । यसको अर्थ प्रतिपक्षको सुझाव सल्लाहलाई सरकारले लत्याएको महसुस हामीले गरेका छौं ।

आकार बढ्यो प्रकार बढेन
पियारी थापा
राष्ट्रिय जनमोर्चा

कोरोना महामारीको संघारमा आएको बजेट जनमुखी पटक्कै भएन । बजेटको आकार त बढ्यो तर प्रकार बढेन । पोहोरकै कार्याक्रमलाई निरन्तरता दिएर बजेट आएको भए पनि यसको कार्यान्वयन पक्ष फितलो छ । जुन हामीले २ वर्षको अनुभवबाट थाहा पाइसकेका छौं । हुन त पूर्वाधारमा नयाँ कार्यक्रम आएका छैनन् । कोरोनाको प्रभाव त पछिल्लो २ महिना न परेको हो । तर सरकारको खर्च गर्ने क्षमता नै देखिएको छैन ।

कोरोनाका उपचार त अहिले सम्भव छैन । तर क्वारेन्टाइन व्यवस्थापन र स्थानीय तहसँगको समन्वयलाई यो बजेटले केही बोलेको छैन । साँच्चै भन्ने हो भने महामारी नियन्त्रण गर्ने गरी पर्याप्त बजेट आएको छैन । बागलुङ अस्पतालबाट जुन हिसावले विशेष भत्ता माग भएर आएको छ त्यो हिसाबमा सरकारले सुविधा दिन कसरी सक्ला भन्ने शंका उब्जाएको छ ।
पोहोर परारजस्तै यो पालि पनि पोके बजेट ल्याइएको छ । सामाजिक विकास, कृषि र पर्यटन मन्त्रालयको बजेटका अधिकांश शीर्षक नछुट्याइ एकमुष्ट राखिएको छ । कार्यकर्ता रिझाउने खालका वितरणमुखी बजेटले लक्ष्य प्राप्ति हुँदैन । समाजवाद उन्मुख भनिए पनि त्यस्ता कार्यक्रम नआउँदा जनता निराश भएका छन् ।

कुरा धेरै बजेट थोरै
धनमाया लामा पोखरेल
जनता समाजवादी पार्टी

संकटका बीचमा पनि सरकारले बजेट ल्याएको छ यसका लागि धन्यवाद । यतिबेला आएको बजेट विशेष खालको हुनुपथ्र्यो । सरकारले बजेटको प्राथमिकता छुट्याउनै सकेन । स्वास्थ्य, शिक्षा र कृषिका बारेमा धेरै कुरा भयो तर त्यस अनुसार बजेट विनियोजन हुन सकेन । समाजवादउन्मुख अर्थतन्त्र यात्रामा बजेट बीचबाटोमै अलमलिएको छ । सरकारको कार्यसम्पादन क्षमताको कमीले बजेट खर्च हुने सकेको छैन । पुँजीगत खर्च नबढ्दासम्म प्रदेशको विकास हुन सकेको छैन ।

सांसद विकास कोषको नाम फेरेर ल्याएको निर्वाचन क्षेत्र पूर्वाधार कोषको रकम कोरोना कोषमा या गौरवका आयोजनामा राखौं भन्ने हाम्रो माग हो । तर पञ्चायतशैलीकै बजेटले निरन्तरता पाएको छ । सिमान्तीकृत र पिछडिएका महिलाका लागि सशक्तीकरण भनिएको छ । तर उनीहरुदलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम बजेटमा समावेश गरिएको छैन । गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा सडक सञ्जाल पुगेको छैन । यो बजेटमा थोरै भए पनि बजेट बिनियोजन गरिएको छ । तर यति पर्याप्त छैन । स्याउ तथा आलु उत्पादनका हिसावले सिर्दिवास क्षेत्र महत्वपूर्ण छ ।

चीनसँग जोडिएको रुइला नाकाबाट पनि व्यापारिक गतिविधि बढाउन सकिन्छ । यसमा बजेट बोल्नुपर्छ ।

तपाईको प्रतिक्रिया