गण्डकीमा पोखराबाहिर एउटामात्रै आइसियु

समाधान संवाददाता २०७७ असार १५ गते ९:००

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर १ सय ३३ आइसियु छन्, सरकारी अस्पतालमा १२ वटामात्रै

अनुप पौडेल, पोखरा

गण्डकी प्रदेश मन्त्रिपरिषद्को १६ वैशाखमा बसेको बैठकले सबै जिल्ला अस्पतालमा आइसियु स्थापना गर्ने निर्णय गर्‍यो । उक्त निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले सबै अस्पताललाई ६ जेठमा पैसा पठाइसकेको छ । तर, अस्पतालमा अझै आइसियु छैन ।

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक अनुसार प्रदेशका निजी तथा सरकारी अस्पतालमा १ सय ३३ आइसियु र ५४ भेन्टिलेटर छन् । प्रदेशभर अस्पतालको संख्या ८५ छ । ६३ निजी र २२ वटा सरकारी अस्पताल हुन् ।

गण्डकी प्रदेशमा १ सय ३३ आइसियु भए पनि सरकारी अस्पतालमा जम्मा १२ वटा आइसियु बेड छन् । तीमध्ये ११ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र एउटा धौलागिरी अञ्चल अस्पतालमा छ ।

Advertisement

निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशभर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वटाबाहेक अरु सरकारी अस्पतालमा भेन्टिलेटरको सुविधा छैन ।

बाँकी सबै आइसियु बेड र भेन्टिलेटर पोखराका निजी अस्पतालमा मात्रै छ । पोखरा बाहिरका निजी अस्पतालमा भने आइसियु बेड र भेन्टिलेटर दुवै छैन् ।

‘गोरखा र धौलागिरीबाहेक अरु अस्पताललाई लगभग १४ करोड रुपैयाँ पठाएका छौं,’ सामाजिक विकास मन्त्रालयका अस्पताल विकास महाशाखा प्रमुख डा. रामबहादुर केसीले भने, ‘सामान बाहिरबाट ल्याउनुपर्ने भएकाले बेड बनिसकेको छैन । अस्पतालले टेन्डर आह्वान गरेका छन् ।’

प्रदेश सरकारले मनाङ र मुस्ताङमा २/२ र अरु जिल्ला अस्पतालमा ५/५ बेडको आइसियु बेड स्थापना गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयले कुनै अस्पतालले पूर्वाधार थप गरे÷नगरेकोबारे खोजी गरिरहेको छ ।

सबै अस्पताललाई आइसियु बेड र भेन्टिलेटर संख्याबारे जानकारी गराउन भनिएको महाशाखा प्रमुख केसीले बताए ।

‘लिखित रुपमा आइसियु र भेन्टिलेटर संख्याबारे जानकारी गराउन अस्पतालहरुलाई भनेका छौं । उनीहरुले मौखिक जानकारी गराएपनि हामीले अस्पतालमा पसेर हेरेका छैनौं,’ उनले भने, ‘लिखित आएपछि जानकारी गराउँला ।’

गण्डकी प्रदेशमा कोरोना संक्रमण देखिँदासम्म जम्मा १ सय ३२ आइसियु बेड र ५४ भेन्टिलेटर रहेको तथ्यांक स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको थियो ।

कोरोनापछि धौलागिरी अञ्चल अस्पतालमा एउटा आइसियु थप हुनुबाहेक जटिल अवस्थामा आवश्यक पर्ने पूर्वाधार थपिएको छैन । कुनै जटिल स्वास्थ्य समस्या सिर्जना भए बिरामीलाई पोखरा नै ल्याउनुपर्ने बाध्यता छ ।

यो हेर्नुहोस्

भारतीय लगानीमा सञ्चालित प्रदेशकै ठूलो निजी अस्पताल मणिपाल शिक्षण अस्पतालमा ३२ वटा आइसियु छ ।

गण्डकी मेडिकल कलेजमा २३, चरक मेमोरियल हस्पिटलमा १६, कास्की सेवा हस्पिटलमा १०, फिस्टेल हस्पिटलमा ९, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ७ वटा आइसियु छन् ।

त्यसबाहेक फेवासिटी हस्पिटलमा ६, ग्यालेक्सी हस्पिटलमा ६, रिजनल हस्पिटलमा ५, मेट्रो हस्पिटलमा ४, नमस्ते हस्पिटलमा २ र पार्कल्यान्ड हस्पिटलमा एउटामात्रै आइसियु बेड छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै भेन्टिलेटर मणिपाल शिक्षण अस्पतालमा १५ वटा छन् ।

त्यसपछि गण्डकी मेडिकल कलेजमा १० वटा, चरक मेमोरियलमा ६ वटा, फिस्टेलमा ४ वटा, पश्चिमाञ्चल सामुदायिक, कास्की सेवा र फेवा सिटीमा ३/३ वटा भेन्टिलेटर छन् ।

पोखराकै नमस्ते र मेट्रो हस्पिटलमा २/२ वटा, पार्कलयान्ड, ग्यालेक्सी र रिजनलमा १/१ वटा भेन्टिलेटर छन् । एउटा पनि आइसियू बेड नभएको साई अर्चना हस्पिटलमा एउटा भेन्टिलेटर छ ।

किन चाहिन्छ आइसियु र भेन्टिलेटर ?

डा. युक्तनारायण रेग्मी
कन्सल्टेन्ट फिजिसियन
पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा

आइसियु अर्थात सघन उपचार कक्ष गम्भीर प्रकृतिका बिरामीलाई राखेर उपचार गर्ने ठाउँ हो ।

त्यसमा बिरामीको अवस्था मोनिटरिङ गर्नेदेखि लिएर बिरामीलाई कृत्रिम श्वासप्रश्वास दिन भेन्टिलेटर हुनुपर्छ । श्वासप्रश्वासमा समस्या भए, शरीरको अंगले काम नगरे आइसियुमा राख्नुपर्छ ।

अझ आइसियुभित्रै डायलासिस सेवा पनि हुन्छ । पोखरामा हामीले अझै पनि नियमअनुसारको आइसियु चलाउन सकेका छैनौं भने बाहिर त्यो सम्भव छैन । कम्पनीअनुसार एउटा भेन्टिलेटरको मूल्य १० देखि ३० लाख रुपैयाँसम्म पर्छ ।

भेन्टिलेटरको साथसाथै मोनिटर, बिरामीलाई औषधि दिन इन्फ्युजन पम्प चाहियो, सिरिन्ज पम्प चाहियो । आइसियु सञ्चालन गर्न दक्ष जनशक्ति पनि चाहिन्छ ।

तपाईको प्रतिक्रिया