बेगनासको जडिबुटी उद्यानमा अमलासहितका ४ सय विरुवा रोपियो

समाधान संवाददाता २०७७ असार ७ गते २०:१७

समाधान संवाददाता

Advertisement

पोखरा ३१ बेगनास, ठूलीपोखरीकाे जडिबुटी उद्यानमा विभिन्न ४ सय जडिबुटीका विरुवा रोपिएको छ । छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बेगनासताल र शिशुवा आयुर्वेद औषधालयको आयोजनामा हर्रो, बर्रो, अमला, रुद्राक्ष, अगरहुड, कुरिलो, हड्चुल, गुर्जो लगायतका जडिबुटी वृक्षरोपण गरियो ।

स्थानीयहरुको सहयोगमा उद्यानलाई व्यवस्थित गराउन सकिने कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए । जडिबुटीको पहिचान, औषधिय गुण भएका अन्न, तरकारीबालीको प्रवद्र्धन गर्न उनले आग्रह गरे ।

२०४५ सालमा तत्कालीन अञ्चल आयुर्वेद औषधालयलाई ३० रोपनी जग्गा दिई जडिबुटी रोपिएको वडाध्यक्ष कमलबहादुर थापाले जनाए । त्यहाँ स्थापना भएको औषधालय बिना जानकारी अर्घौचोकमा सारिएकोले उद्यानको संरक्षण नभएको उनको भनाई छ । जडिबुटीको महत्व बढ्दै गएकोले उद्यानलाई आवश्यक पर्ने ३ सय रोपनी जग्गा थप गर्न सकिने वडाध्यक्ष थापाको प्रतिबद्धता छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद कन्सल्टेन्ट डा बुद्धिप्रसाद पौडेलले मानव शरीर स्वस्थ्य रहन आहार बिहार र औषधमा ध्यान दिन आग्रह गरे । जडिबुटीका वृक्षले वातावरण स्वच्छतामा महत्वपूर्ण योगदान गर्ने बताउँदै सहभागिहरुलाई योग गराएका थिए ।

Advertisement

कार्यक्रममा सहभागि कुशुम कृष्ण आयुर्वेद फर्माका सञ्चालक कृष्ण राउतले ओझेल परेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधि कोरोना महामारीकै कारण महत्व पाइरहेको सुनाए ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जारी गरेको प्रोटोकलअनुसार कुनैपनि साइड इफेक्ट नगर्ने औषधिको प्रयोगबाट कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन आफूले अभियान नै थालेको बताए । उनले प्रदेशका विभिन्न जिल्लामा पुगेर अश्वा गन्धा लगायतका आयुर्वेद औषधि निशुल्क वितरण गरिरहेको बताए ।

कार्यक्रममा भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा अनिल थापा, बेगनास आयुर्वेद औषधालयका प्रदीप क्षेत्री, डा रामकृष्ण भुजेल, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीका अध्यक्ष प्रकाश क्षेत्री लगायत सहभागि थिए ।

तपाईको प्रतिक्रिया