मुस्ताङमा कोरोना : शरणार्थी दिवसकै दिन शरणार्थीमा संक्रमण पुष्टिको संयोग !

समाधान संवाददाता २०७७ असार ७ गते ७:३६

आरडिटी रियाक्टिभ देखिएका २ जनाको स्वाब पोखरा पठाएकोमा ८३ वर्षे वृद्धमा कोरोना

संक्रमितसँगै आएका १८ जना बसेको छैरो क्याम्प सिल

अनुप पौडेल/पोखरा
एसके थकाली/मुस्ताङ

Advertisement

गण्डकी प्रदेशमा संक्रमणमुक्त १ मात्र जिल्ला थियो, मुस्ताङ । तर शनिबार साँझ ८३ वर्षे वृद्धमा कोरोना पुष्टि भएपछि मुस्ताङ पनि कोरोना संक्रमण भेटिएका जिल्लाको सूचीमा थपियो ।

२० जनाको टिममा मुस्ताङ गएका ८३ वर्षे वृद्धमा कोरोना पुष्टि हुँदा एउटासंयोग प¥यो । जुन २० अर्थात् विश्व शरणार्थी दिवसकै दिन कोरोनामुक्त रहेको जिल्लामा शरणार्थी नै पहिलो संक्रमित बने ।

Advertisement

संक्रमित वृद्ध काठमाडौंको बौद्धस्थित तिब्बती शरणार्थी क्याम्पबाट ३१ जेठमा अरु २० जनासँगै मुस्ताङ गएका थिए । जिल्लाको घरपझोङ गाउँपालिका–१ छैरोस्थित तिब्बती क्याम्पलाई गन्तव्य बनाएका उनी र उनका ज्वाइँ त्यहाँसम्म पुग्नै पाएनन् । घाँसामा आरडिटी परीक्षण गर्दा रियाक्टिभ देखिएपछि दुवैलाई जिल्ला अस्पतालको आइसोलेसनमा रखियो ।

‘उहाँ २० जनासँग एउटै बसमा आउनुभएको थियो । जोमसोममा उहाँ र उहाँको ज्वाइँमा कोरोना पोजेटिभ देखियो,’ मुस्ताङका सहायक सिडिओ घनश्याम गौतमले भने, ‘त्यसपछि २ जनालाई अस्पताल र १८ जनालाई गुम्बामा राख्यौं ।’ आरडिटी रियाक्टिभ देखिएका २ जनाको स्वाब २ असारमा पोखरा पठाएकोमा ८३ वर्षे वृद्धमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितसँगै आएका १८ जना बसेको उक्त क्याम्प शनिबार साँझ नै सिल गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए । ‘क्याम्प र क्याम्प वरपर मानवीय आवागमनलाई निषेध गरिएको छ,’ उनले भने । क्याम्पमा सेल्फ क्वारेन्टाइनमा बसेका १८ जनाको आइतबार स्वाब संकलन गरेर पठाइने भएको छ ।

वृद्धको हेरचाहका लागि कोरोना नेगेटिभ आए पनि उनका ज्वाइँ अस्पतालमा बसेका छन् । संक्रमित वृद्धले उच्च रक्तचापको नियमित औषधी सेवन गरिरहेको र दुवै आँखा कमजोर रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । संक्रमितको सम्पर्कमा आएकाको खोजी सुरु भएको कार्यालय प्रमुख टीकाराम भण्डारीले बताए ।

सुरक्षित मानिएको मुस्ताङमा समेत कोरोना देखिएपछि जिल्लामा थप सतर्कता अपनाइने सिडिओ वेदप्रकाश अर्यालले बताएका छन् । सिल गरिएको क्याम्पमा २ सय १५ जना बसिरहेको क्याम्पका संयोजक नोर्बु लामाले जानकारी दिए ।

‘सबै जना जाडो छल्न कार्तिकमा काठमाडौं जानुभएको थियो । उहाँलाई आरडिटी गर्दा पोजेटिभ आएपछि क्याम्पको घरमा सबै सुरक्षीत भएर बसेका छौं,’ उनले भने, ‘काठमाडौंबाट आएको टोलीसँग कोही टच भएको छैन ।’

मुस्ताङीहरु असोज अन्तिम सातादेखि जाडो छल्न बेंसी झर्ने गर्छन् । पोखरा, काठमाडौं, चितवन लगायतका ठाउँमा पुग्ने मुस्ताङी व्यापार गर्छन् । त्यसपछि फागुन अन्तिम साता जिल्ला फर्किन्छन् । यस वर्ष चैत पहिलो सातासम्म हिउँ परेर चिसो नरोकिँदा उनीहरु जिल्ला फर्किएनन् । पछि लकडाउन भएपछि फर्कन सक्ने अवस्था भएन । विद्यार्थीका लागि पोखरा, तनहुँ लगायतका ठाउँमा घुम्ती विद्यालयको व्यवस्था गरिएको हुन्छ ।

मुस्ताङ प्रशासनको समन्वयमा लकडाउनले काठमाडौंमा अड्किएका २० जना लकडाउन खुकुलो भएपछि जिल्ला पुगेका हुन् । ‘यहाँको वडाले प्रशासनलाई भन्यो, प्रशासनले काठमाडौंमा समन्वय गरिदियो । त्यसपछि उहाँहरु फर्किनुभएको हो,’ क्याम्प संयोजक लामाले भने ।

मुस्ताङमा प्रशासन र पालिकाले मात्र नभएर स्थानीय गाउँका मुखियाको अगुवाइमा समेत लकडाउन हुँदै आएको छ । सतर्कता स्वरुप मुस्ताङीले मुक्तिनाथ दर्शनका लागि गएका म्याग्दीका सिडियो ज्ञाननाथ ढकालसहितको टोलीलाई झोङबाट फर्काइदिएका थिए ।

प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक अरु सबै जिल्लामा संक्रमित भेटिएका थिए । शनिबार मुस्ताङसहित गरेर एकैदिन १ सय ८ जना संक्रमित भेटिए । शनिबार बिहान ५८ र साँझ ५० संक्रमित भेटिएका हुन् ।

पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको छ । गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये वालिङका ५८ वर्षे पुरुषको भने मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया