प्रतिपक्षका सुझाव रद्दीकाे टाेकरीमा फालियाे

समाधान संवाददाता २०७७ असार ५ गते १४:०२

विष्णुप्रसाद लामिछाने

गण्डकी प्रदेशका जनता जसले यस वर्ष हाम्रो लागि सरकारले के ल्याउँदैछ भनेर आशा गरेर बसेका जनतालाई बजेटले सम्बोधन गरेको हुनुपर्छ । बजेट सुनेपछि यो कति पानीमा छ भनेर बुझें । अध्ययन गर्नतिर लागिनँ ।

नीति र कार्यक्रम अध्ययन गरे । हामीसँग साँच्चिकै सुझाव मागेको होला भनेर महेनत गरेर सुझाव दियौं । तर त्यो रद्दीको टोकरीमा गएको छ । हामीले दिने सुझाव पनि जनताका लागि भनेर दिने हो । गण्डकी प्रदेशका जनताले बजेटको किताबमा भविष्य खोजेका छन् ।

Advertisement

हामीले भन्यौं, कोरोनाको महामारी छ । पिसिआर गरौं भन्यौं । जनताको हितमा बोल्यौं । जनताको हितमा बोलेका कुरा विरोध गरेको भनिन्छ र ? क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट आएन, छिटो रिपोर्ट दिऊँ भन्यौं । प्रदेशलाई आत्मनिर्भर बनाऊँ भन्यौं । दीगो विकासमा जाने कुरा यहाँ समेटिनुपर्दैन । एकधुर जमिन नहुने सुकुम्बासीले जमिन व्यवस्था गरौं भन्यौं । तिनका भनाइ समेटिनु पर्दैन ? हामीले दिएका सुझाव रद्दीको टोकरीमा फाल्न लायक थियो ?

प्रदेशका जनतालाई भोकै नमारौं, खाद्य बैंक बनाऊँ भन्यौं । के यसो भन्नु प्रतिपक्षले गरेको विरोध हो ? जनताका भावनालाई समेट्नुपर्छ भन्ने हाम्रो सोच हो । कोरला, पोखरा दुम्कीबास, त्रिवेणी सडक भन्यौं तर फेरि अरुणखोलासम्मको कुरा मात्रै आएको छ । त्यो सुझावअनुसार खै कार्यक्रम ? यस्तो लाग्छ, अब त छलफलै नगरे हुने भएको छ । जे आउँछ मजाले पचाउँछ भनेर जाऊँ । छलफलै नगरौं ।

Advertisement

मलाई लाज लागेको छ, १०/१० महिनासम्म एउटा आयोजना ठेक्का लाग्दैन, वातावरणीय प्रभाव मूल्यांकन हुँदैन । कामै नगर्ने योजना त जति हाल्दा पनि हुने भयो । हामीमा कमीकमजोरी छ । कालोलाई कालो र सेतोलाई सेतो भनौं । निमुखा जनताको आवाज उठाउँदा विरोध हुन्छ भने म सधैं विरोध गर्छु । आदिवासी, जनजाति, दलित, महिला र निमुखाको पक्षमा आवाज दिँदै गर्दा विरोध ठानिन्छ भने विरोध गरिरहन्छु ।

गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा कांग्रेस सा‌ंसद लामिछानेले राखेकाे विचार। 

तपाईको प्रतिक्रिया