स्याङ्जाका ३४ संक्रमित निको भएर एकैदिन घर फर्किए

समाधान संवाददाता २०७७ असार १३ गते १३:०४

समाधान संवाददाता, पोखरा

स्याङ्जाको कालिका सामुदायिक अस्पतालमा उपचाररत ३४ जना कोरोना संक्रमित निको भएर एकैदिन घर फर्किएका छन् । जिल्लाको हेलुस्थित अस्पतालमा उपचार गराइरहेका ५ पालिकाका ३४ जना शनिबार घर फर्किएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

निको हुनेमा गल्याङ नगरपालिकाका १६, वालिङ नगरपालिकाका १०, आँधीखोला गाउँपालिकाका ४, अर्जुनचौपारी गाउँपालिकाका १ र भीरकोट नगरपालिकाका १ जना छन् । सामुदायिक अस्पतालमा उपचाररत ४१ संक्रमितको स्वाब परीक्षणका लागि पोखरा पठाइएकोमा ३४ जनाको नेगेटिभ आएपछि घर पठाइएको हो ।

Advertisement

बाँकी ७ जनाको रिपोर्ट दोस्रो पटक पनि पोजेटिभ आएको छ । अस्पतालमा उपचाररत वालिङ नगरपालिकाका ४ संक्रमितलाई नगरपालिकाले आफ्नै आइसोलेसनमा लगेको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए ।

वालिङ नगरपालिकाले १४ संक्रमितको उपचार आफैले बनाएको आइसोलेसनमा गरिरहेको छ । ‘हेलुबाट आज ४ जना आउनुभयो । सबै गरेर यहाँ १४ जना हुनुहुन्छ । अझै बेड थप्दैछौं,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले भने ।

Advertisement

स्याङ्जामा शनिबार बिहानसम्म १ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले जानकारी दिए । कोरोना भाइरसलाई जितेर आज घर फर्किएकासहित गरेर स्याङ्जामा निको हुनेको संख्या ५५ पुगेको छ । स्याङ्जाको वालिङ र अर्जुनचौपारीका क्रमश ५८ र ५५ वर्षे २ पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया