पाेखरामा ५ सहित २४ जनामा संक्रमण पुष्टि

समाधान संवाददाता २०७७ असार ५ गते ६:१५

पाेखरा

पाेखरामा ५ सहित शुक्रबार बिहान गण्डकीमा २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ |

Advertisement

शुक्रबार बिहान नवलपुरमा २ जना, बागलुङमा १४ जना, कास्कीकाे पाेखरा र रुपामा गरी ६ जना, स्याङ्जामा २ जना संक्रमित थपिएका छन् ।

संक्रमण देखिनेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका २, बागलुङको गलकोट नगरपालिकाका ८, काठखोला गाउँपालिकाका ६, कास्कीको पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपालिकाका १ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जना छन् । स्याङ्जाका अर्का संक्रमितको भने ठेगाना खुलेको छैन ।

Advertisement

आज थपिने संक्रमितमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिएका सबैजना भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

शुक्रबार बिहानसम्म प्रदेशभर २२ जना निकाे भएर घर फर्केका छन् भने १ जनाकाे मृत्यु भएकाे छ । स्याड्जा आधिखाेलाका १ युवा क्वारेन्टाइनबाट भागेकाेमा बिहीबार मात्र काेराेना पुष्टि भएकाे छ । उनी अझै सम्पर्कमा आएका छैनन् ।

गण्डकी प्रदेशमा हाल २ वटा पिसिआर मेसिनबाट परीक्षण भइरहेको छ । यहाँको सरकार अर्को एक मेसिन किन्ने तयारीमा छ । पिसिआर संकलन गरेको १ सातासम्म पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु अत्तालिन थालेपछि गण्डकीमा परीक्षणलाई तीब्रता दिएको बताए पनि नतिजा आउन ढिलाइ भइरहेको छ ।

ल्याबमा कर्मचारी अभाव भएपछि जिल्लाहरुबाट बोलाएर छोटो अवधिको तालिम दिएर काममा लगाइएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

तपाईको प्रतिक्रिया