बजेटको समर्थनमा बोलिएन भने अन्याय ठहर्छ

समाधान संवाददाता २०७७ असार ५ गते १३:४८

मनबहादुर गुरुङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ, त्यो मेरो क्षेत्र, रंगशाला भएको मेरो क्षेत्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको मेरो क्षेत्र । गुरुङको ऐतिहासिक थलो क्ह्वोलासोथर भएको पनि मेरो क्षेत्र । कोरोनाको आइसोलेसन भएको पनि मेरो क्षेत्र । माननीयहरुको सुझावलाई आधार मानेर यो बजेट आएको छ । प्राथमिकता तय गर्ने कुरामा कमजोरी भएको जस्तो लाग्दैन । उद्देश्य तय गर्ने कुरामा कमजोरी भएको जस्तो लाग्दैन । धेरै राम्रो बजेट आएको छ ।

कोरोना भाइरस महामारी रोकथामलाई बजेट राखेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बजेट राखेको छ । उत्पादनमा जोड दिएको छ । मुख्यमन्त्री जलवायु नमुना गाउँ जस्ता कार्यक्रम आएको छ । अनुत्पादक खर्च कटौती गरिएको छ । यो बजेटको समर्थनमा बोलिएन भने मैले अन्याय गरेको ठहर्छ । विधिसम्मत आएको छ, नीतिसम्मत आएको छ । माननीयहरुको सुझावसहित आएको छ ।

Advertisement

एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको केन्द्र जोड्ने सडक, कति राम्रो कार्यक्रम आएको छ । प्राथमिकता तय गर्ने मामलामा यो बजेट कमजोर छैन । त्यस कारण धेरै धेरै बधाई छ ।
५१ सालमा आफ्नो गाउँ आफैं बनाऊँ कार्यक्रममा सडक निर्माण सुरु भयाे । त्यसले अहिले पनि निरन्तरता पाएकाे छ । हिजो एकजना माननीयले यो बजेट पीपलको पात हो कि वरको भन्नुभयो । तर म भन्छु, यो बजेट पातै हुनुपर्छ बाँस हुनुपर्छ । खान पनि दिने, बस्न पनि दिने र सास फेर्न पनि दिने बाँस । पातै हुनुपर्छ भने बजेट बाँसको पात हुनुपर्छ । गाउँघरमा एउटा भनाइ छ, बाँसको हलोमात्रै हुँदैन, अरु सबै हुन्छ । तर मैले सुनेको छु, हलो पनि बन्छ ।

दक्षिण कोरियाबाट पाठ सिक्नुपर्छ । युद्ध हुँदा सन् ६० को बेला दक्षिण कोरियामा प्रतिव्यक्ति आय ७० डलर पुगेको थियो । १९८० मा कति छिटो बढेर १० हजार डलर भयो । आज दक्षिण कोरिया औद्योगिक क्षेत्रमा अगाडि बढेको छ । नेपालीको कर्मक्षेत्र भइसकेको छ । कोरोना भाइरस नियन्त्रण गरेर निर्वाचनसम्म गरिसकेको छ । त्यसैले दक्षिण कोरियाबाट पाठ सिक्दै एक ढिक्का भएर कोरोना नियन्त्रण गर्नुपर्छ ।

Advertisement

गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा नेकपा सा‌ंसद गुरुङले राखेकाे विचार।

तपाईको प्रतिक्रिया