बितेकाे १ वर्षमा कास्कीमा १७५० मुद्दा दर्ता, २४९० पक्राउ

समाधान संवाददाता २०७७ असार ८ गते १९:१३

समाधान संवाददाता, पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीमा बितेको १ वर्षमा विभिन्न शीर्षकमा १ हजार ७ सय ५० मुद्दा दर्ता भएका छन् । एसपी दानबहादुर कार्कीले २०७६ जेठ १७ गतेबाट कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको १ वर्ष उक्त मुद्दा दर्ता भएका हुन् । कार्की असार ७ गते १ वर्ष कार्यकाल पूरा गर्दै सरुवा भएको प्रहरी प्रधान कार्यालय फर्किदै छन् ।

बितेका १ वर्षमा सबैभन्दा धेरै सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा ६ सय ६२ मुद्दा दर्ता भएको एसपी कार्कीले आइतबार भएको भर्चुअल पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

Advertisement

कास्कीमा धेरै मुद्दा दर्ता हुनेमध्येमा लागुऔषध, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, चोरी, बैंकिङ कसुर, आत्महत्या, ज्यान मार्ने उद्योग, ठगिका घटना देखिएका छन् । आम्महत्या दुरुत्साहन गर्न नहुनेमा ५ वटा मुद्दा दर्ता भएको एसपी कार्कीले बताए ।

विभिन्न अपराध तथा शंकास्पद गतिविधि, गैरकानुनी कार्य गरेका व्यक्तिलाई पक्राउ गरी कानुनको परिपालना गराइएको उनको भनाई छ । उक्त मुद्दामा २ सय १३ महिला र २ हजार २ सय ७७ पुरुष गरी २ हजार ४ सय ९० जना पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।

Advertisement

अदालतबाट फैसला भई आएको आदेशको कार्यान्वयनमा कास्की प्रहरीले तदारुकता देखाएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागुऔषध, सवारी ज्यान, हातहतियार खरखजना, जबरजस्ती करणी, बाल यौन दुराचार लगायत सार्वजनिक अपराधका मुद्दामा अदालतको फैसलाले कैद र जरिवाना हुने ठहर गरेका तर फरार भएका १ सय १६ जनलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

उनीहरुबाट २० लाख ९७ हजार ८ सय ५५ रुपैयाँ जरिवना संकलन भएको एसपी कार्कीले जनाए । पक्राउ परेका सबै गरेर ५२ वर्ष ५ महिना १२ दिन कैद सजाय गराइएको हो ।

सर्वाधिक पक्राउ पर्नेमध्येमा जुवातास सम्बन्धी मुद्दामा छन् । कास्की प्रहरीले १ वर्षमा ९२ वटा मुद्दा जुवासम्बन्धी दर्ता गरेको छ । जसमा ६ सय ५७ पक्राउ परेका छन् । ७५ लाख २२ हजार ६ सय ६६ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

कार्यकालभर आफ्नो कमाण्डमा भएका गतिविधिको फेहरित एसपी कार्कीले सार्वजनिक गर्दा गरिएको नयाँ अभ्यासबारे जानकारी दिए । पीडित सम्पर्क कार्यक्रम, सूर्तिजन्य पदार्थ नियन्त्रण, शुक्रबारे कार्यक्रम, बेडिङ वितरण, पत्रकार सम्मेलन, रेस्पोन्स टाइम घटाउने प्रयास, लागुऔषध परामर्श केन्द्रको स्थापना, घरेलु मदिरा तथा गाँजा नष्ट र ट्राफिक व्यवस्थापनमा प्रहरीले सिर्जनशीलता देखाएको एसपी कार्कीको दाबी छ ।

प्रहरी संगठन शुद्धिकरणको अभ्यासलाई स्थापित गर्न कास्की प्रहरीले दण्ड तथा पुरस्कारको व्यवस्था गरेको छ । १ सय १८ कर्मचारी कारवाही तथा १ सय ७६ जनालाई पुरस्कृत गरिएको एसपी कार्कीले जानकारी दिए । सजायका क्रममा नोकरीबाट ८ जना हटाइएका छन् । दर्जा घटुवा २, स्केल घटुवा ८, ग्रेड घुटवा १२, निलम्बन ६, स्वतः निलम्बन १०, ग्रेड रोक्का ६, पदोन्नती रोक्का १ नसिहद ६१ र ४ जनालाई सचेत गराइएको उनले बताए ।

सवारी ४ करोड ६० लाख जरिवाना राजस्व

कास्कीमा ट्राफिक नियम उल्घंन गर्ने सवारीबाट बितेको १ वर्षमा ४ करोड ६० लाख ६१ हजार रुपैयाँ जरिवाना बापतको राजस्व संकलन भएको छ । मादक पदार्थ सेवन, दुर्घटना लगायतमा नियम मिच्ने ६० हजार ६ सय ५० सवारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्राफिक जरिवाना अत्यधिक संकलन हुनु राम्रो संकेत नभएको भन्दै कास्की ट्राफिक प्रहरी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीलाई जनचेतना दिलाउन २५ वटा कार्यक्रम सञ्चालन गरिएको एसपी कार्कीले जनाए ।

सामुदायिक सेवा मार्फत कक्षा सञ्चालन, व्यवसायीक चालक÷सहचालकलाई प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न भएको उनले बताए ।

वर्षभरीमा १ सय ३ वटा कार्यक्रम मार्फत ३ हजार ४ सय २१ जना चालक÷सहचालकलाई सहभागी गराइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया