पोखरा महानगरको नीति नथा कार्यक्रम–पूर्वाधारतर्फ

समाधान संवाददाता २०७७ असार १० गते १२:११

पोखरा महानगर पाकिाका प्रमुख मानबहादुर जिसीले पोखरा सभागृहमा महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन । उनले प्रस्तुत गर्दै गरेको नीति तथा कार्यक्रममा पूर्वाधार तर्फ निम्म बमोजिमको नीति प्रस्तुत गरिएको छ ।

१. पूर्वाधारतर्फ
आर्थिक वर्ष २०७६÷७७ मा पूर्वाधार विकासलाई प्राधमिकतामा राख्दै प्राथमिकताको आधारमा अगाडि बढाइएका सडकहरु आव २०७६÷७७ सम्पन्न गर्ने गरी रुः ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन भएको थियो । उक्त कार्यक्रम मार्फत बाह्र वटा एज्ञ सडकहरुमा ६० किमी बाटो ग्राबेल गरिएको छ । १३ किमी बाटो कालो पत्रे भएको छ । यसरी एज्ञ सडकहरुमा ६० प्रतिशत भौतिक प्रगति र ४८.६ प्रतिशत वित्तीय प्रगति भएको छ । समपुरक अनुदान बजेटबाट १० किमी ग्राबेल र ६ किमी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । उक्त योजनाहरुको भौतिक प्रगति ४१ दशमवल चार तीन प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव पाँच पाँच प्रतिशत रहेको छ । आव २०७६÷७७ मा ८ वटा मोटरेबल पुलहरु मध्ये घोरकुना मोटरेबल, भोटीखोला मोटरेबल पुल, मोटरेबल पुल सम्पन्नको चरणमा पुगेका र अन्य चार वटा पुलहरुको भूमिगत संरचना तयार भएको छ । सिर्जना चोकस्थित आकाशे पुलको फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसनको काम भइरहेको छ ।

गत वर्षदेखि सञ्चालित उज्यालो पोखरा कार्यक्रमलाई निरन्तरता दिँदै सडक छेउछाउमा रहेका सोलार बत्तीलाई मर्मत गर्ने कार्य नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा गरी स्मार्ट सडक बत्तीको व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ । साथै महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक लगायतका स्थानमा ट्राफिक लाइट व्यवस्थापनको लागि आवश्यक सर्भे डिजाइन सम्पन्न भइसकेको र महेन्द्रपुलमा ट्राफिक लाइट निर्माण कार्यको लागि बोलपत्र आव्हान गरिएको छ ।

Advertisement

मुख्य सहरी सडकहरुको स्तर उन्नति गर्ने क्रममा पोखरा महानगरपालिका पूर्वाधार कार्यालय कास्की र सडक विभाग गरी रु. ४० करोड लागतमा अस्फाल्ट कंक्रिट गर्नका लागि टेन्डर प्रक्रिया सकिएर काम सुरु हुने चरणमा पुगेको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि महानगरपालिकाको आफ्नै गुणस्तर मापन प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । मेयर नमुना सडक निर्माण अन्तर्गत पोखरा वडा न १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ)ं सडक, वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको छ । चालू आर्थिक वर्षमा १७ किमी कालोपत्र (पिच) ७० किमी ग्राभेल ९.११ किमी बाटो ढलान, १२ किमी बाटो स्तरोन्नति, ३ दशमलव ५ किमी नाला निमार्ण, ४१ दशमलव ५ किमी फुटट्राक निर्माण, ५ किमी ढल तथा नाली निर्माण र २ दशमलव ५ किमी खानेपानी पाइपलाइन विस्तार गरिएको छ ।

वडा नम्बर १८ मा राष्ट्रिय विभूति तथा पार्कसहित खुल्ला व्यायमशाला निर्माण गरिएको छ । अन्य २ वटा वडामा पार्कसहित खुल्ला व्यायामशाला निर्माण गर्नुका साथै १७ वटा वडामा खुल्ला व्यायामशाला निर्माण गरिएको छ । लेक टु लेक, केभ टु केभ जोड्ने सडकको स्तरोन्नति गरिएको छ, फेवातालदेखि बेगनासताल सम्म सिधा बस सेवा सञ्चालन गरिएको छ । पोखरा सभागृह मर्मत सम्भार कार्य अगाडि बढाइएको छ ।

Advertisement

सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधार निर्माण सराङकोट पर्यटन पूर्वाधार निर्माण, पातलो छाँगोमा सिसाकोपुल निर्माण लगायतका आयोजनाहरु सम्झौताको प्रक्रियामा रहेका छन् । पोखरा ३२ लामेआहालमा पोखरा क्षेत्रीय बसपार्क निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गरिएको छ । ग्रामीण कृषि सडक स्तरोन्नति तथा अन्य सहरी सडक मर्मत सम्भार तथा विस्तार गरिएको छ ।

सडक सबै पूर्वाधारको पनि पूर्वाधार हो । क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखराले सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको छ । महानगरका सबै ३३ वटै वडाहरुलाई एक आपसमा स्तरीय सडक सञ्जालबाट जोड्ने लक्ष्य राखियता पनि यस आर्थिक वर्षमा कोरोना महामारीको कारण लक्ष्य प्राप्ति हुन नसकेता पनि आगामी आर्थिक वर्षमा समेत सडक सञ्जाल कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ ।

तपाईको प्रतिक्रिया